फाँडेजाउलाको खोजीमा

फाँडेजाउलाको खोजीमा


✍ श्यामकृष्ण लम्साल

फाँडेजाउलाको खोजीमा
आदिम युगबाट आधुनिक भनिएको
सभ्यताको यात्रा गर्ने क्रममा
हाम्रा पूर्वजहरूले
भस्मे र खोजिया फाँडेकै हुन् रे
जंगलको रुखको बोक्रा र कन्दमूल
त्यागेको भ्रममा
गृहस्थी जीवनको थिती बाँधेका थिए रे
इतिहासले यसै भन्दोरहेछ
अर्थात्, भनि पठाउँदो रोइछ
अहिले पनि फाँडेजाउलाको खोजीमै
आधुनिक भनिएको मान्छे
भएको घर भत्काउँदै
आन्दोलित अनि संघर्षशील नै रछ नि त !
कहिले आफ्नो माटोसँग लाप्पा खेल्दै
कहिले खाडी, युरोप, अमेरिकातिर हड्डी घोट्दै
कहिले मरुभूमिमा बाफिँदै
छटपटारहेको सुन्नु/बुझ्नुपर्दा
हिजो मुग्लानिएर
फाँडेजाउलो खोज्ने र,
अहिलेको खोज्नेक्रममा पनि
कसरी आधुनिक मान्छे भयो त आजको मान्छे ?
हाम्रा अग्रजहरूले हलो जोत्थे रे
हामी शिरदेखि तीरसम्म जोतिरहेका छौं
सपनाको घडेरीमा सपनाकै विल्डिङ ठोक्छौं
जानेसम्मको अलेखा सपना जोड्ने प्रयत्न गर्छौं
तर पनि संसारमै किन गरिव ठहरिन्छौँ ?
आखिर जन्मौँजन्म
फाँडेजाउलोमै संघर्ष गरिरहनुपर्ने भए
आजको मान्छे कसरी आधुनिक मान्छे हुन पुग्यो हँ ?

  • भोजपुर