सबभन्दा बढी आर्जन गर्नेमा अमेरिकन दूतावास

सबभन्दा बढी आर्जन गर्नेमा अमेरिकन दूतावास


  • विशेष संवाददाता

नेपालीहरू विदेशी सपना बोकेर दैनिकजसो अमेरिका र युरोपलगायतका देशमा गइरहेका हुन्छन् । अध्ययनको सिलसिलामा विद्यार्थी र भिजिट भिसाको माध्यमबाट नेपालीहरू दर्जनबढी देशमा दैनिक उडिरहेका छन् । नेपालीहरू अध्ययनका लागि विदेशिँदा ती देशका दूतावासहरूले निश्चित रकम शुल्कको नाममा लिने गर्छन् । ‘के र कति रकम नेपालीले विदेशी दूतावासमा बुझाउँछन् ?’ यो खोजीको विषय बन्दै आएको छ ।

घटना र विचारलाई प्राप्त जानकारीअनुसार अमेरिकी दूतावास सबैभन्दा बढी कमाइ गर्नेमा पर्दछ । दूतावासमा अमेरिका जान पाइने आशामा दैनिक ४ सयको हाराहारीमा नेपालीले आवेदन दिने गरेका छन् । दूतावासले आवेदन लिने र एक वर्षपछि अन्तरवार्ताको मिति दिएर पठाउने गरेको छ । अर्थात्, आज आवेदन दिँदा अर्काे वर्षमात्र भिसाको लागि अन्तरवार्ता दिन पाइन्छ ।

यसरी आवेदन दिने व्यक्तिसित दूतावासले ३३ हजार रुपैयाँ आवेदन शुल्क लिने गरेको छ । केहीअघि यो शुल्क २२ हजार रुपैयाँ थियो । ४ सय जनाले दैनिक बुझाउने ३३ हजार रुपैयाँको दरमा प्रतिदिन १ करोड ३२ लाख रुपैयाँ अमेरिकन दूतावासमा जम्मा हुन्छ । महिनामा सरदर २० दिन दूतावास खुल्दा वर्षमा २ सय ४० दिनमा भिसा पाउन आवेदन दिनेहरूको रकम एक वर्षमा ३ अर्ब १६ करोड ८० लाख रुपैयाँ हुन आउँछ ।

अब एक वर्षसम्म यो रकम बैंकमा राख्ने हो भने र सामान्यतया १० प्रतिशत ब्याजको हिसाब गर्दा त्यसको ब्याजमात्र ३१ करोड ६८ लाख रुपैयाँ हुन आउँछ । यसरी अमेरिकी दूतावासले नेपालीबाट मनग्गे आम्दानी गरिरहेको यो तथ्यले पुष्टि गर्छ । अमेरिकी सरकारबाट नेपाललाई प्राप्त हुने अनुदानभन्दा बढी रकम नेपालीले अमेरिकालाई उपलब्ध गराउने गरेको यसबाट स्पष्ट हुन्छ । अमेरिकासँगै अन्य देशका दूतावासबाट पनि अध्ययन र भिजिट भिषा लिँदा नेपालीको अर्बाैं रकम विदेश पुगिरहेको छ ।