सोच ‘युरोपियन स्टाण्डर्ड’को, एक्सन ‘झर्रो नेपाली’ : ब्यथित ट्राफिक प्रहरी !

सोच ‘युरोपियन स्टाण्डर्ड’को, एक्सन ‘झर्रो नेपाली’ : ब्यथित ट्राफिक प्रहरी !


✍ रणबहादुर चन्द

‘पेलेर जान पाए सान बढ्ने’ नेपाली चालकहरूको मानसिकता, यस्ता मानसिकता बोकेका चालकहरूसँगको विवाद र झगडा-झमेला, ड्युटीभरी उभिएरै ब्यस्त रहनुपर्ने बाध्यताले कत्तिको सहज होला ट्राफिकको ड्युटी ?

दिनभरी उभिएको उभियै, तर ट्राफिक ब्यवस्थापन गराउनैपर्ने बाध्यता छ ट्राफिक प्रहरीलाई । यातायातसँग जोडिएका अन्य कार्यालयहरू- सडक विभाग, यातायात कार्यालय, विद्यूत्, नगरपालिका सबैले अधिकारक्षेत्रको तर्क गर्दै ढिलासुस्ती गरिदिनाले काठमाडौं उपत्यकामा सवारी आवागमन सरल हुन सकेको छैन ।

सडकमा रहेका खाल्डाखुल्डी कहिले पुरिने ? जत्तिखेर पनि ढल ब्यवस्थापन, विद्यूत् वा टेलिकमले किनारमा खाल्टो खन्दै जाने, पैदल यात्रीहरू जथाभावी बाटो काट्ने कुराले पनि सडक यातायात प्रभावित हुँदै गएको छ ।

उपत्यकामा रहेका सडक कुन एकतर्फी बनाउने वा कुन दुईतर्फी ? सोअनुसारको रिसर्च हुन बाँकी नै रहेको छ । समय-समयमा नेपाल सरकारले गठन गर्ने आयोग र समितिहरूले प्रतिवेदन त पेश गरेका हुन्छन् तर सोको तथ्याङ्कले मात्रै त केही हुँदैन, कार्यान्वयनमा ल्याउन सकिएको छैन ।

जनशक्तिको अभाव रहेको देखिन्छ । सडकमा खटिने ट्राफिक प्रहरीले कम्तिमा पनि १२ घण्टा ऊभिएरै सवारी आवागमनमा खटिनु पर्दा शारीरिक तथा मानसिक तनाव परिरहेको हुन्छ । २४/७ खटिनु पर्दाको शारीरिक तथा मानसिक थकान अवस्य पनि बढी नै भएको मान्न सकिन्छ । सम्बन्धित साधनश्रोतको पनि अति नै अभाव या अपर्याप्तता छ, एक प्रहरी अधिकृतले भने कि युरोपियन स्टाण्डर्डको सोच र हाम्रो नेपाली एक्सन ! सोच र परिणाम नै मिल्दैन ।

सडक-क्षमताभन्दा बढी सवारी साधनहरू सडकमा गुडिरहेका छन् । व्यवस्थापनको अभावमा एउटै सडकमा पैदल यात्रु, गाईबस्तु, कुकुर-बिराला, साइकल, मोटरसाइकल, साना ठुला सवारीहरूले प्रयोग गर्दा अवश्य पनि सडकको आवागमन अव्यवस्थित नै छ । यसमाथि झन् यातायात व्यवस्थाले गाडीहरूलाई दिने सवारी सञ्चालनको अनुमतिले झनै अस्तब्यस्त पारेको छ । यसबारे सुझाव दिँदै बालाजु बसपार्कमा कार्यरत एक प्रहरी निरीक्षकले लामो रुटका सवारीहरूले एउटै स्थानबाट यात्रुहरू पिकअप गरेर लैजाने र अन्य स्थानमा रोक्न नपाउने ब्यवस्था गर्दा पनि रिङरोड जाम हुने समस्या कम हुने बताए ।

काठमाडौं उपत्यकामा विगत तीन वर्षमा घटेका ट्राफिक दुर्घटनाहरूको तथ्याङ्क हेर्दा, तीन वर्षमा सवारी दुर्घटनाको संख्या ३० हजार ९ सय ५३ वटा भए । प्रतिवर्ष औषत १० हजार ३ सय १८ दुर्घटना भएको देखिन्छ भने ती दुर्घटनाबाट तीन वर्षमा मृत्यु हुने संख्या ५ सय ४५ छ, जसमा पुरुष ४ सय ४१ जना र महिला १ सय ४ जना रहेका छन् ।