बुध्दि विकास मण्डलद्वारा कविता वाचन कार्यक्रम सम्पन्न

बुध्दि विकास मण्डलद्वारा कविता वाचन कार्यक्रम सम्पन्न


  • सुधाकर ढुंगाना, ललितपुर

सत्तरी वर्षअगाडि स्थापना भएको बुध्दि विकास मण्डलले आफ्नो वार्षिकोत्सवको अवसर पारेर कविता वाचन कार्यक्रम आयोजना गरेको छ । मण्डलको आफ्नै वाचनालय हलमा नेपाल प्रज्ञा प्रतिष्ठानका चर्चित कवि र स्थानीय क्लबका सहित करिब बीस जना कविहरूले विभिन्न छन्दमा कविता वाचन गरेका थिए।

खेलकुद र सामाजिक गतिविधिमा मात्र संलग्न रहेको मण्डल यसपटक साहित्यिक गतिविधिमा समेत देखापरेको हो । सामाजिक सञ्जालको बढ्दो प्रभावको परिवेशमा वर्तमान समयमा कविता श्रवण गर्न स्थानीय बुध्दिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कनिष्ठदेखि वरिष्ठ कविहरूको उपस्थिति रहेको उक्त समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राई प्रमुख अतिथि रहेका थिए ।

साहित्यका विविध विधाहरूमध्ये कविता प्राचीन विधा रहेको कुरा नकार्न सकिँदैन । पूर्व र पश्चिमका आचार्यहरूले पहिलेदेखि नै यस विधालाई चिनाउँदै आएका छन् । पूर्वीय आचार्यहरूले काव्य शब्दको परिभाषा गर्दा कवि शब्दलाई पनि एकै ठाउँमा राखेर यी दुवैका बीचको निकट सम्बधलाई प्रस्तुत गरेको कुरा क्लबका अध्यक्ष पवन राना मगरले बताए ।

समारोमा उपस्थित कविमध्य क्लबका आजीवन सदस्य द्वारिकानाथ खनालले आफ्नो कविता वाचन गर्दै कविद्वारा सम्पन्न कार्यलाई कविता भनिन्छ भन्ने धारणा राखे । ‘कवि’ले रचनाकार र ‘ता’ले कविको रचनालाई बुझाउने भएकोले त्यस्तो अदभूत रचना सुन्न पाउनु सबैको सौभाग्य भएको उनको तर्क थियो ।

बुध्दि विकास मण्डलका अध्यक्ष पवन राना मगरले कार्यक्रमका प्रमुख अतिथि भूपाल राईलाई मायाको चिनो प्रदान गरे भने क्लबका कोषाध्यक्ष केदार कार्कीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा ललितपुर महानपालिका वडा नं ५ का वार्ड अध्यक्ष विकासमान श्रेष्ठ र प्राज्ञ चेतनाथ धमलाले पनि आफ्नो विचार व्यक्त गरेका थिए ।