सकियो राष्ट्रियस्तरको अबाकस प्रतियोगिता, कुन-कुन स्कुल भए च्याम्पियन ?

सकियो राष्ट्रियस्तरको अबाकस प्रतियोगिता, कुन-कुन स्कुल भए च्याम्पियन ?


राष्ट्रियस्तरको अबाकस प्रतियोगिता सम्पन्न भएको छ । बाल विकास एनसीमास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगितामा जुनियर, मिडिल र सिनियर लेवलको छुट्टाछुट्टै प्रतिष्पर्धा गराइएको थियो ।

पूर्व शिक्षामन्त्री, सांसद एवं नेपाली कांग्रेसका नेता दिलेन्द्र बडु प्रमुख अतिथि र गण्डकी प्रदेशसभा सदस्य टिकाकुमारी बस्याल विशेष अतिथि रहेको कार्यक्रममा एक सयभन्दा बढी विद्यालयका प्रतियोगी विद्यार्थी, शिक्षक र अभिभावकहरु सहभागी थिए ।

कार्यक्रममा मन्तव्य राख्दै पूर्वमन्त्री बडुले अबाकसलाई अनिवार्य विषयको रुपमा नै समावेश गराउनुपर्ने आवश्यकता औंल्याए । यसअघि आफूले अबाकसबारे केही बुझ्ने मौका पाएको स्मरण गर्दै उनले अबाकसलाई सरकारले नै पाठ्यपुस्तकमा अनिवार्य विषय बनाउनुपर्ने बताए । यसले बालबालिकाहरुको मस्तिस्कमा सुधार गर्न निक्कै सहयोग गर्ने भन्दै उनले आफ्नो तर्फबाट के–के सहयोग गर्नुपर्ने हो त्यो गर्ने आश्वासन दिए ।

कार्यक्रममा विशेष अतिथि गण्डकी प्रदेशसभा सदस्य टिकाकुमारी बस्यालले अबाकसको औचित्य झनै बढेर गइरहेको बताइन् भने विभिन्न व्यक्तिहरुलाई मायाको चिनोसहित सम्मान गरेकी थिइन् ।

प्रतियोगिताअन्तर्गत जुनियर लेबल (कक्षा १, २) तर्फ एन्जल्स प्याराडाइजका रोसिका नेपाल च्याम्पियन, नवनित टोडलर्स जोनका अबिका जोशी फष्ट रनरअप, काठमाडौं प्रज्ञा कुञ्जका रियान्स आचार्य सेकेन्ट रनरअप र ब्राइट फ्युचरका दिव्यान्त गिरि थर्ड रनरअप भए ।

त्यस्तै, मिडिल लेबल (कक्षा ३, ४) तर्फ पाथिभरा एकेडेमीका सुदिनमणी पौडेल च्याम्पियन, विभुति विद्या मन्दिरका संकल्प अमगाइ फष्ट रनरअप, एम्स एकेडेमीका सिद्धार्थ दाश सेकेन्ड रनरअप र कान्जिरोवा स्कुलका सार्थकनाथ गोपाली थर्ड रनरअप भए ।

त्यस्तै, सिनियर लेबल (कक्षा ५ भन्दामाथि) ब्राइट फ्युचरका निकिता झा च्याम्पियन, मेघा पब्लिक स्कुलका कृषला प्याकुरेल फष्ट रनरअप, कान्जिरोवा स्कुलका अबि भुजु सेकेन्ड रनरअप र ओडिसी इन्टरनेशनल एकेडेमीका प्रज्वल कट्टेल थर्ड रनरअप भए ।

यसअघि हरेक विद्यालयमा विद्यालय स्तरीय अबाकस प्रतियोगीता गरेर राष्ट्रियस्तरको प्रतियोगिताका लागि प्रतियोगी छानिएका थिए । राष्ट्रियस्तरको प्रतियोगितामा च्याम्पियन बनेकाहरुले अन्तर्राष्ट्रियस्तरको प्रतिष्पर्धामा सहभागी बन्न पाउने अवसर पाउने बाल बिकास एनसीमास संस्थाका तेजु नेपालले बताए । कार्यक्रममा उनले अबाकसको आवश्यकताबारे प्रष्ट पार्दै अझै यसलाई देशव्यापी बनाउने अभियानमा आफूहरु लागिपरेको बताए ।

कार्यक्रमलगत्तै च्याम्पियन बनेकाहरुले अबाकस आफ्नो विद्यालयमा लागु गराएकोमा विद्यालयसहित बाल विकास एनसीमासलाई धन्यवाद दिएका थिए भने शिक्षकहरुले पनि आफ्नो बालबालिकामा अबाकसले ल्याएको परिवर्तन देखेर निकै खुशी व्यक्त गरेका थिए ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार वर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले वैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ । बाल विकास एनसीमास संस्थामार्फत ३५० वटाभन्दा धेरै विद्यालयले अबाकस लागु गराएका छन् ।