✍ रेजिना गौतम

बिहान सबेरै हिँड्नु छ भनेपछि त्यसै-त्यसै मनमा एकप्रकारको औडाहा हुनु स्वाभाविकै हो । त्यसमा पनि हिउँदको महिना, अझ पुसको मध्यतिर ! त्यसैपनि उज्यालो ढिलो नै हुन्छ । विहान ६ बजेतिर मात्रै झिसमिस उज्यालो देखिन्छ । अझ तराईभेगमा हिउँदको महिनामा लाग्ने हुस्सुले उज्यालोलाई पनि छेकेझैँ लाग्छ । पुसको १३ गते बिहान सदाको भन्दा झण्डै अढाई घण्टापहिले नै उठेँ । पेटमा अलिक सन्चो नभएजस्तो अनुभूतिसँगै सदाझैँ ज्वानो र अमला हालेर थोरै पानी पकाए । नित्यकर्म त छँदैथियो । सेल फोनमा आँखा पुगे । पौने ४ बजिसकेको रहेछ । ४ बजे बसस्टेसनमा पुग्नुपर्ने । सार्वजनिक यातायातमा लामो दुरीको यात्रामा सहभागी हुनु छ भने प्रायः पानी नपिउने आफ्नै बानी छ । तथापि, स्वास्थ्यका कारण पकाएको पानीमा चिसो पानी थपेँ र घटघट पिएर बिर्तामोडको पश्चिम बसस्टेसनतर्फ लागेँ । यात्रा भोजपुरसम्मको थियो । कहिल्यै नपुगेको ठाउँ । बसबाट कहाँ ओर्लिने भन्ने पनि स्पष्ट थिइनँ । तैपनि सहजता यो थियो कि गौतम बन्धु समाज झापाका अध्यक्ष नीतिरमण (हजुरबा) सँगै हुनुहुन्थ्यो ।
ठाउँबारे मजस्तै अन्जान अरु दुईजना पनि त्यहीँ थपिए । मलाई देख्नेवित्तिकै ‘मान्छे त हाम्रै रछन्’ भन्दै भित्र पसेका महेन्द्र दाइको कुरा सक्किन नपाउँदै शारदाको प्रश्न तेर्सियो- ‘अई… तँ काँ हिँडेकी ?’ बसले गति लियो । सोधीखोजीकै क्रममा थाहा भयो गन्तव्य एउटै रहेछ । तर, उनीहरू लेगुवा भन्दै थिए, हामी जरायोटार । दमक पुग्दा उही यात्रामा सहभागी अरु पाँचजना थपिए । स्पष्ट नहुँदा उत्रिने ठाउँका बारेमा तर्क आ-आफ्नै थिए । कसैले फुस्रे भने कसैले बन्चरेडाँडा भने, गन्तव्य नजिकिँदै जाँदा बसमा थपिएका र दिवंगत डिल्लीप्रसादलाई चिन्नेहरूले जइनेचौतारो पनि भने ।
यात्राको दूरी छोट्टिँदै थियो । सोही क्रममा लेगुवा बजारबाट तिवारीभञ्ज्याङ जाने भन्दै बसमा एक युवा चढे । हामी उत्रिने ठाउँ पत्ता लगाउने क्रममा उनले पनि थाहा पाए, र भने- ‘बाहुनकोमा जाने ?’ हजुरबा र महेन्द्र दाइले हतार-हतार ‘हो’ जवाफ फर्काए । राई अनुहारका उनले उत्रिने ठाउँ म देखाइदिन्छु भनेपछि हामी पनि ढुक्क भयौँ । घुम्तीहरू पार गर्दै बस दौडिरहँदा म भने पहाडका दृष्यहरू आँखाले भ्याएसम्म नियाल्दै रहेँ । ठूल्ठूला बर–पिपलका बोट, चौतारो, जन्मस्थल ताप्लेजुङको सम्झना हृदयभरी मडारिइरह्यो । सल्लैसल्लाले ढाकेको उराठिलो पाखाको छेउमा एक्कासी बस रोकियो । अघिका युवाले यहीँ उत्रिनु भने । त्यहाँ न चौतारो थियो, न डाँडामा पुगियो ! बीचको ठाउँ के हो भन्ने पत्तै नपाएका हामीलाई बसका कण्डक्टरले रमाइलो पारामा भने– ‘खनेको बाटो जानु नि, फेरि उँधै–उँधै जानु होला र.. !’ उनले सङ्केत गरेको उँधोतिर भने सल्लेभिर थियो । सल्लाका पात र सिम्टा पनि झरेका । मान्छे हिँड्न सक्ने देखिँदैन थियो ।
सल्लाघारी बनभित्र खनेको बाटो । बिस्तारै अघि बढ्यौँ । बाटो सजिलै थियो । एक-एकजनाबाट शुरु भएको यात्रामा थपिँदै–थपिँदै नौजना भइसकेका थियौँ । छिटो-छिटो हिँड्नेलाई ‘भातखौरेमा हिँडेजस्तो के हो पारा..’ भन्दै शारदा आफ्नै जीवनसाथीलाई जिस्काउँदै गर्थी । हामी जाँदैगर्दा बाटामा फर्कंदै गरेको झापाकै दुईवटा टोलीसँग भेट भयो । फर्कंदै गरेको पेशागत र संगठनात्मक निकटता भएको एउटा टोली खासै बोल्न रुचाएन । सामान्य औपचारिकता पूरा गर्दै अघि बढ्यौँ । अलिक तल पुग्दा अर्को टोलीसँग भेट भयो । एकैछिनको भेटमा पेशागत कामका सिलसिलामा थाहा पाइराख्नुपर्ने महत्वपूर्ण कागज देखाए । आफन्त गुमाउनुपरेको पीडा र पीडितका दृष्टिमा चिकित्सकको लापर्वाही पुष्टि हुने डकुमेन्ट थियो त्यो । आफन्तवियोगको आलो घाउ बोकेर भानुदाइ सहकर्मीका पिताजीको वियोगमा दुःख बाँडेर फर्कंदै थिए । मसँगको टोलीका सबै निकै पर पुगिसकेका थिए । यद्यपि गोपाल दाइले देखाइदिएको छोटो तर अप्ठ्यारो बाटो समाउँदा दुई पाइलाले भएपनि टोली भन्दा पहिले नै डिल्लीप्रसादको दशगात्र कर्म भइरहेको स्थान अरुण गाउँपालिका वडा नं. ६ पाउलीस्थित घर टेकियो ।
संस्कारअनुसार दशगात्र कर्ममा बसेका श्रीमती, छोराबुहारी र छोरीहरू गरुड सुन्न बसेका थिए । बीचमा युवा उमेरका गुरुजीले गरुड पाठ गर्दै थिए । एकप्रकारको सन्नाटा थियो । पाठ सकियो, कथा बाँकी नै थियो । ससुराको काममा बसेकी बहिनी निर्मलालाई छुस्स भेटेपछि शारदाहरू हतारिएर हिँडे । म भने प्रेस सेन्टर झापाको टोलीको समवेदना दिने क्रम चलिरहेकोले त्यतैतिर अल्मलिएँ ।
शारदाहरू बिहान भेट्नेवित्तिकै भन्दै थिए- ‘त्यहाँ त बस्ने कुनै उपाय नै छैन रे, बसाइ हुँदैन ।’ पारिवारिक रूपमा सबैसँग चिनजान नभएपनि बन्धुत्वका हिसाबले म घरमा पुगेकी थिएँ । समय व्यवस्थापन गर्न सक्दा र सवारीको सहज उपलब्ध हुने भए दशौँदिनको गहुँत ग्रहण गर्नुपर्ने थियो । तर, त्यो सम्भव थिएन । योे बेला मसँग मात्र दुईवटा विकल्प थियो- फणिन्द्र (राजेन्द्र दाईका काका)सँगै लेगुवा पुग्ने आँट गर्ने वा त्यहीँ बस्ने । राजमार्गमा निस्किएपनि यातायातको साधन भेट्ने सम्भावना नदेखेपछि अघि उत्रेको ठाउँमा बिहान पुग्नु नै सहज ठहर्याउँदै त्यहीँ बस्ने निर्णय गरेँ । गरुडको कथा श्रवण गरियो । यो बेलासम्ममा चिसो निकै बढिसकेको थियो । जुन घरबाट आँखाले देखिने ठाउँसम्ममा एउटा मात्रै घर देखिन्थ्यो । आसपासमा गएर बस्न सक्ने सम्भावना पनि थिएन । तर, पनि मेरो निर्णयले सायद राजेन्द्र दाइ र धनु भाउजुलाई असजिलो महसूस भएछ क्यार ! संयोग जुऱ्यो वा उहाँहरूले नै जुराउनुभयो, अन्जानैमा लेगुवासम्म पुग्ने वातावरण बन्यो ।
आमालाई एकपटक बोलाएँ र हतारिँदै आँगनका डिलबाट बारीका कान्ला नाघ्दै लेगुवासम्मका लागि लम्किएँ । तल बारीका पाटामा दुईजना भाइहरू एक-एकवटा मोटरसाइकलमा पर्खिराखेका थिए । दिनेश भाइले भन्नुभयो- ‘बाटो अप्ठ्यारो छ, लडाउँदिनँ, नडराइ बस्नु ल ।’ पहाडमै जन्मेर हुर्केकी म । पहाडबारे केही न केही जानकार नै थिए । सहजीकरण गर्दै भाइलाई भनेँ- ‘झापाबाट आएपनि मैले पहाड राम्ररी बुझेकी छु ।’
हेर्दा रुखो देखिने पाखोबारी झैँ लाग्ने । तर, त्यहीँ पुग्दा बोटमा रसिला सुन्तला, बारीका पाटा पनि ठूलै । कोदो टिपीसकेर नरुवा कतै काटेका त कतै बाँकी नै । डालेघाँसका बोटहरू । तीन नबज्दै साँझ परेझैँ चिसो सिरेसो । लेक भनौँ वा औल छुट्याउनै गारो । दिदीभाइ गफ गर्दै खनेर निकालेको सल्लेभिरको बाटोमा मोटरसाइकलको सहारामा लेगुवातिर अघि बढ्यौँ । मलाई सुरक्षित महसूस गराउँदै कालोपत्रेसम्म ल्याउन भाइलाई कति सकस भयो थाहा छैन । तर, मैले भने पटक्कै असजिलो या अप्ठ्यारो महसूस गरिनँ । किनकि पाउलीलाई बुझ्ने यो मेरा लागि निकै राम्रो मौका थियो । मन त्यतैतिर भुल्यो ।
पाखो खनेर भएपनि बाटो पुऱ्याइएको, बिजुली, पानी, इन्टरनेटको सुविधासमेत पुगेको । यो देख्दा मलाई विकास पुगेको महसूस भएपनि पाउलीले पाउलीले पाउ लगाइदिएकाहरू भने दिनदिनै बिरानो हुँदै गएका रहेछन् । पाउलीलाई एकपछि अर्कोले छोड्दै हिँड्दै गर्ने क्रममा स्व. डिल्लीप्रसादका चारभाइ छोराले पनि मधेशतिर पाइला बढाइसकेका रहेछन् । त्यही कारण अन्तिम अवस्थामा न पिताले पुत्र देखे न पुत्रले पिताको अन्तिम श्वास नै भेटे । पुस्तौँदेखि पाउलीमा बसोबास गरेको गौतम परिवारको पाउलीबाट पखेटा लागिसकेको बुझ्दा पहाड पूरै रित्तिन लागेको महसूस भयो ।
पहाडको ठाउँ विकास त पुगेको जस्तो लाग्यो तर पनि बस्ती त उजाड किन ? मेरो प्रश्नमा भाइले भने- ‘ठाउँअनुसार विकास भएकै छ । तर यहाँको समस्या स्वास्थ्य, शिक्षा र उत्पादित सामग्रीको बजार छैन । विद्यालय टाढा छन् । गाउँ नै यति पातलो छ विद्यार्थी थोरै हुन्छन्, माथि डाँडामा सामुदायिक स्कूल छ । एउटा स्कूलमा ६०/७०/१०० जना विद्यार्थी होलान् । सामुदायिक विद्यालयमा बालबालिका कम भएपछि निजी स्कूल खोल्ने कुरा पनि भएन । आपत पर्दा अस्पताल कहाँ जाने ठाउँ छैन, कृषि काम गर्दा हुन्थ्यो होला तर बजार खै ?
ठाउँ परिवेशबारे कुरा हुँदाहुँदै राजमार्गमा निस्कियौँ । आउनेजानेलाई लिन र पु¥याउन जानुपर्ने नौ दिनदेखिको दैनिकी नै भनेझैँ भइसकेको रहेछ दिनेशभाइको, दिनमै ३/४ पटकसम्म । आज त भर्खर एकपटक मात्रै भएको रहेछ । बीचबाटोमा छोड्न पनि कठिन । ओरालो लाग्यौँ । केही तल झर्दा दुई/अढाइ घण्टा अगाडि नै हिँड्नुभएको फणिन्द्र काका र काकी अनि विराटनगरबाट जानुभएका भान्जादाइ । नीतिरमण बा र मलाई मोटरसाइकलमा लिएर आउने दुई भाइहरू दिनेश र गणेश नैतिक जिम्मेवारीको घेरामा पर्नुभयो । म भएको मोटरसाइकलमा काकी थपिनुभयो । ट्राफिकले दुःख दिन्छ कि ! डराउँदै-डराउँदै अघि बढ्ने क्रममा उँभोबाट एउटा सेतो रंगको गाडी आयो । अगाडि कतिजना अटिन्थ्यो थाहा छैन, पछाडि भने डाला भएको सरकारी गाडी । गणेश भाइले कसो-कसो गरेर रोकेछन् । हामी त्यसमा चढ्यौँ । उनीहरू अघि बाटामा भेटिएका काका र भान्जादाइ लिन गए । तर त्यो सरकारी गाडीको डालाको यात्रा लगभग ५०० मिटर भन्दा लामो हुन सकेन । पाँचथर जिल्ला समन्वय समितिका संयोजक सवार उक्त सरकारी गाडीलाई जरायोटारमा बसेको ट्राफिकले रोक्यो । सवारीचालकले बुझाउने निकै प्रयास गरे, तर उनको जोर चलेन । समन्वय समितिका संयोजकले मुखै खोलेनन् । हामी उत्रियौँ । गाडी अगाडि बढ्न लाग्दा संयोजकले मलाई भने- मिलाउनु है ।
यहाँदेखि गणेशको मोटरसाइकलमा यात्राले निरन्तरता पायो । गणेशसँग पनि उही कुरा दोहोरियो । विकास र पाउलीको बस्ती उजाडिनुको कारण । अघि पाउलीबाट कालोपत्रेसम्म निस्कने बाटो केही वर्षअघि आफ्नै लगानीमा आफैंले खनाएका रहेछन् । उनकै मुखबाट उक्त कुरा सुन्न पाउँदा गर्वबोध भयो । गणेशको उक्त कामको अनुकरण अरु गाउँकाले पनि गर्दा धेरै ठाउँमा बाटो पुगेको सुनाए । त्यतिमात्र होइन पहाडमा भ्रष्टाचार खासै नहुने कुरा सुन्दा खुशी लागेर आयो । त्यही ठाउँमा हुर्कीबढेर सामुदायिक विद्यालयको प्रधानअध्यापकको जिम्मेवारी समेत सम्हालेका उनी अहिले सुनसरीको हरिनगरा गाउँपालिकाको शिक्षाशाखा प्रमुखको जिम्मेवारीमा रहेछन् । एकदिनको अनेक अनुभवका साथ लेगुवास्थित दिलिप गौतमको घरमा विश्राम लिन आइपुग्यौँ । नजिकै अरुण खोला सुसाइरहेको लेगुवा बजार । भोजपुर र संखुवासभाको गन्तव्य छुट्टिने बिन्दु बनेर बसेको । खोलाको चिसोको कारण होला शायद निकै चिसो अनुभव भयो ।
भोलिपल्ट बिहान बाहिर हेर्दा तराईको जस्तै हुस्सु थियो । लेगुवा बजारमा संखुवासभा जाने बाटोतिर दिलिपको घर । घरैमा ठूलो एग्रोभेट सञ्चालन गरेका रहेछन् । दिलिप, गायत्रा र सानी छोरीमात्र लेगुवामा । छोरोलाई मधेशतिरै पठाइसकेका पढाइका लागि । त्यतिमात्र होइन । मोरङमा घरै बनाइसकेका । यो सब सुन्दा लाग्यो उनीहरू व्यवसायका लागि मात्रै लेगुवामा बसेका हुन् । गणेशले अघि बाटो र पाउलीका बारेमा जानकारी दिने क्रममै भनिसकेका थिए- ‘अब हाम्रो पनि एकवर्ष मात्र हो त्यहाँ बस्ने । त्यसपछि त गाउँ नै खाली हुने देखिन्छ ।’ दिनभर खाना खाने अनुकुल मिलेको थिएन । बुहारी गायत्रीले पकाएको तातो खानापछि विस्तारामा पल्टिए । यो पल्टाइमा अघि आमा (डिल्लीप्रसादकी श्रीमती)सँग भएको कुराकानी अनि दिनेश र गणेशले भनेका कुरा, अनि ससुराको दुःखमा बसेकी साली भेट्न गएका महेन्द्र दाइको हतारो र यात्राका स्मरणीय क्षण मनमा खेल्दाखेल्दै कतिबेला निदाएछु पत्तै भएन ।
प्रतिक्रिया