पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली

पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली


देशको पर्यटकीय राजधानी शहर पोखरामा विदेशी पर्यटक होलीमा रमाएका छन् । पर्यटकीय गन्तव्य लेकसाइडका सडकमा पर्यटक एकापसमा रङ्ग दलेर होली पर्व मनाएका हुन् ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेवाताल किनारमा होली महोत्सव आयोजना गरेको थियो । महोत्सवमा पर्यटक बाजागाजासहित नाचगान र विभिन्न रङ्गहरु अनुहारमा दलेर रमाएका हुन् ।

विभिन्न देशका पर्यटकहरुले एकापसमा रङ्ग दलेर होलीमा रमाइलो गरे । होली महोत्सवअन्तर्गत अम्मट चौतारामा आन्तरिक तथा बाह्य पर्यटकलाई सहभागी गराई सामूहिक रुपमा होली खेलिएको थियो । पञ्चेबाजा र गीत-सङ्गीतका साथमा होली मनाइएको रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले बताए ।

पर्यटक होली खेल्दै गौरीघाट, बाराहीचोक-हल्लनचोक हुँदै खहरेचोकसम्म पुगेका थिए । पोखरामा पाँच सय विदेशी पर्यटक होलीमा रमाएको रेवानले जनाएको छ ।

रेवानका अध्यक्ष भट्टराईले विगतदेखि नै होली पर्वमा विदेशी पर्यटकले रमाइलो मानेर सहभागी हुने गरेको बताए । रेवानले एक दशक अघिदेखि होली महोत्सव आयोजना गर्दै आएको छ । होलीमा रमाइलो गर्नका लागि भनेर कतिपय पर्यटकले पोखराको बसाइ लम्ब्याउने गरेको भट्टराईको भनाइ छ । उनले भने, ‘स्वदेशी मात्र होइन विदेशी पर्यटक होलीमा रमाउने गरेका छन् । कतिपय पर्यटकले आफ्नो देश फर्कने तालिका पछि सारेर होलीका लागि बस्ने गरेका छन् ।’

चीन, अमेरिका, बेलायत, अष्ट्रेलियालगायत देशका पर्यटक होलीमा रमाएका हुन् । पर्यटकलाई रमाइलो गराउनका लागि लेकसाइडको सडकमा पञ्चेबाजा, विभिन्न अङ्ग्रेजी गीत-सङ्गित तथा नृत्य प्रस्तुत गरिएको थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले फागू पूर्णिमा मनाउनका लागि स्वदेशी पर्यटकको गन्तव्य पोखरा बनेको बताए । होलीका लागि देशका विभिन्न भागबाट पर्यटक पोखरा आएको उनले जानकारी दिए । होली मनाउने उपयुक्त गन्तव्य पोखरा बन्दै गएको छ ।

  • तस्बिर : रासस