गोरखा बोर्लाङका ढकालहरू र कुलपूजा

गोरखा बोर्लाङका ढकालहरू र कुलपूजा


‘कुलदेवता’ भन्ने शव्द अथर्ववेदको ‘कुलायन’ शव्द र शुक्लयजुर्वेदको ‘कुलायनी’ शब्दबाट लिइएको हो । यो शब्दको खास अर्थ कुल, वंश, गोत्रलाई चम्काउन वा जोगाउनका निम्ति एक निश्चित देवतालाई संरक्षकका रूपमा मान्ने परम्परामा आधारित छ । सत्ययुगमा मात्र नभइ द्वापरयुगमा समेत कुलदेवताको प्रसङ्ग आउँछ । पाँच हजार वर्षपूर्व भगवान् श्रीकृष्ण र गोवर्द्धन पर्वतको प्रसङ्गमा समेत कुलपूजालाई जोडिएको भेटिन्छ ।

‘कुल’को अर्थ ‘आफ्नो वंश’ हो भने ‘देवता’को अर्थ ‘संरक्षक वा आराध्यदेव’ हो । यसरी हेर्दा एकै गोत्रीय वंशजभित्रका भाइबन्धुहहरू मिलेर सनातनदेखि मानिआएको आराध्यदेव पुज्ने परम्परालाई ‘कुलपूजा’ भनिने रहेछ भन्ने थाहा हुन्छ । नेपालमा कैलाश मानसरोवरबाट ब्रह्मपुत्र नदीसम्म फैलिएको यो पुण्यभूमि हिमवत्खण्ड गोर्खामण्डल आर्यावर्त क्षेत्रकी स्वामिनी, अधिष्ठात्री पार्वतीलाई कुलदेवी र शिवजीलाई आराध्यदेव मान्ने समुदाय ठूलो छ ।

यसैमध्येमा गोरखा बोर्लाङ मूलथलो भएका ढकालहरुले पवित्र श्रीस्वस्थानी देवीको व्रत-पुजा आरम्भ हुने अघिल्लो दिन (पौषशुक्ल चतुर्दशीका दिन) मा आफ्नो आराध्यदेव शिवजीलाई सम्झेर कुलपुजा गर्छन् । यहाँका ढकालहरुले चर्तुदशीको दिनमा कुलदेवता (आराध्यदेव) शिवजीको पुजा गरेपश्चात् पौषशुक्ल पुर्णिमाका दिनवाट एक महिनासम्म व्रत बसी श्रीस्वस्थानी परमेश्वरी र शिवजीको पुजा गर्ने प्रचलन परापुर्वककालदेखि नै चलिआएको पाइन्छ । कुलपूजा आफ्नो कुलका देवता र पितृलाई खुशी बनाउनको लागि गरिने संस्कार हो । ढकाल समुदायभित्र बसाइ र स्थानीयताका आधारमा कुलको नाम र पूजा गर्ने तरिका फरक-फरक देखिन्छ ।

पाशुपत क्षेत्रबाट अछाम बाईकोटमा पुजारीका रुपमा पुगेका कुलपुरुष गोविन्ददेव ढकालका पालादेखि अहिलेसम्म ढकाल नै पुजारी रहने चलन छ । तिनै गोविन्ददेव ढकालका १५औँ पुस्ताका अनन्त ढकाल धुरन्धुर ज्योतिष तथा योग र तन्त्रविद्याका सिद्धहस्त थिए । ज्योतिष अनन्तलाई गोरखाका राजा रामशाहले गोरखा दरबारमा ल्याए । अनन्तको कामदेखि खुशी भएका राजा राम शाहले ‘कहाँ भन्नुहुन्छ त्यहीँ बस्ने बन्दोबस्त मिलाउँछु’ भनेपछि ज्योतिष अनन्तले ‘जहाँ धानका एकहात लामा बाला फल्छन्, म त्यसै ठाउँको शिरमा बस्छु’ भनेपछि गोरखा राज्यको सरहदभित्र त्यस्तो ठाउँको खोजी गर्दा बोर्लाङको पिपलटार फाँटमा एकहात लामा धानका बाला भेटिएपछि बोर्लाङ डाँडामा कोटकाली मन्दिर स्थापना गरि ज्योतिष अनन्तलाइ पिपलटार र सिमलटार फाँट बिर्ता दिइ बस्ने बन्दोबस्त गरिएको थियो भन्ने किंवदन्ती छ ।

बोलाङमा बिर्ता पाएपछि अनन्तले आफ्नो अछाम काफलगणीतिर रहेका पिता मुक्त, काका हिरा र हजुर’बा जुल्फुलाई समेत लिन पठाएका थिए रे । त्यतिबेला ९ जना बन्धुहरु सहित उनका बा बोलाङ्ग आएर केही समय बसी फर्किगएका थिए रे । यसरि अनन्त ढकाल बोलाङ आएर कोटकालीको स्थापना गरि बसोबास गरेसँगै पिपलटारदेखि तल रहेको मरेङघाट क्षेत्रलाई तन्त्र साधनाको क्षेत्रका रूपमा स्थापित गरी सोही वर्षबाट उनले बोलाङ पिपलटारमा रहेको विशाल पिपलको वृक्षमुनि कुलदेवताको स्थान बनाइ कुलपुजा चलाएका र अहिलेसम्म बोलाङमा सोहि बमोजिम कुलपुजा निरन्तर चलिरहेको छ । त्यहाँ कुलदेवता रहेको ठाउँको नाम नै ‘देउताथान’ हो भने मरेङघाट क्षेत्रमा विगत ५/७ वर्ष अघिसम्म ढकाल नै पुजारी रहने प्रचलन थियो ।

अनन्तले नै बोलाङमा कुलपुजा शुरुवात गरेको र वि.सं. २०२२ ताकासम्म गोरखा, धादिङ लगायतका छिमेकी जिल्लाबाट समेत बोर्लाङ आएर पुजाआजामा सरिक हुन्थे । पछि विविध कठिनाइको कारणले आफू बसोबास गर्ने क्षेत्रमा नै कुलपुजा गर्न थालेको ९२ वर्षीय भवानी ढकालले बताउनुभयो ।

तिनै ज्योतिर्विद अनन्तका सन्तान कती थिए भन्नेबारे एकीन नभाएपनि हालसम्म अछाममा नामकरसहित दुइ भाइ र गोरखामा दामोदर गरी जम्मा तिनभाइ छोराका वंशजहरू देखिन्छन् । तिनै अनन्तले केही समय स्याङ्जामा पनि काम गरेका हुन् कि भन्ने देखिएको छ ।

आज बोर्लाङ मूलथलो भइ गोरखा, चितवन, काठमाडौं, धादिङ, नेपालगञ्ज लगायत देशभर विभिन्न क्षेत्र र विदेशमा रहेका ढकाल बन्धुहरुले समेत आ-आफ्नो ठाउँमा विधिपूर्वक कुलपूजा सम्पन्न गरेका छन् ।

प्रस्तुति : रामकृष्ण ढकाल