मनले भोजपुर खोजेको छ

मनले भोजपुर खोजेको छ


✍ श्यामकृष्ण लम्साल

तनभरि, मनभरि
गुराँस फुल्ने पाखाभरि
तिलाहारको गुफाको छेउमा बसेर
गाईबस्तु चराएका कथा सम्झँदा,
मरुभूमिको काखमा बाफिएर
आफूले आफैँलाई खोज्नुपर्दा
मभित्र व्यथाको बोट बढेको छ
मेरो मनले भोजपुर खोजेको छ ।

परेपानी धाराको पानी
नयाँघरे डाँडाको वरको बोट
चिलाउने बिसाउनेको चौतारो
बिरानो भएपछि
मभित्र व्यथाको बोट बढेको छ
मेरो मनले भोजपुर खोजेको छ ।

साइँली, माइली डाँडामा बसेर
चुलढुङ्गीमा चामल चौलिने
ए भोजपुरे तन्नेरीहरु हो !
तिमीभित्र भोजपुर बाँचेको छ कि छैन ?
मभित्र व्यथाको बोट बढेको छ
मेरो मनले भोजपुर खोजेको छ ।

  • दिङ्गला, भोजपुर