‘तिलकप्रकाशको मेरो कथा मेरो व्यथा’ सार्वजनिक

‘तिलकप्रकाशको मेरो कथा मेरो व्यथा’ सार्वजनिक


पत्रकार दुलाललाई लेखनवृत्ति

उमेरले नब्बेको हाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समयदेखि लेखनलाई नै जीवन साथी बनाउँदै आएका तिलकको आत्मकथा मेरो कथा मेरो व्यथा र उनका विभिन्न कृतिका भूमिका समेटिएको पुस्तक एकैसाथ विमोचन भएको हो । भक्तपुरमा एक कार्यक्रमबीच लेखक तिलकप्रकाशका ‘मेरो कथा, मेरो व्यथा’ र ‘तिलक प्रकाशका कृतिहरूका भूमिका’ नामक दुई कृति विमोचन क्रमशः पूर्व सभामुख दमननाथ ढुङ्गाना र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले गर्नुभएको हो ।

कार्यक्रममा पूर्व सभामुख ढुङ्गानाले नेपालको राजनीतिक क्षेत्रमा तिलक प्रकाशको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले राजनीतिक रूपमा निष्ठावान व्यक्ति भएर पनि छलछामको राजनीति गर्न नजान्दा पछि परेको उल्लेख गर्दै साहित्यिक कर्मले तिलक प्रकाशको छवि उच्च बनेको चर्चा गरे ।

उनले साहित्यकार तिलक प्रकाशको जीवनका साथै विभिन्न लेख र विचारबाट वर्तमान राजनीतिक व्यक्तिहरूले पाठ सिक्नुपर्नेमा जोड दिए । उनले अहिलेको राजनीतिमा इमान हराउँदै जाँदा राजनीतिप्रति नै नयाँ पुस्ताको वितृष्णा बढिरहेको कारण राजनीतिक दलका नेताहरू सुध्रिनुपर्ने चर्चा गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति एवम् साहित्यकार विमल निभाले लेखक तिलकप्रकाशको साहित्य उँचो रहेको बताए । उनले तिलकप्रकाशलाई राजनीतिले भन्दा साहित्यले परिचित बनाएको उल्लेख गर्दै उनको नवीनतम कृतिका साथै वीर ग्रन्थ नामक पुस्तकबाट आफू ज्यादै प्रभावित भएको उल्लेख गरे । उनले लेखक तिलकमा राजनीतिकमात्र नभएर ऐतिहासिक चेतसमेत रहेकाले वीरहरूको जीवनी लेखन गरेर नेपाली साहित्यमा ठूलो योगदान दिएको बताए ।

अर्का लेखक एवम् चिन्तक ओमचरण अमात्यले लेखक तिलकको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै आफ्नो पुस्तकमार्फत जनाएको अभिव्यक्तिप्रति राजनीतिक दलहरू र नेपालीहरू सचेत हुनुपर्ने धारणा सुनाए ।

कार्यक्रममा सञ्चारकर्मी सन्जिव दुलाललाई तिशा इनले लेखन वृत्तिसमेत प्रदान गरेको थियो । तिशा इनले हरेक वर्ष भक्तपुरको कला, साहित्य, संस्कृति, लेखन विधामा क्रियाशील व्यक्ति तथा सङ्घ-संस्थालाई आर्थिक सहयोग गर्दै आइरहेको छ । सोही सिलसिलामा यस वर्ष पत्रकार दुलाललाई नगद पचास हजार पाँच रुपैयाँ प्रदान गरिएको तिशा इनका सञ्चालक प्रशान्त कायस्थले बताए ।

लेखक तिलकप्रकाशले आफूले जीवनमा भोगेका, अनुभव गरेका विषयलाई समावेश गरी आत्मवृत्तान्त लेखेको बताए । उनले सो पुस्तकका साथै अन्य पुस्तकहरू प्रकाशनमा सहयोग गर्ने अगिब बनेपाली र सुमी बनेपालीलाई सम्मान गरेका छन् ।