हुल-दंगा व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास

हुल-दंगा व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास


सुनसरीको इनरुवा नगरपालिका-४ स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण सुनसरीको कार्यालय परिसरभित्र हुल-दंगा व्यवस्थापनसम्बन्धी संयुक्त डेमोन्स्ट्रेशन अभ्यास संचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नंं. ४ गण सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त आयोजनामा चैत्र १६ गते संचालन भएको डेमोस्ट्रेशनमा सशस्त्र प्रहरी निरीक्षक निरकुमार कार्कीको कमाण्डमा ३५ जना र जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक बबिन राईको कमाण्डमा ३५ जना गरी ७० जनाले हुल तथा दंगा व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शन गरेका थिए ।

सुनसरी जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी बेदराज फुयालको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सुनसरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराई, नेपाली सेना कृष्ण दल गण इटहरीका प्रमुख सेनानी अमित लामा, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मी, नं. ४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक तुलसी कट्टेल, मानवअधिकारकर्मी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

स्थानीय प्रशासन ऐन २०२८ बमोजिम शान्ति सुव्यवस्था कायम गर्न गरिने बल प्रयोगका चरणहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न अभ्यास संचालन गरिएको बताइएको छ । संयुक्त अभ्यासले दुई सुरक्षा निकायबीच पारस्पारिक सम्बन्ध स्थापित हुनुको साथै संयुक्त रुपमा परिचालन हुनुपर्दा कार्यगत एकता कायम हुने, समन्वय र सहकार्यमा सहजता हुने, शान्ति सुरक्षा कायम गर्न महत्वपुर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।