अमेरिकामा सामाजिक काममा हरदम सक्रिय बस्नेत

अमेरिकामा सामाजिक काममा हरदम सक्रिय बस्नेत


समाजसेवा गर्ने रहर हुँदैमा समाज सेवा गर्न सम्भव छैन । जुन काम जो-कोहीले चाहेर पनि गर्न सक्दैनन् । किनकि समाजसेवा सहजै जस पाउने काम पनि होइन । अमेरिकाको क्यालिफोर्निया राज्यअन्तर्गत पर्ने सान्टा रोजा शहरमा बस्ने रविसिंह बस्नेत यस्ता समाजसेवी हुन्, जसले हरेक नेपालीको समस्या समाधान गर्न समस्या परेका व्यक्तिकोमा यथासीघ्र पुग्ने गर्छन् । अमेरिकामा बसोबास गर्ने र नेपालमा समेत विपतका बेला उनी निःस्वार्थ रूपमा लाग्ने गर्छन् । त्यही भएर उनले क्यालिफोर्नियामा ‘समाजसेवी नेपाली’को पहिचान बनाएका छन् ।

लामो समयदेखि विश्व कोरोना महामारीबाट आक्रान्त हुँदा उनले कोरोनापीडितको लागि महत्वपूर्ण योगदान दिए । नेपालको काठमाडौंमा जन्मिएर हाल अमेरिकालाई कर्मभूमि बनाउँदै आएका बस्नेतले कोरोनाकालमा गरेको सहयोग उनका सहयात्रीका लागि सम्झनायोग्य बनेको छ । त्यो बेला उनले नेपालका विभिन्न क्षेत्रहरूमा समेत राहत वितरण गरे ।

बस्नेतले चाहे पत्रकारहरुका संस्था होस् वा जनजातिका संस्था । चाहे कसैको जन्मोत्सव किन नहोस्, वा मृत्यु संस्कार नै । यी सबै ठाउँहरुमा पुगेर सहयोगी हात अघि बढाउँछन् । उनले खबर मात्रै पाए भने पनि त्यस्ता ठाउँमा पुगेर सहयोग गर्न तम्सिन्छन् । त्यही भएर उनलाई आफ्ना आफन्त, साथीभाइसहितले जस्तो नाम त्यस्तो काम गर्ने व्यक्तिको रूपमा चिन्ने गरेका छन् ।

सात समुन्द्र पारीको विदेशीभूमिमा रहेर पनि नेपालीको सेवामा समर्पित हुन पाउँदा उनी खुसी छन् । उनले यसलाई आफ्नो कर्तव्यको रुपमा ठानेका छन् । ‘मैले आपतविपतमा परेका नेपाली दाजुभाइहरूलाई सहयोग गर्न पाउनुलाई आफ्नो कर्तव्य हो भन्ने ठानेको छु’, उनले भने- ‘मानव भएर जन्मिएपछि बाचुञ्जेसम्म समाजमा केही न केही त गर्नैपर्छ भन्ने लाग्छ र गरिरहेको छु ।’

विदेशीभूमिमा बसोबास गर्नेहरू पनि विभिन्न जात, वर्ग र राजनीतिमा विभक्त छन् । तर, उनलाई यो कुरा पटक्कै मन पर्दैन । जुन जात र वर्ग अनि धर्म भएपनि समाज सेवालाई सो विषयसँग जोड्न नहुने उनको तर्क छ । ‘हाम्रो समाजमा जात, धर्म, वर्ग र पार्टी हेरेर गरिने समाजसेवादेखि टाढै बस्न रुची लाग्छ’, उनी भन्छन्, ‘समाज सेवाको कुनै रङ्ग हुँदैन, जात हुँदैन र धर्म पनि हुनुहुँदैन । यो त केवल स्वच्छ मनले गरिने मानव सेवा हो, जुन कुरा हाम्रा समाजसेवी भनिनेहरुले बुझ्न जरुरी छ ।’