लासैलासहरु

लासैलासहरु


✍ श्यामकृष्ण लम्साल

इतिहास साक्षी राखेर
कमिलाहरुले
गँड्यौलालाई बोकेर हिँडेजसरी
मलामीहरु,
लास बोकिरहेका नै थिए
लासैलासको चाङको थुप्रो देखेर
एक अवोध बालकले सोध्यो
‘यो कसको लास हो ?’
साँच्चै भन्नुपर्दा
मलामीहरुलाई नै थाहा छैन
कसको लास होु ?!
मानवीय सम्वेदना र संस्कृतिको
मुल्य र मान्यताको
परम्परादेखि चलिआएका
रीतिरिवाज चाडवाड मौलिकताको
भावी पिँढीको अस्तित्वको
स्वाभिमानी स्वावलम्बी पौरखी जीवन्त इतिहास
हामी हाम्रै अस्तित्वको समयको
हामीले हाम्रै मृत्युलाई
आफैले देख्ने भए
सृष्टि कति सुन्दर हुन्थ्यो होला ?
मलामीका लास बोकाइसँगै
हामी आफै लासको थुप्रोमा
परिणत भएको थाहा पाए
फूल कति मुस्कुराउँथ्यो (हाँस्थ्यो) होला ?
थाहा पाए पनि, नपाए पनि
हामी आफैले, आफैलाई नै बोकिरहेकै हुन्छौँ नि
होइन र ?

  • दिङ्ला, भोजपुर