अरुण चौधरीलाई छुटाउन चौतर्फी दबाब

अरुण चौधरीलाई छुटाउन चौतर्फी दबाब


पुत्री गङ्गाले प्रहरीलाई रिसाउँदै भनिन्- ‘मलाई नसोधी किन पक्राउ गरेको ?

बाँसबारी छालाजुत्ताको नाममा रहेको दस रोपनी जमिन अनियमित तवरमा हडप्ने अरुण चौधरी बिहिबार (१८ गते, माघ २०८०) पक्राउ परेपछि निजलाई थुनामूक्त गराउन चर्को दबाब परेको छ। विनोद चौधरीका कान्छोभाइ अरुण चौधरीलाई प्रहरीले गिरफ्तार गर्नुअगाडि उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआइबी प्रमुख किरण बज्राचार्य लगायतले प्रधानमन्त्री प्रचण्डलाई भेटी बाँसबारीस्थित कब्जा भएको दश रोपनी जमिन तथा त्यसमा संलग्न ब्यक्तिहरूमाथि भएको अनुसन्धानको निष्कर्ष सुनाउँदै आवश्यक कानूनी कारबाहीको लागि अनुमति मागेका थिए । त्यसबेला प्रधानमन्त्री प्रचण्डले ‘गो अहेड’ भन्दै प्रहरीलाई आफ्नो कारबाही अघि बढाउन अनुमति दिएका थिए । प्रधानमन्त्रीले त्यसबेला विनोद चौधरीको भूमिकाप्रति थप चासो राख्दै विनोदसमेत छुट्न नहुने आशय प्रकट गरेका थिए ।

यता यसरी प्रधानमन्त्रीसङ्ग अनुमति लिने औपचारिकता पूरा हुँदै गर्दा उता कानूनी प्रक्रिया पूरा गरेर अरुण चौधरीलाई पक्राउ गर्ने कार्य निमेष भरमै गरिएको थियो । प्रहरीले लामो समयदेखि अनुसन्धान गरेको र, त्यसक्रममा चौधरीबाट गम्भीर अपराध ठहर भएपछि मात्र कारबाहीको कानूनी प्रक्रिया सुरु भएकोले सरकारी वकिल र न्यायालयले बिलम्ब गर्ने अवस्था थिएन । त्यसैले सरकारी वकिल कार्यालय र न्यायालयले पनि निर्णय दिन बिलम्ब गरेनन् । तर चौधरी पक्राउ परेको केही बेरमै प्रधानमन्त्रीका पुत्री गङ्गा दाहालले सम्बद्ध प्रहरी अधिकारीहरूलाई टेलिफोन गरि चौधरीलाई किन पक्राउ गरेको भन्ने प्रश्न गर्दै तत्काल थुनामूक्त गर्न आदेश दिइन् । प्रहरी अधिकारीहरूलाई गङ्गाको प्रश्न थियो- ‘मलाई नसोधीकन तपाईंहरूले चौधरीलाई किन पक्राउ गरेको ?’

गङ्गाको प्रश्नमा प्रहरीले अनुसन्धानबाट चौधरी दोषी ठहर भएको र, प्रधानमन्त्रीको समेत अनुमति लिएर मात्र पक्राउ गरिएको जवाफ दिएपछी गङ्गाले रिसाएर फोन राखेकी थिइन् । त्यसको केहीबेरमै प्रधानमन्त्री प्रचण्ड स्वयमले सम्बद्ध प्रहरी अधिकारीलाई टेलिफोन गरि चौधरीलाई अहिले तत्कालै छोडिदिन आदेश दिए । तर प्रहरीले लामो अनुसन्धानबाट दोषी देखिएको, त्यसपश्चात् सरकारी वकिलको कार्यालयबाट सिफारिस भइ अदालती प्रक्रिया समेत पूरा भएकोले छोड्न नमिल्ने जवाफ प्रधानमन्त्रीलाई दिएको थियो। पक्राउ परेका ब्यक्ति छोड्न गृहमन्त्रीको आदेश नभएको र, कानूनी प्रक्रिया पूरा भैसकेकोले त्यत्तिकै छोड्न नमिल्ने भन्ने प्रहरीको भनाई पछि प्रचण्डले टेलिफोन राखेका थिए ।

प्राप्त जानकारीअनुसार काङ्ग्रेस सभापति शेरबहादुर देउवा लगायतले पनि चौधरीको रिहाईका लागि चर्को दबाब दिएका छन् । कतिपय मन्त्रीहरू तथा अदृष्यशक्ती सम्बद्ध ब्यक्तिहरू पनि चौधरीको थुनामूक्तिका निम्ति दबाब बढाउँदैछन् । सकेसम्म तत्कालै रिहाइ गराउने र नभए अदालतले अनुसन्धानका निम्ति दिएको चार दिनसम्म अस्पतालमा राखेर त्यतैबाट घर फर्कने ब्यवस्था गराउन दबाबकर्ताहरू लागिपरेका छन् । यस घटनाले प्रधानमन्त्री प्रचण्ड वास्तबमा सुशासनको पक्षमा नरहेको र, प्रधानमन्त्री माथी छोरी गङ्गा दाहाल प्रधान हावी हुने गरेको थप प्रमाणित गरेको छ।

यो पनि हेर्नुहोस्-

सुशासनको निम्ति नारायणकाजीको अर्को साहसी कदम
www.ghatanarabichar.com/295712