वडाध्यक्षको हास्यास्पद आह्वान : गरे देशकै बेइज्जत !

वडाध्यक्षको हास्यास्पद आह्वान : गरे देशकै बेइज्जत !


पोखरा महानगरका एक वडाध्यक्षले पूरा विश्व नै हँसाउने, तर अत्यन्तै गम्भीर प्रकृतिको एक ‘फरमान’ जारी गरेका छन् । वडा नम्बर १९ का पुष्पेन्द्र पाण्डे नामक अध्यक्षले ‘बाँदर नियन्त्रणका निम्ति आफ्नो घर-कम्पाउण्डवरिपरिका सम्पूर्ण रुख काटी प्रदेश सरकारलाई सहयोग पुऱ्याउन’ सूचना जारी गरेका छन् । वडाध्यक्षले सार्वजनिक सूचनामा ‘मेरो रुख म काट्छु भन्ने अभियान सन्चालन गरी आ-आफ्नो घरवरपर रहेका सम्पूर्ण रुखहरू कटान गरेर प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पु¥याउन’ भनेका छन् ।

संसारमा हरियाली कसरी बढाउने, कसरी बोटबिरुवाको संरक्षण गर्ने भन्ने जस्ता विषयलाई लिएर अभियान सञ्चालन गर्ने गरिएपनि रुख काट्ने अभियान यो सभ्य संसारले चलाउने गर्दैन र, रुख काटिएपछि बाँदर नियन्त्रण हुने भन्ने पनि हुँदैन । रुखहरू नास भएपछि बाँदरहरू ज्यादा आक्रामक बन्नेछन् र, घर-घरमै बस्न आउनेछन्, नेपालकै कैयन शहरी स्थानमा यसप्रकारका घटना भएका छन् ।

शहरी क्षेत्रमा हरियाली कसरी बढाउने भन्ने चिन्ता रहेका बेला वडाध्यक्षले सम्पूर्ण रुख काट्न जारी गरेको सूचनाले नेपालको अन्तर्राष्ट्रिय बेइज्जत गराएको छ । नेपालीहरू अझैपनि सभ्य र विकशित भइसकेका छैनन् भन्ने सन्देश विश्वब्यापी रूपमा दिएर पुष्पेन्द्र पाण्डे नामक वडाध्यक्षले गम्भीर अपराध गरेको ठानिएको छ । वडाध्यक्षको यस्तो हर्कतलाई नियन्त्रण गर्न प्रदेश सरकारले तत्काल ठोस कदम चाल्न सर्वत्र माग भइरहेको छ ।