भयावह सपना

भयावह सपना


✍ आचार्य प्रभा

शून्य नीरवतालाई छेडेर
एकतमास चलिहेछ आँधी
आँधीको हुङ्कार भयावह छ
निथ्रुक्क भिजेर रुखका पातहरु
पानीको दह्रिलो चुटाइले
क्षतविक्षत छन्,
हो यही बेला
मेरो मन पनि उस्तै आँधीले
चुटिरहेको छ
हरपल,
मेरा इच्छाका कलिला मुनाहरु पनि
उसरी नै मनको आँधीले
बटारिरहेछ, भाँची रहेछ !
हो प्रकृति र मान्छे
उसरी नै चुटिन्छन्
बेसमयका चाबुकहरुले
फरक यति हो
प्रकृतिलाई अट्टहासमय
आँधीतुफानले आक्रमण गर्छ
मान्छेलाई उसका
असहज परिस्थितिहरुले
अझ भनौँ-
मान्छेलाई अनेकौँ छद्मरुपका
कहरहरुले…!
म एकटकले आँधीको
प्रकृतिमाथिको बर्बरता
नियालिरहेकी हुन्छु
ती रुखका पात, हाँगाहरुमाथिको क्रुरता
म प्रकृतिको असह्य अत्याचारको
रमिते बनिरहेकी हुन्छु
एक्कासी मेरो मनको आँधीले
मेरो मुटुको धड्कन रोकिदिए झैं लाग्छ
म निस्सासिन्छु,
आफ्नै मुटु जोडले थिचेर भुइँ बजारिन्छु
उता प्रकृतिको बज्रपातबाट अशक्त बनेर
ती रुखका हाँगा र पातहरु
ममाथि खसेर मलाई पुर्छन्
म तिनीहरुलाई अँगाल्दै फुस्फुसाउँछु
हो प्रकृति तिमी र मान्छेको जीवनमा
यस्तै,यस्तै निर्दयीहरुले राज गरेको छ
के हामी यस्ता नरभक्षकहरुलाई
नाश गर्न सक्दैनौँ ?
अनायास मेरा आँखाहरु बन्द हुन्छन्
म तिनै निरीह पातहरुलाई अँगालेर
मिठो दिवास्वप्नमा डुब्न पुग्छु
सायद ती पातहरु ममाथि नै
पत्कर बन्ने छन्,
अनि मसँगै अस्तित्वहीन पनि,
जब म निन्द्राबाट झल्याँस्स बिउँझिन्छु
म त भयावह सपनीबीचमा
आत्तिइरहेकी रहिछु !

  • हाल अमेरिका