व्यवसाय बिस्तारका लागि कृषि विकास बैंक र ॐ हस्पिटलबीच सम्झौता

व्यवसाय बिस्तारका लागि कृषि विकास बैंक र ॐ हस्पिटलबीच सम्झौता


कृषि विकास बैंक लि. र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरबीच सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा बैंकका खातावाल ग्राहकहरुलाई हस्पिटलको ओपिडि सेवाका विभिन्न जाँचहरु, अन्तरङ्ग शैय्या शुल्क, रेडियोलोजी अन्तर्गतका अल्ट्रासाउण्ड, सिटीस्क्यान, म्यामोग्राफी लगायतका सम्पूर्ण जाँच तथा परीक्षण, प्रयोगशालाका विभिन्न परीक्षण, सबै किसिमका शल्यक्रिया, इण्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच, इसिजी, एको, इएमजी, पिएफटी, फार्मेसी सेवा, डेन्टल सेवालगायतको अन्य उपचार सेवामा विशेष छुट दिने व्यवस्था मिलाइएको छ ।

कृषि विकास बैंक लि।का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको समुपस्थितिमा भएको सम्झौतासमारोहमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने र हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेपालको निजि क्षेत्रको अग्रणी र प्रतिष्ठित स्वास्थ्य उपचार सेवा प्रदायक ॐ हस्पिटलमासँग सेवा व्यवसाय बिस्तार सम्झौता र बैंकका ग्राहक तथा कर्मचारी र परिवारजनले उपचारमा सहुलियत पाउनु सकारात्मक भएको धारणा राखे ।

त्यसैगरी ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले तीन दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटलले एकै छानामुनि आकस्मिक उपचार देखि सघन उपचारसम्म र पेन मेडिसिन र कस्मेटोलोजी लगायत ३७ वटा भन्दा बढी विषयमा विशेषज्ञतासहितको चिकित्सा सेवा उपलब्ध गराउँदै आइरहेको जिकिर गर्दै कृषि विकास बैंकसँग सेवाका लागि सहकार्यगरी अगाडि बढ्न पाउँदा खुशी लागेको बताए ।

२०२४ माघ ७ गते स्थापना भई २०४१ साल देखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कृषि विकास बैंकले हाल देशका सातवटै प्रदेशका सबै अर्थात् ७७ वटै जिल्लामा २८३ वटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले विभिन्न जिल्लामा एक्सटेन्सन काउन्टरहरु र एटिएम मेसिनहरुबाट पनि सेवा उपलब्ध गराउँदै आएको छ । समयसँगै बढ्दो डिजिटल प्रयोगलाई ध्यानमा राख्दै बैंकले आफ्नो मुल व्यवसाय कर्जा प्रवाह र जमानत सहित अन्य सेवाहरुलाई पनि डिजिटलीकरण गर्दै लगेको छ । स्मार्ट बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, पिओएस, क्युआर भुक्तानी, डेविट कार्ड, क्रेडिटकार्ड, एलसी, फरेक्स, अनलाइन एकाउण्ट, रेमिट, स्विफ्टलगायत आफ्ना सबै सेवालाई डिजिटाइज गरी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

काठमाडौं रामशाहपथ स्थित कृषि विकास बैंक लिमिटेडको मुख्य कार्यालय भएको सम्झौता समारोहमा बैंकका मार्केटिङ तथा सेल्स विभागका प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरु कमल ओझा, सुदिल घिमिरे र ॐ हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति रहेको थियो ।