चर्चामा आउन सबैलाई रेखा नै चाहिने !

चर्चामा आउन सबैलाई रेखा नै चाहिने !


चाहेको भए रेखा अरु कलाकारजस्तै उहिल्यै अमेरिकामै जम्न सक्थिन्, विदेशको मोजमस्तीमा रमाउन सक्थिन् । तर उनले कहिल्यै त्यस्तो सोच नदर्शाएबाट पनि आफ्नो मातृभूमि र आफूले गर्दै आएको सिनेकर्मप्रति उनको आत्मियता स्वतः प्रकट हुन्छ ।
✍ राजन घिमिरे

रेखा थापा सधैं चर्चामा ! चलचित्र विधाप्रति उनको समर्पण र निरन्तरता उनका खास विशेषता हुन्, जसले उनीप्रति सम्मानभाव जगाएको छ । नेपाली सिनेकर्ममा उनको शानदार उपस्थिति अनि आँटिलो प्रस्तुतिले उनलाई हरदम चर्चामा ल्याइरह्यो । अब त रेखाको चर्चा हुनु या उनका दैनन्दिनी तथा हर क्रियाकलापमा चासो र चर्चा चल्नु कुनै नौलो विषय पनि होइन ।

यहाँ भने अभिनेतृ रेखाबारे अलिक फरक प्रसङ्गमा चर्चा गर्न खोजिएको छ । यतिबेला पारिवारिक माहोलमा रम्न, नयाँ घरबारमा घुलमिल हुन र जीवनको अर्कोपाटोको यात्रा तय गर्न अमेरिका प्रवासमा रहेकी उनी चर्चाबाट टाढा रहनै सकिनन् । यसपटक उनले नचाहँदानचाहँदै पनि चर्चाको सामना गर्नु पऱ्यो । अर्थात्, उनको नाम भजाएर चर्चामा आउन खोज्ने ‘महारथी’हरूको संख्या लामै रह्यो भन्दापनि फरक नपर्ला ।

रेखा थापाको कुरा गऱ्यो भने वा उनका बारे अनापसनाप टीकाटिप्पणी गरियो भने, अझ गाली नै गर्न सकियो भने आफूसमेत चर्चामा आइने सोचबाट ग्रस्त छन् यहाँ कतिपय तथाकथित ‘सेलिब्रेटी’ भनिनेहरू नै ! यसर्थ नेतादेखि अभिनेतासम्म कतै हातमा माइक पऱ्यो क िअहिले ‘प्रग्नेन्ट’ अवस्थाकी रेखाको बारेमा तथानाम टीका-टिप्पणी गरिरहेका छन् । रेखालाई यो र उ विशेषण दिएर गाली गर्दा केही समय त ती नेता चर्चामा आए, तर राष्ट्रियताको कुरा गरेर रेखालाई गाली गर्ने उनै नेताको पारिवारिक वास्तवकता छताछुल्ल भएपछि उनलाई आफ्नै बोली घाँडो हुन पुग्यो । अहिले आफ्नो बोली आफै सच्याउँदै हिँड्न थालेका छन् ती नेता ।

यतिबेला आमा बन्ने तयारीमा पारिवारिक माहौलमा रहेकी रेखा थापा आफ्नै चलचित्र ‘उपहार’को रिलिज गर्ने तयारीमा छिन् । यस्तोबेला विनाप्रसंग असम्बन्धित विषय उछालेर उनलाई विवादमा तान्ने कोशिस गरिएको छ । समय–समयमा आफूविरूद्दका आरोप र गलत चर्चासँग उनले सामना गर्नुपरेको छ । रेखाको स्थानमा अरु महिला कलाकार हुन्थे भने यो अवस्था झेल्न सक्थे या सक्दैनथे– यसै भन्न सकिन्न, तर ‘हिम्मतवाली’ रेखालाई यस्ता आलोचनाले झन् शक्तिसाली तुल्याउँछ, उनमा अदम्य आँट र साहस रहेको तथ्य आलोचकहरूले सायद हेक्का राख्न सकेनन् !

रेखाले आफ्नो सन्तान जहाँसुकै गएर पनि जन्माउन सक्छिन्, उनको अधिकारको कुरा हो । त्यसमाथि उनका श्रीमान्को परिवार अमेरिका बस्दै आएको कारण पनि छिट्टै आमा बन्न लागेकी रेखा आफ्नो श्रीमान् एवम् घर-परिवारको साथ रहनु अपरिहार्य नै थियो । यस वास्तविकतालाई तोडमरोड गरेर स्यालहुइँया गर्नुको के तुक ? रेखाको निजी मामलालाई लिएर अरुले किन टाउको दुखाउने ?

अर्को कुरा रेखा यसअघि अमेरिका नपुगेकी पात्र पनि होइनन् । एक लोकप्रिय अभिनेतृ हुनुको नाताले उनले चाहेको बेला पटक-पटक अमेरिका यात्रा गरिसकेकी कलाकार हुन् उनी । चाहेको भए पहिले नै अमेरिका भासिन सक्थिन् रेखा, तर उनले त्यस्तो मोह कहिल्यै दर्शाइनन् । कैयन सहकर्मी कलाकार अमेरिका पलायन हुँदा पनि उनी नेपाली सिनेमाको श्री वृद्धि गर्नकै लागि खटिइरहिन् । नेपाली सिने-परिवेशलाई अगाध माया गरिरहिन् । अहिले गर्भवती भएको समयमा संयोगवश अमेरिका पुगिन् त के बिराइन् ?- रेखालाई नजिकबाट चिन्नेहरूले यतिबेला यस्तै धारणा प्रकट गर्नेगरेको सुनिन्छ ।

अमेरिकामा सन्तान जन्माइयो भने उसले स्वतः अमेरिकाको नागरिकता पाउँछ, यही अभीष्टबाट प्रेरित भएर रेखाले आफ्नो सन्तानलाई अमेरिकी भूमिमा जन्माउन खोजेकी हुन् भनी आरोप लगाउनेहरूलाई रेखाको जवाफ छ- ‘मेरो नजन्मिएको सन्तानको अरुलाई कत्रो चिन्ता र चासो ?! मेरो सन्तानको त के कुरा मैले चाहेको भए म पहिला नै अमेरिकी हुन सक्थेँ । तर म अमेरिका कहिल्यै बसिनँ । नेपाली सिनेमा सबै कुरा हो भनेर म लागिरहेँ, र जीवनभर समर्पित रहनेछु । मेरो विरोध र आलोचना गर्नेहरूको तुलनामा नेपाली सिनेकर्ममा मेरै लगाव तथा योगदान ज्यादा छ, यो मेरो घमण्ड होइन, वास्तविकता हो !’

हुन पनि हो…, रेखाको यो पहिलो अमेरिका-यात्रा होइन, चाहेको भए उनी अरु कलाकारजस्तै उहिल्यै अमेरिकामै जम्न सक्थिन्, विदेशको मोजमस्तीमा रमाउन सक्थिन् । तर उनले कहिल्यै त्यस्तो सोच नदर्शाएबाट पनि आफ्नो मातृभूमि र आफूले गर्दै आएको सिनेकर्मप्रति उनको आत्मियता स्वतः प्रकट हुन्छ । यस्तो यथार्थका बीच यसो र उसो भन्दै आलोचना गरेर रेखा जस्तो कलाकारलाई हतोत्साहित गर्न खोज्नु अत्यन्त निकृष्ट कार्य हो भन्दा फर नपर्ला । त्यसमाथि, रेखाको आलोचना गरेर आफैलाई ‘भाइरल’ बनाउने चाल हो यो भन्दा पनि अतिरञ्जना नठहरिएला ।