कर्णालीका पाँच जिल्लामा पोषक तत्व थपिएको चामल वितरण सुरु

कर्णालीका पाँच जिल्लामा पोषक तत्व थपिएको चामल वितरण सुरु


  • सुरेन्द्र सुवेदी, काठमाडौं

कर्णालीका विकट जिल्लामा बसोबास गर्ने बासिन्दामा कुपोषणको मात्रा (ख्याउटेपन र रक्तअल्पता) बढी देखिएको र त्यसलाई कम गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामलमा थप पोषक तत्व मिसाएर बिक्री गर्न थालेको छ ।

साविकको कर्णाली अञ्चलका हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्लामा लिमिटेडले थप पोषक तत्व मिश्रण गरिएको चामल बिक्री थालेको हो । यी जिल्लाका लागि यो वर्ष ७३ हजार क्वीण्टल सूक्ष्म पोषक तत्व मिसाएको चामल वितरण लक्ष्य लिएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहनप्रकाश चन्दले घटना र विचारलाई बताए ।

सिइओ चन्दका अनुसार विश्व खाद्य कार्यक्रमको सहकार्यमा राजापुरस्थित आधुनिक राइस मिलमा चामलमा सूक्ष्म पोषण तत्व भएको Fortified Rice Kernels (FRK) लाई अन्य चामलमा मिश्रण गरेर तयार भएको Fortified Rice लाई ती पाँच वटा जिल्लामा चामल वितरण गरिँदै छ । यसमा नेपाल सरकारका विभिन्न निकायको संलग्नता पनि रहेको छ ।

लिमिटेडकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार ती जिल्लामा वितरण गरिने चामलमा १ प्रतिशत थप पोषक तत्व मिश्रण गरिन्छ । जस्तो ९९ किलो चामलमा १ किलो सूक्ष्म पोषक तत्व मिश्रण गरेर राजापुरको धान मिलमा ‘मोडिफाइ’ गर्दै ती खाद्यान्न कम उत्पादन हुने जिल्लामा लगेर वितरण गर्न थालिएको हो । खाद्यान्न कम हुने पश्चिमका विकट जिल्लामा व्यापारीहरुले पनि चामल पुऱ्याएर ब्यापार गर्न चाहदैनन् । ढुवानी भाडा अधिक हुनाले व्यापारीहरुले चामलको कारोबारमा खासै ध्यान दिँदैनन् । त्यहाँका बासिन्दालाई चामल आपूर्ति गर्ने एकमात्र माध्यम लिमिटेड हो ।

प्र्रवक्ता सुवेदीका अनुसार चामलमा थप पोषक तत्व मिश्रण गर्न जनकुपुरमा पनि मिल निर्माण भइरहेको छ । त्यो मिल निर्माणपछि पूर्व र मध्य नेपालका जिल्लामा पनि यस्तो चामल वितरण लक्ष्य लिमिटेडले लिएको छ ।

विश्व खाद्य कार्यक्रमले चामलमा थप पोषक तत्व मिश्रण गर्न आवश्यक पोषक तत्वदेखि पूर्वाधारमा लगानी गरेको छ । जसका कारण पोषक तत्व थप गरिएको चामल पुरानै मूल्यमा बिक्री गर्दै आएको लिमिटेड जनाउँछ । ती जिल्लामा मोटा चामल प्रतिकिलो ५२ र मध्यम चामल प्रतिकिलो ५५ रुपैयाँले बिक्री गरिन्छ ।