अरुण तेस्रोको काम ७० प्रतिशत सकियो

अरुण तेस्रोको काम ७० प्रतिशत सकियो


सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको ७० प्रतिशत काम सम्पन्न भएको हो ।

आयोजनाको मकालु गाउँपालिका-५ स्थित फ्याक्सिन्दा दोभानमा बाँध धमाधम निर्माण भइरहेको छ । जम्मा २५ लाख ५६ घनमिटर खनेर बाँध निर्माण गर्नुपर्नेमा हाल २५ लाख ४८ हजार घनमिटर खनिसकिएको सतलज जलविद्युत् निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिएका छन् । बाँधस्थलबाट विद्युत् गृहसम्मको ११ किलोमिटर सुरुङ यसअघि नै खुलिसकेको छ  भने चिचिला गाउँपालिका-३, पुखुवा दोभानमा धमाधम विद्युत्गृह निर्माण भइरहेको छ  ।

परियोजनामा कुनै अवरोध नभएमा अबको करिब दुई वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ । परियोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले शेयर पाउने परियोजना विकास सम्झौता (पिडिए) मा व्यवस्था गरिएको छ  । परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई शेयर दिने पिडिएमा उल्लेख गरिएको छ  । पिडिएअनुसार परियोजनाबाट रु एक अर्ब ६० करोड स्थानीयलाई शेयर दिइने छ  ।

करिब एक खर्ब चार अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुने छ भने विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपियाँ आर्थिक लाभ मिल्नेछ  । विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत् निःशुल्क प्राप्त गर्ने छन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख गरिएको छ  । अरुण तेस्रो परियोजनामा यतिबेला नेपाली भारतीयसहित चार हजार कामदार कार्यरत छन् ।

जलविद्युत् उत्पादनको केन्द्र मानिएको सङ्खुवासभाको अरुण नदीमा अहिले चार वटा ठूला जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । किमाथाङ्का अरुण, माथिल्लो अरुण, अरुण तेस्रो र तल्लो अरुण परियोजना निर्माण भएपछि तीन हजार ८४ मेगावाट बिजुली उत्पादन हुनेछ ।