आठ रात नौ दिन मनाइने प्रसिद्ध बिस्का जात्राको तयारी

आठ रात नौ दिन मनाइने प्रसिद्ध बिस्का जात्राको तयारी


यही चैत २७ गतेदेखि सुरु भइ वैशाख ५ गते सम्पन्न हुने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य र भव्य रूपमा सम्पन्न गर्न आयोजक र सरोकारवालाबीच छलफल भएको छ ।

छलपलमा भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले बिस्केट जात्रा भक्तपुरको मात्र नभइ सिङ्गो देशको कला, संस्कृति र ऐतिहासिकताको पहिचान भएको तर्कका साथ जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न/गराउन आह्वान गरेका छन् ।

नगरप्रमुख प्रजापतिले भनेका छन्, ‘२०८० चैत २७ देखि २०८१ वैशाख ५ गतेसम्म सञ्चालन हुने आठ रात नौ दिनको बिस्का जात्रा सांस्कृतिक नगरको गौरव गर्न लायक जात्रा भएकाले निर्धारित समयमै सुरु गरी समयमै सम्पन्न गर्नुपर्छ ।’

छलफलमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा इन्जिनियरिङको हिसाबले पनि महत्वपूर्ण जात्राका रूपमा रहेको व्याख्या गरिन् ।

यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिस्का जात्रा अवसर र चुनौती मिश्रित भएकाले शान्तिपूर्ण रूपमा सम्पन्न गर्न/गराउने सबैको दायित्व भएको बताइन् । गुठी संस्थानको तालिकाअनुसार समयमै जात्रा सुरु गरी समयमै सम्पन्न गर्न उनको विशेष आग्रह थियो ।

प्रजिअ श्रेष्ठले बिस्का जात्राको समयमा जात्रा सञ्चालन हुने स्थानमा मदिराजन्य पदार्थको बेचबिखनमा रोक लगाउने र जात्रा अवधिभर शान्तिसुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले संवेदनशील भएर काम गर्ने बताए भने छलफलमा गुठी संस्थान भक्तपुरका प्रमुख खिमा ओलीको धारणा गुठी संस्थान कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार जात्रा सञ्चालन भएमा मर्यादित तथा शान्तिपूर्ण ढङ्गले जात्रा सम्पन्न गर्न सकिने भन्ने रह्यो ।

सोमबार आयोजित बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी, भैरवनाथ जात्रा सहयोग समिति, अस्पतालका प्रतिनिधि रसरोकारवालाको उपस्थिति थियो ।

file photo