नेपालमा थाई बक्सिङ भित्र्याउने नम राजनीतिमा सक्रिय

नेपालमा थाई बक्सिङ भित्र्याउने नम राजनीतिमा सक्रिय


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपालमा पहिलो थाई बक्सिङ भित्र्याउने नमराज भण्डारी पछिल्लो समय राजनीतिमा पनि सक्रिय हुन थालेका छन् । उनी अहिले नागरिक शक्ति, नेपालको युवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी लिएर काम गरिरहेका छन् ।

पाँच वर्षअघि यस सङ्गठनमा आवद्ध भएका भण्डारीले संगठनमा आवद्ध भएपछि युवा तथा खेलप्रेमीहरूलाई संगठित गर्दै क्रियाकलाप सञ्चालन गर्दै आएका छन् ।

करिव एक हजार युवालाई संगठित गरिसकेका नमले राष्ट्रवादी पहिचान बनाएर देश र देश हितका लागि सचेतना कार्यक्रमहरू संगठित युवाहरूमार्फत गर्दै आएका छन् । विभिन्न जात जाति, भाषा, धर्म, संस्कृतिहरूको संरक्षण तथा सम्वर्द्धनमा उनी क्रियाशील भइरहेको बताउँछन् ।

भण्डारीले सन् २००७ मा पहिलो पटक थाई बक्सिङ (मुवा थाई) नेपाल भित्र्याएका हुन् । र, यो खेल अहिले देशमा चर्चित छ । यो खेलमा करिव ६ हजार युवा उत्पादन भइसकेका छन् । भविष्यमा खेल क्षेत्रको समुचित विकास गर्दै युवा र खेलाडीलाई आत्मनिर्भर बनाएर आयआर्जनदेखि जीविकोपार्जनसम्मका क्रियाकलाप अघि बढाउने उनको प्रतिवद्धता छ ।

देशका युवाहरू दिनदिनै विदेश पलायन भइरहेको अवस्थामा नेपालमै स्वरोजगार बनाएर उनीहरूलाई विदेश जानबाट रोक्न आवश्यक पहल गर्ने भण्डारीले बताए ।

देशको ‘नीति’ बनाउने ‘राजनीति’ नै अहिलेको समयमा फोहोर रहेको उनको बुझाइ छ । उनी यस्तो फोहोर राजनीतिलाई सफा गरेपछिमात्र हरेक क्षेत्र असल बन्ने र त्यसका लागि नागरिक शक्ति, नेपालमार्फत अभियानहरू निरन्तर चलाउने नमको योजना छ ।