महाशिवरात्री २०८० : विगतका कमी-कमजोरी नदोहोरिने गरी तयारी गरिँदै

महाशिवरात्री २०८० : विगतका कमी-कमजोरी नदोहोरिने गरी तयारी गरिँदै


व्यवस्थापन समितिहरू गठन

  • सुरेन्द्र सुवेदी, काठमाडौं

महाशिवरात्री २०८० लाई व्यवस्थित बनाउन कृयाकलापहरु तीव्र रुपमा भइरहेका छन् । शिवरात्रीमा पशुपतिनाथको दर्शन गर्ने र शिवरात्री मेला भर्नलाई करिव ५० लाख मानिस पशुपत क्षेत्रमा पुग्ने अपेक्षा रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले घटना र विचारलाई बताए ।

उनले भने, ‘पशुपति दर्शन गर्न आउने भक्तजनका लागि सहज र छिटो दर्शनको अवसर प्रदान गर्न कोषले तीव्रगतिमा कार्यसम्पादन गरिरहेको छ ।’

विगतमा ४/५ सय जनाको महाशिवरात्री पर्व व्यवस्था मूल समिति गठन गर्ने परम्परा यसपटक तोडिएको छ । चुस्त र दुरुस्त काम गर्न भन्दै यस पटक ४१ जनाको मात्र मूल समिति बनाइएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी बताउँछन् ।

उनले भने, ‘हामी विगतका कमी-कमजोरीको अध्ययन गर्दै छिटो, सहज र सुुलभ तरिकाले महाशिवरात्री पर्व मनाउन लागिरहेका छौं ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराँती अध्यक्ष रहेको मूल समितिमा सदस्य सचिव कोषका सदस्य सचिव खत्री छन् । यो समितिमा स्थानीय तहका प्रतिनिधिदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागदेखि मन्त्रालयका सचिवहरुलाई राखिएको छ ।

यही फागुन २५ गते मनाइने शिवरात्रीका लागि मूल समितिलाई सहयोग गर्न ८ वटा उपसमिति गठन भइसकेका छन् । सुरक्षा व्यवस्था उपसमितिमा कोषका सदस्य सचिव खत्री, स्वयंसेवा परिचालन व्यवस्थामा कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, मन्दिर दर्शन, चन्दन वितरण एवं रात्रीकालीन व्यवस्थामा कोषका सदस्य रामेश्वर संगत र प्रचार प्रसार तथा आवास योजना तथा भौतिक पूर्वाधार व्यवस्था उपसमितिमा कोष सदस्य वावुशरण सुवेदी संयोजक तोकिएका छन् ।

यस्तै, साधुसन्त तथा धार्मिक कार्यक्रममा कोषकै सदस्य हरिनाथ ढकाल, वातावरण सरसफाइ तथा जुत्ताचप्पल व्यवस्थामा रेणुका पराजुली, स्वास्थ्य सेवा व्यवस्थामा शिक्षित पराजुली र मेलाबजार साजसजावट व्यवस्था र तथ्याङक संकलन संयोजकमा डा भरतप्रसाद बडाल संयोजक तोकिएका छन् । यी उपसमिति संयोजकहरुले आवश्यकता अनुसार सदस्य मनोनयन गर्दै जिम्मेवारी पूरा गर्ने कोषका सदस्य वावुशरण सुवेदीले घटना र विचारलाई बताए ।

पशुपतिमा जुत्ता चप्पल राख्ने स्थान, लाइनको व्यवस्थापन र वृद्धवृद्धा तथा अशक्तहरुलाई सहज रुपमा दर्शनको व्यवस्था मिलाउन काम भइरहेको छ । अशक्त र वृद्धवृद्धाका लागि भूवनेश्वरी चोकबाट ५ वटा ह्वील चेयरमार्फत दर्शनको व्यवस्था मिलाइएको कोष जनाउँछ ।

कोषले शिवरात्रीका अवसरमा सुनचाँदीका गरगहना र महंगा जुत्ता चप्पल लगाएर नआउन आग्रह गरेको छ । भीडभाडमा चोरिने, हराउने संभावना रहनेहुँदा महंगा सरसामान प्रयोग नगरी आउने आग्रह गरिएको कोष जनाउँछ ।