चितवनमा किसानले सडकमै पोखे दूध !

चितवनमा किसानले सडकमै पोखे दूध !


चितवनमा किसानले केन्द्रीय बस टर्मिनल चोकमा दूध पोखेका छन् । लामो समयसम्म भुक्तानी नपाएको र जिल्लाबाट उत्पादित दूधको बजारीकरणमा समस्या भएको भन्दै आइतबार उनीहरुले सडकमा दूध पोखेर विरोध जनाएका हुन् । उनीहरुले ८० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आवद्ध किसानले दूध तथा दुग्धजन्य पदार्थ बिक्री-वितरणमा सहज गर्नुपर्ने र किसानको दूधको भूक्तानी नियमित उपलब्ध गराउनुपर्ने माग राखेका थिए । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्लाबाहिर बिक्री गर्ने गरिएको छ ।

सङ्घका अध्यक्ष बिशोर बगालेले पाँच दिनदेखि जिल्लामा उत्पादित दूध बिक्री हुन नसकेको भन्दै बजारको सहजीकरणका लागि सरकारसँग आग्रह गर्दा सुनुवाइ हुन नसकेको गुनासो गरे । आफूहरुले प्रदेश सरकार र सङ्घीय सरकारका मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीलाई दुग्ध उत्पादक किसानको समस्याका बारेमा जानकारी गराउँदा पनि समस्या समाधान हुन नसकेपछि आन्दोलनमा उत्रनु परेको उनले जानकारी दिए ।

अध्यक्ष बगालेले भने, ‘चितवनका दुग्ध उत्पादक किसानले साउनयताको रु ५२ करोड निजी डेरी उद्योग र दुग्ध विकास संस्थानसँग लिन बाँकी छ । भुक्तानी समयमा नपाउँदा किसान मारमा परेका छन् ।’ दूधको भुक्तानी नपाउनु र दूध बिक्री नहुँदा पशुपालक किसान पलायन हुने अवस्थामा आएको उनको भनाइ छ ।

केन्द्रीय दुग्ध उत्पादक सहकारीका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले किसानका समस्याप्रति सरकारको ध्यान नपुगेपछि आन्दोलनमा आउनु परेको उल्लेख गर्दै भने, ‘विकल्पको खोजीमा हामी धेरै भौँतारियौँ । विकल्प नपाएर सडकमा आएका हौँ ।’ सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने भन्दै उनले बजारमा प्रतिबन्धित दुग्धजन्य वस्तु आउँदा समस्या भएको बताए । दुग्धउत्पादक किसानको समस्या समाधान नभए थप आन्दोलनमा जान किसान तयार रहेको उनको भनाइ थियो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले किसानका समस्या समाधान गर्न स्थानीय प्रशासनले तदारुकताका साथ काम गर्ने बताए ।

तस्बिर : रासस