मातृभाषा, शिक्षा र मधेश

मातृभाषा, शिक्षा र मधेश


अहिले मधेशमा शिक्षास्तरअन्य प्रदेशको तुलनामा खस्किँदो अवस्थामा छ । त्यसको प्रमुख कारण मातृभाषामा पढाइ नहुनु हो । कमसेकम एउटा विषयमात्र पनि मातृभाषामा पढाइ भयो भने आउने दिनमा विद्यार्थीमा पढाइप्रति रुचि जाग्दछ । जबकि घरमा सिकेको एउटा भाषा र स्कूल जाँदा अर्को भाषामा पढाइ हुँदा विद्यार्थीलाई पहाड बोकेझैँ अनुभूति हुन्छ ।
✍ राम एकवाल यादव

भनिन्छ, मातृभाषा मानिसको लागि सबथोक हो । जीवन-सङ्घर्षको दौडानमा मातृभाषाको अहम भूमिका हुन्छ । भाषा भनेकै विचार गर्ने यन्त्र हो । विचार तब जन्मन्छ जब आफ्नो भाषामा बोल्न, लेख्न र पढ्न पाइन्छ । मातृभाषा र स्थानीय विषय शिक्षालाई बेवास्ता गर्ने हाम्रो शिक्षाप्रणालीले राष्ट्रिय पाठ्यक्रमअनुसार तोकिएको उद्देश्यअनुरुपको नेपाली मौलिक, कला, संस्कृति र सौन्दर्य बुझेको नागरिक तयार होला ? बालबालिकाको दिमागमा पश्चिमा संस्कृति र बाहिरी आडम्बरी शिक्षा हुलेर यो सम्भव छैन ।

संस्थागत स्कूलले २५ के.जी वजन भएको बच्चालाई १० के.जी को झोला बोकाइरहेका छन् । त्यो झोलाभित्र आमाको काखबाट सिकेको भाषाको न एउटा किताब हुन्छ न त उसको गाउँ, परिवेश, समाज, इतिहास, संस्कृति र सभ्यता जोडिएको स्थानीय विषयको कुनै पुस्तक नै । विद्यार्थीलाई बच्चैदेखि अंग्रेजी घोकाएर अमेरिका र बेलाइत उड्ने मनोविज्ञान विकास गरिएको छ । अनि ऊ १० कक्षा पुग्दानपुग्दै परिवार नचिन्ने, समाज नबुझ्ने अर्कै मान्छे बन्छ ।

यतिबेलाको माहोल यो छ कि अमेरिकाको भिषा लाग्ने हो भने कोही पनि युवा नेपाल बस्दैनन् । यसरी आफ्नो देशप्रतिको मोह हराउने जनशक्ति उत्पादन हुनुमा हाम्रो शिक्षा प्रणाली मुख्य जिम्मेवार छ । त्यसकारण यस्तो शिक्षाबाट भोलिका दिनमा हाम्रो गाउँ, समाज र नेपाल भन्ने देश बनाउने जनशक्ति तयार हुन्छ कि युरोप, अमेरिका बनाउने जनशक्ति ? प्रश्न अत्यन्त मार्मिक छ ।

नेपालको तथ्यांकमा देखिएका १२३ भाषामध्ये ६ दर्जन भन्दा बढी भाषा आदीवासीले बचाइराखेका छन् । अहिले देशमा अंग्रेजी र नेपाली भाषा हाबी हुँदै गइरहेको छ । साथसाथै कोरियन भाषा, जापानीज भाषा र अरु देशका भाषाप्रति युवाको मोह बढ्न थालेको छ । त्यो स्वभाविक पनि हो । किनभने, त्यो जीवनयापनसँग जोडिएका विषय हुन् । यसै सन्दर्भमा उल्लेख गरौँ, एक समय जब भारतमा अंग्रेजी भाषा हाबी हुँदै जाँदा महात्मा गान्धीले भनेका थिए- ‘मातृभाषा भनेको आमाको दूध हो भने बेलाइती भाषा पाउडरको दूध ! आमाको दूधबाट जति बच्चा तन्दुरुस्त हुन्छ त्यति पाउडरको दूधबाट सम्भव छैन । पाउडरको दूधले दक्ष र बलियो जनशक्ति निर्माणमा टेवा पुऱ्याउँदैन ।’

नेपालको दोस्रो भाषा मैथिली हो जुन भाषा मधेशका अधिकांश जनताले बोल्ने गर्दछन् । अहिले दिन-प्रतिदिन मधेशका मैथली, भोजपुरी, अवधीलगायतका भाषाहरू लोप हुँदै गइरहेका छन् । त्यसलाई जोगाउने दायित्व सरकारको हुनुपर्छ । जबसम्म विद्यार्थीले आधारभूत शिक्षा आफ्नो मातृभाषामा पढ्दैन तबसम्म दक्ष नागरिक बन्न सक्दैन । अहिले मधेशमा शिक्षास्तर विभिन्न प्रदेशभन्दा खस्किँदो अवस्थामा छ । त्यसको प्रमुख कारण मातृभाषामा पढाइ नहुनु हो । कमसेकम एउटा विषय पनि मातृभाषामा पढाइ भयो भने आउने दिनमा विद्यार्थीमा पढाइप्रति रुचि जाग्दछ । जबकि घरमा सिकेको एउटा भाषा र स्कूल जाँदा अर्को भाषामा पढाइ हुँदा विद्यार्थीलाई पहाड बोकेझैँ अनुभूति हुन्छ । अनि विद्यार्थी अलमलमा पर्छ ।

भारतमा अंग्रेजी भाषा हाबी हुँदै जाँदा महात्मा गान्धीले भनेका थिए- ‘मातृभाषा भनेको आमाको दूध हो भने बेलाइती भाषा पाउडरको दूध ! आमाको दूधबाट जति बच्चा तन्दुरुस्त हुन्छ त्यति पाउडरको दूधबाट सम्भव छैन ।’

मधेशका अधिकांश कक्षा १० का विद्यार्थीलाई पनि नेपाली भाषा राम्रोसँग बोल्न आउँदैन । त्यसैले मधेश मूलका विद्यार्थी आफ्नो मैथिली भाषा पनि विद्यालयमा पढाइ हुनुपर्ने माग राख्दछन् । विद्यार्थीको परिवारमा बोलिने स्थानीय भाषा आफ्नो विद्यालयमा पढाइ हुने भए पनि उनीलाई केही रुचि हुन्थ्यो होला । विद्यालयमा अन्तर्राष्ट्रिय भाषा अंग्रेजी र नेपाली सिक्नैपर्ने हुन्छ, अनिवार्य नै गरिएको छ । नर्सरीमा भर्ना भएका विद्यार्थीका लागि भाषाका रूपमा यी दुई भाषा सिक्न नै धेरै समय लाग्छ ।

विश्वमा प्रचलनमा रहेका जुनसुकै भाषा लेख्नु वा बोल्नु राम्रो कुरा हो । यसले विद्यार्थीमा ज्ञानको भण्डार बढाउँछ र, विश्वको जुनसुकै कुनामा गएपनि प्रयोग हुन सक्छ । तर आफ्नो मातृभाषा वा स्थानीय भाषा नै नजानी अरु भाषा बोल्दा आफ्नै भाषा लोप हुने डर रहन्छ । त्यसलाई मध्यनजर गर्दै मधेशका केही विद्वानहरूले पाठ्यक्रमअनुसार मैथिली भाषामा किताबहरू लेखेका छन् । केही स्थानीय तहले मैथिली भाषामा पनि आधारभूत शिक्षा या ५ कक्षासम्म सय पूर्णाङ्कको पढाइन्छ । अहिले मधेशका आम मानिसको यस क्षेत्रका स्कूलमाथिको भरोसा न्यून हुँदै गइरहेको छ । अभिभावकहरूमा शिक्षणदेखि परीक्षासम्ममा सेटिङ भइरहेको छ भने बुझाइ बाक्लिएको छ । अनि उनीहरुले भन्न थालेका छन्- ‘दरिद्र भयो स्कूल ! न शिक्षा दिन सक्यो न संस्कार !’ त्यसकारण दिन-प्रतिदिन मधेश प्रदेशका विद्यार्थीहरू काठमाडौं, विराटनगर, चितवन र पोखराका साथै भारतका विभिन्न शहरमा पलायन हुँदैछन् । उदाहरणका लागि आधुनिक राष्ट्रिय मा.वि. हेटौंडामा सत्तरी प्रतिशतको हाराहारीमा गैरस्थानीय अर्थात् बाहिरका विद्यार्थी रहेका छन् । सो विद्यालयको कक्षा ८, ९ र १० मा १२८४ जना विद्यार्थीमध्ये ९२२ जना करिब ७५ प्रतिशत विद्यार्थी मधेशका जिल्लाका रहेको प्रधानाध्यापक रामसागर गुरागाईं बताउँछन् । त्यसैले शिक्षा देश र समाजका लागि हो । देश कस्तो बनाउने ? कस्तो समाज बनाउने ? त्यो स्कूल शिक्षाको मोडेल त्यसअनुसारको हुनुपर्छ । तसर्थ, स्कूलको मोडेल निर्धारण गर्नुअघि देश र समाजको मोडेल तय गरिनु पर्छ ।

अन्तमा, प्रत्येक भाषाको आफ्नै किसिमको बानीव्यहोरा हुन्छ, जसलाई अर्को भाषाका आधारमा अर्थ्याउन गाह्रो पर्दछ । त्यसैले भनिन्छ- दुनियाँमा कुनै पनि जात, समुदायमाथि शासन गर्नु छ भने सबभन्दा पहिला उसको भाषा खोसिहाल्नु । मधेशको शिक्षास्तरलाई सुधार्नु छ भने मधेशका विभिन्न संवैधानिक अंगहरू जस्तै- मधेश लोक सेवा आयोग, शिक्षक सेवा आयोगमा अनिवार्य मातृभाषामा परीक्षा लिने परिपाटीको व्यवस्था अवलम्बन गरियोस् । मातृभूमि, आमा र मातृभाषा भन्दा ठूलो संसारमा केही हुँदैन ।