चिराइतोको मूल्य वृद्धिले किसान उत्साहित

चिराइतोको मूल्य वृद्धिले किसान उत्साहित


बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि सङ्खुवासभाका किसान उत्साहित भएका छन् । विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका हुन् । गत वर्ष चिराइतोको मूल्य कम हुँदा प्रभावित भएका किसान यो वर्ष मूल्यमा वृद्धि भएसँगै उत्साहित बनेका हुन् ।

अहिले चिराइतो प्रतिमन (४० केजी) रु ४४ हजारका दरले कारोबार भइरहेको चिराइतो व्यवसायी आङजुङ भोटेले जानकारी दिनुभयो । केही वर्षअघि प्रतिकिलोग्राम दुई सयमा कारोबार हुने गरेको चिराइतोको मूल्य प्रतिकिलोग्राम एक हजार एक सयमा किनबेच भइरहेको व्यवसायी भोटेले बताउनुभयो ।

सोलुखुम्बु, दोलखा, रामेछाप र ओखलढुङ्गाबाट सङ्कलन भएको पाँच हजार किलोग्राम चिराइतो काठमाडौँ पठाइसकेको उहाँले बताउनुभयो । सङ्खुवासभाको भोटखोला गाउँपालिका र भोजपुर जिल्लाबाट सङ्कलन गरिएको करिब दुई हजार आठ सय किलोग्राम चिराइतो जिल्लाबाहिर पठाउन लागिएको व्यवयासी भोटेले बताउनुभयो । हिमाली तथा पहाडी जिल्लामा चिराइतोलगायत जडीबुटीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा लिने गरिएको छ ।

चिराइतो चीन, भारत र बङ्गलादेश निकासी हुँदै आएको छ । किसानले यस वर्ष चिराइतोबाट राम्रो आम्दानी लिएको व्यवसायी भोटेले बताउनुभयो । आफू पनि जडीबुटी खेतीमा आबद्ध रहेकाले अन्य किसानको चिराइतो सङ्कलन गरेर बाहिर पठाएको उहाँको भनाइ छ । अहिले विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन् । ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, जिउ सुन्निएको, पोलेको रोगका लागि यसका पात, डाँठ, जरा औषधिका रुपमा प्रयोग हुने गरेको छ ।

rss