पहिलोपटक ‘आहा ! रारा पोखरा गोल्डकप च्याम्पियन’ बन्यो त्रिभुवन आर्मी क्लब

पहिलोपटक ‘आहा ! रारा पोखरा गोल्डकप च्याम्पियन’ बन्यो त्रिभुवन आर्मी क्लब


विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा सञ्चालन भएको २३औँ संस्करणको ‘आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता’को च्याम्पियन बनेको छ ।

पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल शनिबार सम्पन्न फाइनल खेलमा प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भयो ।

यसअघि चारपटक फाइनल पुग्दासमेत उपाधि चुम्न असफल बनेको आर्मीले पाँचौँ प्रयासमा सफलता पाएको हो । यससँगै आहा ! रारा गोल्डकपले नयाँ च्याम्पियन पाएको छ । खेलमा आर्मीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल थप्दै सहज रूपमा थ्रिस्टारलाई पराजित गरेको हो ।

पहिलो हाफको ३९औँ मिनेटमा आर्मीका कप्तान जिलेप्सीजँग कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । मध्याह्नअघिको खेलमा १–० ले पछि परेको थ्रिस्टार दोस्रो हाफमा खेलमा फर्कन प्रयास गरे पनि असफल भयो ।

खेलको ८३औँ मिनेटमा आर्मीले फत्तेमान घलेको गोलबाट अग्रता दोब्बर बनायो । इन्जुरी समयको चौथो मिनेटमा वसन्त जिम्वाले गोल गर्दै आर्मीलाई जित दिलाए ।

च्याम्पियन बनेको आर्मीले नगद रु १२ लाख एक हजारसहित ट्रफी पुरस्कार पायो भने उपविजेता टोली थ्रिस्टारले नगद रु छ लाख एक हजारसहित ट्रफी पुरस्कार पायो ।

आर्मीका विमल पाण्डे प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै एक थान विद्युतीय स्कुटर प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलकिपर आर्मीका समित श्रेष्ठ, उत्कृष्ट रक्षक आर्मीका विमल पाण्डे, उत्कृष्ट मिडफिल्डर थ्रिस्टार क्लबका विवेक पौडेल, उत्कृष्ट फरवार्ड आर्मीका जिलेप्सीजँग कार्की तथा उत्कृष्ट प्रशिक्षक आर्मीका मेघराज केसी घोषित भए । उनीहरूले जनही रु २५ हजार र ट्रफी पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा सर्वाधिक तीन गोल गरेका आर्मीका दिनेश हेन्जनले नगद रु २५ हजार पुरस्कार प्राप्त गरे । जावलाखेल युवा क्लब प्रतियोगिताको ‘फेयर प्ले’ टोली घोषित भयो ।

प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत रूपमा उत्कृष्ट खेलाडीहरूलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशक प्रकाश केसी र किरण केसी, आयोजक सहाराका अध्यक्ष केशवराज बराल, सहारा युकेका पदाधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

सहारा क्लब पोखराको आयोजनामा यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा एक विदेशीसहित १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

photo: rss