संसार कसको ?

संसार कसको ?


✍ श्यामकृष्ण लम्साल

श्रृष्टिको प्रारम्भदेखि
ब्र्रह्माण्डमा अहिलेसम्म
के-के जन्मिए होलान् ?
अनि लोप पनि भए होलान्
आखिर संसार कस्को ?

समयक्रममा,
धनवान्, जनवान्, बलवान्
प्रचण्डप्रतापी भूपतिदेखि
किटपतङ्गहरुको पनि
उपस्थिति रह्यो होला,
सामर्थ्यवानहरुकै इतिहास लेखियो होला,
पढी, वाची सुन्ने
काम र क्रम पनि चलिआयो होला,
तर, संसार कसको ?

इतिहासवेत्ताहरुका कलमले
शासक र सामर्थ्यवानहरुका
चुरीफुरीलाई मात्रै लिपिबद्ध गरेपनि,
लिपिबद्ध हुनु नपर्नेहरुको सूचीमा राखेपनि,
लिपिबद्ध हुन अयोग्य ठानिएका
किटपतङ्ग, निम्छराहरुको पनि
अस्तित्व त होला नि ?

श्रृष्टिको प्रारम्भदेखि
अहिलेसम्म व्रह्माण्डमा
विजेताहरु भए होलान् ?
उपविजेताहरु पनि भए होलान् ?
दुनियाँ विजयोत्सव मनाउन
व्यस्त र मस्त रहिरहेको यस घडीमा
सोध्न मन लागेको छ-
उपविजेताहरुको पनि अस्तित्व हुन्छ कि हुँदैन ?
हिजो अस्तित्वमा रहेकाहरु
आज लोप भएको पनि इतिहास होला,
आज प्रचण्डप्रतापी रहेको
ज्वजल्यमान् सूर्य
भरे बेलुका अस्तानुपर्छ कि पर्दैन होला ?
अनि,
अहम्, घमण्ड, व्याभिचार,
दूराचार, अनाचारका घडा
किन स्थापना गरिँदैछन् त ?
आखिर,
श्रृष्टिसँगै विनाश
जन्मसँगै मृत्यु
अवश्यम्भावी छ भने
आखिर संसार कस्को ?
यो विश्व व्रह्माण्ड कस्को ?

  • दिङ्ला, भोजपुर