देश रंगमञ्चको पर्दा होइन

देश रंगमञ्चको पर्दा होइन


✍ श्यामकृष्ण लम्साल

ढयाङग्रो ठोकिरहेछन्-
धामी झाँक्रीहरु,
काँचो वायु, वीरमसान
भुतप्रेत लागेको छ
मन्साउनु पर्छ भन्दै
थान थापेर
जोखाना हेरेर
हा..हा र हुँ..हुँ गर्दै
देशका ग्रहदशा मन्साउँदैछौ भन्दै
तमासा देखाइरहेकै छन् विजुवाहरु
देश बिरामी भएको छ
उपचार गर्नुपर्छ भन्दै
एन्जेक्सन हानिरहेछन् डाक्टरहरु
नवनिर्माणको नाममा
भएकालाई भत्काइरहेछन् इन्जिनियरहरु
देश निको पार्ने वहानामा
जससँग जे छ त्यही चलाइरहेछन् विज्ञहरु
सबैलाई आश्चर्य पार्ने घटनामा
ताहुउरमाउरमै छन् घाटेवैद्यहरु
अनविज्ञ नै छ समय
आखिर देशलाई भएको चाहिँ के हो त ?
देशलाई लागेको रोगचाहिँ के हो त ?
महोदय,
देश कसैको रहर लहडमा चलाइने बस्तु होइन
देश परीक्षण गर्ने प्रयोगशाला पनि होइन
बन्द गर तिम्रा यावत नाटकहरु, देश रंगमञ्चको पर्दा होइन
देश रंगमञ्चको पात्र पनि त होइन।

  • दिङ्ला भोजपुर