गाँजा खाएर मान्छे मरेको छ ?

गाँजा खाएर मान्छे मरेको छ ?


गाँजा वास्तवमा यस धर्तीमा पाइने बहुगुणी वनस्पतिहरूमध्ये एक हो । यो रक्सी, चुरोट र सुर्तीजन्य बस्तुभन्दा कम हानीकारक र, चुरोट/सुर्ती खाएजस्तै सबै सजिलै अम्मलकारी पनि हुँदैनन् । ठीक्क मात्रा मिलाएर औषधिको रुपमा खाने हो भने यो त देवताहरूले समुन्द्र मन्थन गरेर निकालेको ‘अमृत’ सरह हो ।
✍ राजेन्द्र खनाल ‘क्षितिज’

तपाईंंलाई थाहा छ, सरकारले गाँजा किन प्रतिबन्ध गरेको ? तपाईंंले कहिले कतै सुन्नुभएको छ फलानो गाँजा खाएर मरेछ भनेर ? पक्कैपनि सुन्नुभएको छैन । किनकि, गाँजा खाएर मान्छे मरेकै छैन । हो, कसैलाई अरु रोग पनि छ र अत्यधिक गाँजाको सेवन गरेको छ भने मर्न पनि सक्ला । तर, गाँजा नै अधिक खाएर लठ्ठ होला, एकसुरिया होला, तथापि मर्न चैँ मर्दैन ! मान्छे मर्ने भनेको त रक्सी चुरोट अत्यधिक खाएर पो हो !

डाक्टरकोमा तपाईंं जँचाउन जाँदा, तपाईंलाई डाक्टरले कहिल्यै ‘गाँजा खानुहुन्छ ?’ भनेर सोधेको छ ? अहँ, पक्कै सोधेको छैन होला । डाक्टरले तपाईंलाई रक्सी, चुरोट पिउनुहुन्छ भनेर पो सोध्छ । किनकि यी चिजले तपाईंको मुटु, कलेजो, फोक्सो, मृगौला, रगत, मस्तिष्कलगायत विभिन्न अङ्गमा असर पार्दछ ।

अनि सरकारले चैँ किन यो ‘हरियो सुन’लाई प्रतिबन्ध गरेर रक्सी, चुरोट चैँ खुल्ला गरेको होला ? खाद्यको दोकानमा पनि रक्सी चैँ बेच्न पाउने ! दुर्गम क्षेत्रतिर बिरामी हुँदा सिटामोल पाईंदैन, तर रक्सी भने फालाफाल जताततै पाइने । विदेशबाट रक्सी, चुरोट आयात गर्न पनि छुट । देशमा डिस्टिलरी र कारखाना सर्वत्र बढेको बढ्यै छ । रक्सी चुरोट खाएर मान्छेहरूको कलेजो, फोक्सो लगायत शरीरका अङ्गहरूले काम गर्न छोडेको छ, मृत्युदर प्रत्येक वर्ष बढिरहेको छ । प्रतिबन्धित नै गर्ने हो भने रक्सी चुरोट गर न सरकार, किन गाँजा ?

तर अहँ ! सर्वत्र जाहेर छ, सरकार जनता धनी भएको हेर्न चाहन्न । सरकारलाई पश्चिमेलीको आदेश पनि छ, गाँजा फुकुवा नगर्नु भनेर । किनकि, नेपालको गाँजा विश्वमै एक नम्बर मानिएको थाइल्याण्डकै सरह छ ।

नेपालमा गाँजा सन् १९७२ सम्म खुल्ला थियो । काठमाडौंको झोसे, ज्याठाटोल, वसन्तपुरको भित्रीभाग लगायत ठाउँमा गाँजाबाट बनेका परिकार पनि पाइन्थ्यो । कफी, ब्रेड र मिठाइहरूमा पनि मात्रा मिलाएर गाँजा मिसाएर बेचिन्थ्यो गाँजाका क्याफेहरूमा । गाँजा नै मात्रको सेवन गर्नेहरू पनि प्रशस्त भेटिन्थे । संसारभरीबाट पर्यटकहरू गाँजा खान र, यसको स्वादमा मस्त हुन नेपाल आउँथे । त्यो बेला काठमाडौंलगायत देशका विभिन्न भागमा पर्यटकको चाप थामीनसक्नु नै थियो । पर्यटकहरूको बसाई अवधि पनि गाँजाले गर्दा लम्बिन्थ्यो । नेपालमा गाँजा र गाँजाबाट बनेका परिकारहरू पाइन्छ भन्ने सन्देश विश्वभरि फैलिएको थियो । झोँसे एरियामा त पर्यटकको थामी नसक्नुको घुइँचो नै हुन्थ्यो । होटेल व्यवशायी र अन्य व्यवशायमा लाग्नेहरूको आर्थिक लाभ मनग्य हुन्थ्यो । हिन्दी सिनेमा जगतका सुपरस्टार देवानन्दले हिन्दी फिल्म ‘हरेराम हरेकृष्ण’को छायाङ्कन काठमाडौंमै गराएका थिए । मस्त गाँजा खाएको दृश्य उक्त फिल्मभरि देख्न सकिन्छ ।

शहरी क्षेत्रमात्र नभइ देशका करिव २५ जिल्लाहरूले गाँजाबाट राम्रो आम्दानी गर्दथे । रुकुम, रोल्पा, सल्यान, जाजरकोट, डोटी, वागलुड., सिन्धुली, धादिङ, मकवानपुर र तराईका सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा, बारा, तौलिहवा लगायतका जिल्लाहरू त गाँजाको लागि प्रख्यात नै थियो । सरकारले नै गाँजा खेती गर्न दिन्थ्यो । पहाडी जिल्ला जहाँ कोदो, फापर मात्र हुन्थ्यो, त्यस्ता ठाउँमा पनि गाँजा आफै उम्रिन्थ्यो । खेती पनि गर्न नपर्ने, जताततै गाँजा नै गाँजा हुन्थ्यो ।

बिना परिश्रम आम्दानीको स्रोत थियो यो ‘सुनको बोट’ गाँजा ! त्यस क्षेत्रका महिलाहरू गाँजा नै बेचेर गरगहना लगाउने, सालभरिलाई अन्नपात किन्ने गर्दथे । बालबच्चाहरू स्कुल पठाउँथे, अनि वर्षभरि खानलाई प्रशस्तै पुग्दथ्यो । युवाहरू अहिलेको जस्तो कमाउन विदेश होमिनु पर्दैनथ्यो । अहिले त नेपालमा गाँजा प्रतिबन्ध गर्ने अनि विदेशबाट आयात गर्ने, यो कस्तो प्रणाली होला ?

नेपाल धनी भएको न अमेरिका देख्न चाहन्थ्यो न त पश्चिमेलीहरू नै । भारत पनि नेपाल आत्मनिर्भर भएको देख्न चाहन्नथ्यो । उनीहरू जसरी भएपनि गाँजालाई नेपालमा प्रतिबन्ध गराउनुपर्छ भनेर लागिपरे । उनीहरूको सोचाइ हुन्थ्यो, यदि यही क्रमले नेपाल अगाडि बढ्यो भने त नेपाल पनि धनी राष्ट्र बन्दछ !

जब सरकारले २०३३ सालमा गाँजालाई पूर्णरूपमा प्रतिबन्ध गऱ्यो, त्यसपछि बिस्तारै यी गाउँहरू वर्षदिन खान पनि नपुग्ने हुँदै भोकमरीको शिकार भएर गए । नेपाली र नेपाल धनी भएको हेर्न नचाहने पश्चिमेलीहरू र दक्षिणी नै थिए । तब त यसको प्रतिबन्ध गर्न मरिहत्ते गरि सबै लागिपरे । सन् १९६० देखि काठमाडौंमा पर्यटकको ओइरो लाग्न थाल्यो । अमेरिकालगायत युरोपका देशहरूबाट पर्यटक आउन थाले । उनीहरू गाँजामा मस्त हुन्थे, गाँजाबाट बनेका विभिन्न परिकारहरू पनि खान्थे । ती पर्यटकलाई त्यसबेला हामी ‘हिप्पी’ भन्थ्यौँ । यसरी ती हिप्पीहरूको बसाइ लम्बिँदै गयो । गाउँ, शहरको आर्थिक विकाश हुन थाल्यो ।

नेपाल धनी भएको न अमेरिका देख्न चाहन्थ्यो न त पश्चिमेलीहरू नै । भारत पनि नेपाल आत्मनिर्भर भएको देख्न चाहन्नथ्यो । उनीहरू जसरी भएपनि गाँजालाई नेपालमा प्रतिबन्ध गराउनुपर्छ भनेर लागिपरे । उनीहरूको सोचाइ हुन्थ्यो, यदि यही क्रमले नेपाल अगाडि बढ्यो भने त नेपाल पनि धनी राष्ट्र बन्दछ ! जो उनीहरू चाहँदैनथे । उनीहरू त बस्, नेपाललाई केही करोड बर्षेनी सहयोग गरेर उनीहरूप्रति नै निर्भर (परनिर्भर) भएको हेर्न चाहन्थे ।

पश्चिमेलीले नेपालमा गाँजा प्रतिबन्ध लगाउनु भन्दा राजा महेन्द्र टसमस भएनन् । राजा महेन्द्रको कूटनीतिक दृष्टिकोण विकसित राष्ट्रका नेताले पनि बुझ्न सक्दैन थिए । उनी प्रायः कालो चस्मा लगाएर हिँड्ने र भेटघाटमा पनि चस्मा कमैमात्र खोल्दथे । उनी निडर थिए, सबै देशले उच्च सम्मान पनि गर्दथे । अहिले त नेताहरू आदेशको पर्खाइमा हुन्छन् । त्यस्तै, अहिले काठमाडौंका मेयर बालेन शाह पनि राजा महेन्द्रकै पारामा कालो चस्मा लगाएर अगाडि बढिरहेका छन् ।

राजा महेन्द्रले विभिन्न उद्योगहरू (छालाजुत्ता, सिमेन्ट, धागो, कपडा, जुटमिल, चिनी, कागज उद्योग, रवर, कृषि औजार, घरेलु आदि खोल्दै गए । पाँचै विकाश क्षेत्रका शहरी क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणको अवधारणा ल्याए । धान चामल निर्यात कम्पनी खोलेर देशबाट चामल, गहुँ, मकै, दाल लगायत खाद्य सामाग्री निर्यात गर्न थाले । नेपाल धान बेच्ने पाँचौं ठूलो देश थियो । त्यो बेला थोरैमात्र कृषिजन्य सामाग्री आयात हुन्थ्यो । आज सबै यी उद्योगहरू धरासयी बने, अनि धेरै त बन्द भएका छन् । नेपाल पूर्णरूपमा परनिर्भर हुन पुग्यो । यो सबै सोच नभएका हाम्रा नेताहरूको कारणले नै हो ।

पश्चिमेलीले भन्दा राजा महेन्द्र टसमस भएनन् । त्यसपछि सबै पश्चिमेलीहरू मिलेर तत्कालिन अमेरिकन राष्ट्रपति रिचर्ड निक्सनलाई गुहारे । रिचर्ड निक्सनले राजा महेन्द्रलाई फोन गरेर भने, तिम्रो देशमा गाँजा प्रतिबन्ध लगाउनु पऱ्यो । हाम्रा नागरिकहरू देश फर्केनन्, अनि उनीहरू यहाँ आएपछि फेरि यहाँ पनि उनीहरू त्यही कुरा माग गर्न सक्छन् । त्यसैले तिम्रो देशमा खुल्लमखुल्ला यसरी गाँजा खान दिनुभएन, प्रतिबन्ध लगाउ ! राजा महेन्द्र मानेका थिएनन् । त्यसपछि निक्सनले प्रतिबन्ध नगरे हामी सबै अमेरिकन सहयोग बन्द गर्छौं भने । त्यसपछि राजा महेन्द्रले सन् १९७१ मा हुन्छ म पहल गर्छु भने । त्यसपछि राजा महेन्द्रले गाँजाबारे बिस्तृत प्रतिवेदन दिन मन्त्रिमण्डललाई भने । तर सन् १९७२ को जनवरी महिनामा (माघ १७, २०२८) मा चितवनको भरतपुरस्थित दियालो बंगलामा राजा महेन्द्रको रहस्यमयी मृत्यु भयो । त्यसबेला देशभर प्रवेशिका परीक्षा (एसएलसी) को परीक्षा चलिरहेको थियो । त्यसपछि यही कुरा निक्सनले १९७३ मा राजा वीरेन्द्रलाई आर्थिक लोभ देखाउँदै भने । राजा वीरेन्द्रले तुरुन्त पहल गर्ने कुरा गरे ।

सबैलाई थाहा भएको कुरा हो- गाँजा वास्तवमा यस धर्तीमा पाइने बहुगुणी वनस्पतिहरूमध्ये एक हो । यो रक्सी, चुरोट र सुर्तीजन्य बस्तुभन्दा कम हानीकारक र सबैले चुरोट, सुर्ती खाएजस्तै सजिलै अम्मलकारी पनि हुँदैनन् । ठीक्क मात्रा मिलाएर औषधिको रुपमा खाने हो भने यो त देवताहरूले समुन्द्र मन्थन गरेर निकालेको ‘अमृत’ सरह हो । यसैमा लठ्ठ भएर खाँदामात्र मान्छे एकोहोरो भएर जाने हो ।

सिंहदरबार बैद्यखानाले पहिला बनाउने गरेको ‘विजया’ लगायत ४८ वटा औषधि गाँजाबाट नै बनाइन्थ्यो । पछि प्रतिबन्धित भएपछि सन् १९८५ बाट चैँ पूर्णरूपमा सबै औषधिहरू बन्द भयो । गाँजाबाट बनिने यी औषधिहरूबाट पाचन तथा पेटसम्बन्धी रोग, स्नायुसम्बन्धी र टाउको दुख्ने, मानसिक रोग वा डिप्रेशन, शरीरको दुखाइ कम गर्ने र क्यान्सर जस्तो रोगमा पनि उपयोगी मानिएको छ ।

गाँजाको बोटबाट रेसा निकालेर जुत्ता, टोपी, कोट, ज्याकेट, म्याट, गलैँचा लगायतका सामाग्रीहरू पनि बनाइन्थ्यो त्यसबेला । नेपालमा पाइने अग्लो स्थानीय गाँजा आफै उम्रने, गोडमेल पनि गर्न नपर्ने प्रजातिको थियो । पछि कन्नाविस सटैभा र इन्डिका प्रजातिको पनि खेती हुन थाल्यो । नेपालमा गाँजा परापूर्वकालदेखि नै खेती गरिँदै आएको हो । गाँजा, मरिजुना, ह्यासिस, चरस सबै यसैबाट बन्छ, मात्र भाङ भने भाले बोटबाट बन्छ । गाँजामा २०० भन्दा बढी रसायन हुन्छ । सन् १९७२ सम्म नेपाल विश्वमै ह्यासिस उत्पादन गर्ने राष्ट्रको रुपमा प्रख्यात थियो ।

गाँजाखेती फुकुवा भएमा युवाहरू विदेश पलायन हुनबाट रोकिनेछन् । देशमै रोजगारीको अवसर मिल्नेछ । विदेशिएका नेपाली यूवाहरू पनि स्वदेश फिर्ती हुनेछन् । सबैजना आफ्नै गाउँठाउँमा यसको खेती गरेर आर्थिक लाभ लिनसक्ने हुनेछन् ।

आजपनि यूरोपका विभिन्न देशहरू माल्टा, लक्जम्वर्ग, स्वीजरल्याण्ड, नेदरल्याण्ड, जर्मनी, चेक रिपब्लिक (प्राग), स्पेन, पोर्तुगल लगायतका देशहरूमा पूर्ण रुपमा गाँजा बयस्कका लागि खुल्ला छ । अमेरिकाले नेपालमा गाँजा प्रतिवन्ध गर्न दबाब दियो, आज त्यही अमेरिका गाँजा उत्पादन गर्ने प्रमुख पाँच देशहरूमा पहिलो नम्बरमा छ । त्यस्तै, क्यालिफोर्निया विश्वकै सबैभन्दा ठूलो गाँजाको व्यापार बजार बनेको छ । न्यूयोर्क शहर विश्वमा नै ‘मरिजुना’ खपत गर्ने एकमात्र ठूलो शहर हो, जहाँ वर्षको सालाखाला ६२ टन खपत हुन्छ । त्यस्तै क्यानडा, जर्मनी, इटाली र उरुव्ये पनि मुख्य गाँजा उत्पादन गर्ने देशहरू मानिन्छन् । बेलायतमा गाँजा कानुनी दायरामा राखेर पनि औषधीय उपयोगको लागि निर्यात गर्नेमा अग्रस्थानमा छ । भारत र श्रीलंकामा पनि गाँजाको खेती शुरु भइसकेको छ ।

सबै विकसित मुलुकहरू प्रतिबन्धित लागूऔषध, गाँजाको औषधीय गुण र आर्थिक सम्भावना चिनेर धमाधम गाँजा युगमा फर्किन थालेका छन् । नेपाल भने अहिले पनि गाँजालाई फुकुवा गरेर, यसबाट फाइदा लिन ढिलो गरिरहेको छ । प्रतिबन्ध नगरेर यो ‘हरियो सुन’ त मेची-कालापानीसम्म प्रवर्द्धन र संरक्षण गर्दै बिस्तार गर्दै लानुपर्ने हो । म एउटा कृषिविज्ञको नाताले कृषकहरूलाई नगदेबालीबारे धेरै सिकाएँ । वास्तवमा गाँजा जस्तो छिटो नाफा दिने कुनैपनि नगदे बाली छैन ।

यो पङ्क्तिकार चेक रिपब्लिकमा भ्रमण गर्दा पर्यटकको घुइँचो देख्यो । पछि बुझ्दा थाहा भयो पर्यटकहरू गाँजा, मरिजुना खान यहाँ आउँदारहेछन् । प्रत्येक दोकानमा गाँजा पाइन्थ्यो । मैले पनि केही बट्टा पाउच (नेपालमा पाइने चैनी खैनी जस्तै) पुरिया किनेको थिएँ । एकजनाले १० ग्रामसम्म गाँजा मजाले बोकेर हिँड्न पाइन्थ्यो । नेदरल्याण्डमा पनि सजिलै किन्न पाइन्छ ।
यसरी गाँजालाई प्रतिबन्धित गर्दा मारमा पर्ने भनेको गरिव नेपालीहरू नै भए । जब २०३३ सालमा लागुऔषध (नियन्त्रण) ऐन बन्यो, गाँजाका सबै किसिमका खेती, उत्पादन, खरिद, बिक्री, निकासी, पैठारी र खान पनि प्रतिबन्ध लगाइयो ।

नबुझ्नेले गाँजालाई बोट भन्छन्, तर बुझ्नेको लागि भने यो औषधीय गुण भएको ‘सञ्जीवनी बुटी’ नै हो । काठमाडौंलगायत देशका विभिन्न भागमा शिवरात्री र फागुपुर्णिमाको दिन गाँजाको ठिक्क मात्रामा मिसाइएको मिठाइहरू पाइन्थ्यो । सबैले प्रसादको रूपमा ग्रहण गर्दथे । रमाइलोसँग, भजन, कीर्तन गर्ने, नाचगान गर्ने गर्थे ।

केही समयअघि नेपाली संसदमा गाँजाको औषधीय गुण र आर्थिक सम्भावना औंल्याउँदै विधेयक दर्ता भएको छ । नेपालमा प्रतिबन्धित भएको गाँजाखेती बारे अहिले संसदमा वैधानिकता हुनुपर्ने बहस भइरहेको छ । संसदमा बृहत बहसपछि सरकारले अहिले गाँजा फुकुवा गर्ने कि भनेर सोच अगाडि बढाएको देखिन्छ । यसलाई अविलम्ब खुल्ला गरियोस् । सरकारले यसको खेती, उत्पादन, निकासी पैठारी, व्यापार, प्रयोजन आदिको नीति, नियमावली, ऐन, कानून बनाउनुपर्ने हुन्छ । खासगरी गृह मन्त्रालयले कार्यविधि बनाएर गाँजा खेतीलाई नियन्त्रण र अनुगमनमा विशेष ध्यान दिइ लागु गर्नुपर्ने हुन्छ । तीव्ररूपमा अनुगमन गरोस् । औषधीय प्रयोग, पर्यटकहरूले पाउने कोटा, नेपाली बजारमा बिक्रीवितरण गर्ने प्रणालीको विकास गरोस् । यसो गरेमा पाँच वर्षमा नै नेपालका गाउँ, शहरमा आर्थिकरूपमा परिवर्तन भएको देख्न सकिन्छ । दस वर्षमा त नेपालले कायापलट नै गर्न सक्छ ।

गाँजाखेती फुकुवा भएमा युवाहरू विदेश पलायन हुनबाट रोकिनेछन् । देशमै रोजगारीको अवसर मिल्नेछ । विदेशिएका नेपाली यूवाहरू पनि स्वदेश फिर्ती हुनेछन् । सबैजना आफ्नै गाउँठाउँमा यसको खेती गरेर आर्थिक लाभ लिनसक्ने हुनेछन् । देशको जनशक्ति देशकै विकाशमा नै रहन्छ । त्यसैले सरकार अब प्रतिबन्धित गाँजा फुकुवा गरेर देशको आर्थिक समृद्धिमा टेवा पुऱ्याउन ढिला नगरौँ । अस्तु !

  • विजयपुर, धरान (हाल : बेलायत)