सिटौलामाथि प्रचण्डले करौँती चलाएपछि…

सिटौलामाथि प्रचण्डले करौँती चलाएपछि…


काङ्ग्रेस नेता सिटौला नेपालको शान्तिप्रक्रियाका एक प्रमुख पात्र मानिन्छन् । केही महिनाअघिसम्म आफ्नो रोजाइमा रहेका सिटौलालाई ऐनमौकामा धोका दिएर उनले लगाएको गुनको उपेक्षा, अवमूल्यन र मानमर्दन नै गरे प्रचण्डले । सिटौलामाथि गरेको बेइमानीको मूल्य ढिलोचाँडो प्रचण्डका लागि महँगो पर्न सक्नेछ ।
✍ इ. महेन्द्र पराजुली

‘टावरिङ पर्सनालिटी’ नेपाली काङ्ग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सान्निध्यमा रही विश्वास पात्र भएर नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणमा समन्वयात्मक भूमिका खेलेका नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री एवम् पूर्व उपप्रधानमन्त्रीसमेत रहिसकेका नेता कृष्णप्रसाद सिटौलाका जीवनकालमा धेरै उतारचढाव आइ केही वर्षयता पार्टी र राष्ट्रिय राजनीतिको परिदृश्यमा ओझेलजस्तै थिए । उनी ‘फ्रण्टलाइन’मा देखिएनन् । पार्टीको १४औं महाधिवेशनपछि त सिटौला गुमनामजस्तै थिए राष्ट्रियसभा सदस्य हुनुअघि । २०७९ को आमनिर्वाचनमा झापा-३ बाट लगातार दोस्रो पटक पनि पुरानै प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएपछि झनै शिथिल बन्दै गए सिटौला । संविधानसभामा मस्यौदा समितिको सभापति हुँदा बढेको सिटौलाको कद र ओज खस्केको आभाष हुन्छ भने राजनीतिक यात्रामा कतै ‘ब्रेक’ लाग्ने होइन ? संशय गर्छन् राजनीतिक विश्लेषक ।

काङ्ग्रेसको १३औं महाधिवेशन हुने बेलासम्म संस्थापन समूहमै रहेका सिटौलाले सभापति सुशील कोइरालाको मृत्युपछि संस्थापन पक्षले रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउने भएपछि कित्ता परिवर्तन गर्दै तेस्रो समूह बनाए । आफ्नो धारबाट गगनकुमार थापालाई महामन्त्री र उमाकान्त चौधरीलाई कोषाध्यक्षमा प्रतिस्पर्धी बनाउँदै आफैं सभापतिको उम्मेदवार बने । पहिलो चरणमा ३२४ मत ल्याएका सिटौला दोस्रो चरणको मतदानमा भने निर्णायक बने । सिटौलाकै साथ र सहयोगमा शेरबहादुर देउवा पहिलो पटक सभापति चुनिए । त्यसयता निरन्तर सभापति देउवा खेमामा रहेर तेस्रो धारको नेतृत्व गरेका सिटौलाले देउवाबाट पार्टीभित्र र सत्ता दुबैतिर भागबण्डा लिँदै आए ।

१३औं महाधिवेशनमा आर्जित गरेको शक्ति १४औं महाधिवेशनसम्म आइपुग्दा भने टिकाउन सकेनन् सिटौलाले । गगनकुमार थापाले १३औं र प्रदीप पौडेलले १४औं महाधिवेशनपछि उनको साथ छोडिसकेका छन् । १४औं महाधिवेशनबाट गगन महामन्त्री र पौडेल केन्द्रीय सदस्य निर्वाचित भएका छन् । केन्द्रीय कार्यसमितिमा सिटौला निकट उमाकान्त चौधरी सहमहामन्त्री अनि केन्द्रीय समितिमा कुन्दनराज काफ्ले, तारामान गुरुङ, धना खतिवडा र शिव हुमागाइँ केन्द्रीय सदस्य छन् भने कोशी प्रदेशको प्रदेश सभापति उद्धव थापा छन् । अर्को महाधिवेशनसम्ममा यिनले पनि सिटौलाको साथ छोड्ने हुन् कि ? त्योचाहिँ समयले नै निर्धारण गर्ला ।

समानुपातिक बन्दसूचिको नाम फिर्ता लिएर यसअघि चार पटक सांसद र मन्त्री बनिसकेका आनन्दप्रसाद ढुंगाना माघ १४ गतेको निर्वाचनका लागि मधेश प्रदेशबाट उम्मेदवार छनौट भएपछि उनी निशानाको तारो बने । ढुंगानाको छनौटलाई लिएर सभापति देउवाको चर्को आलोचना भयो । अर्का पात्र कृष्णप्रसाद सिटौला भने कोशी प्रदेशबाट सर्वसम्मत चयन भए । उम्मेदवार छनौटको क्रममा गत आमनिर्वाचनमा पराजितलाई उम्मेदवार बनाउन नहुने अडान राख्दै आएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा अनि शीर्षनेता डा. शेखर कोइरालाले सिटौलाको विगतको योगदानका आधारमा राष्ट्रियसभा अध्यक्षको भूमिकाका लागि उम्मेदवार बनाउन सकारात्मक (पोजेटिभ) बन्दै ‘ग्रीन सिग्नल’ दिएपछि मात्र सिटौलालाई त्यस्तो अवसर प्राप्त भयो । ढुंगानाका हकमा उनी धनुषाबाट प्रतिनिधित्व गर्ने भए पनि मधेशी अनुहारको प्रतिनिधित्व नभएको भन्दै उनको चर्को विरोध भएको थियो । विवादैविवादबीच सभापति देउवाको हस्तक्षेपका कारण ढुंगाना पनि छनौट भए ।

सभापति देउवाको कार्यशैलीप्रति असहमति जनाउँदै महामन्त्रीद्वय थापा र शर्मा अनि केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीले आफ्नो फरक मत दर्ज गराएका थिए पार्टी संसदीय बोर्डको बैठकमा पुस २२ गते । महामन्त्री थापाले लेखेको फरक मतको अंश यस्तो छ, ‘यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखी निर्णय हुन्छ, सबै तह र तप्काका साथीलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एक पटक खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत कमजोर बनाउँछ । अतः आजको निर्णयप्रति मेरो लिखित असहमति रहेको छ ।’

प्रचण्डले काखमा राखेर पछाडिबाट छुरा प्रहार मात्र गरेनन् करौंतीसमेत चलाएर सिकारै गरे सिटौलाको । प्रचण्डका खुनी हातको औंलाले कलम चोबेर आफ्ना भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउन गरेको निर्णय सार्वजनिक भएसँगै सिटौला मर्माहत भए । राष्ट्रियसभा सदस्यको पद सिटौलाका लागि ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छाबाबुको अनुहार’ भन्ने उखानजस्तै बन्यो ।

राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार चयन गर्दा कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने र गत आमनिर्वाचनमा पराजितलाई टिकट नदिने पार्टीले निर्धारण गरेको मापदण्डविपरीत पुस २२ गते बसेको कार्यसम्पादन समितिको बैठकले केही विवादित व्यक्तिलाई छनौट गरेपछि त्यस्तो निर्णयको आलोचना र विरोध भयो ।

प्रतिनिधिसभामा लगातार दोस्रो पटक पनि पराजित भएपछि सक्रिय राजनीतिबाट विश्राम लिनखोज्दै गत वर्ष सम्पन्न राष्ट्रपति निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार बन्न इच्छा राखेका कृष्णप्रसाद सिटौलाप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक भए पनि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा बाधक बने सिटौलाका लागि त्यसबेला । जीवनको उत्तराद्र्धमा रहेका काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राजनीतिबाटै किनारा लाग्दै सन्याशै लिनुपर्ने परिस्थिति सिर्जना भएपछि १४औं महाधिवेशनमा आफूलाई सभापतिमा निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेलेका पौडेलको गुनको ऋण चुक्ता गर्न अनि त्यसैबेला राष्ट्रपतिका लागि दिएको वचन पूरा गर्न देउवा पौडेलको पक्षमा उभिएपछि पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बन्न सफल भएका थिए रामचन्द्र पौडेल । यहाँ स्मरणीय के छ भने त्यसैबेला देउवा र दाहालले अनौपचारिक समझदारी गर्दै सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने सहमति गरेका थिए ।

सत्ता गठनबन्धनको प्रमुख दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग विभिन्न प्रकरण र मुद्दामा मतभेद भइ दूरी बढ्दै सम्बन्धसमेत चिसिएको पृष्ठभूमिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले फागुन १६ गते पार्टीको स्थायी समितिको बैठकबाट आफ्नो पार्टीको तर्फबाट राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने औपचारिक निर्णय गराएपछि काङ्ग्रेस झस्कियो । प्रचण्डले आफ्नो पार्टीको तर्फबाट राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गर्दैगर्दा सहयात्री दलहरूसँग छलफल गर्न आवश्यकै ठानेनन् । हेक्का रहोस्, कमरेडलाई राष्ट्रपतिको निर्वाचनअगावै देउवा र दाहालबीच भएको सहमतिकै धरातलमा टेकेर गठबन्धनको तर्फबाट सिटौलालाई अध्यक्ष बनाउने योजनाका साथ कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाइएको होइन र ?

केही महिनाअघिसम्म आफ्नो रोजाइमा रहेका सिटौलालाई ऐनमौकामा धोका दिएर सिटौलाले लगाएको गुनको उपेक्षा र अवमूल्यन गर्दै मानमर्दन गरे प्रचण्डले । उनले काखमा राखेर पछाडिबाट छुरा प्रहार मात्र गरेनन् करौंतीसमेत चलाएर सिकारै गरे सिटौलाको । देउवा र दाहालको निकृष्ट खेलको भकुन्डो बन्न बाध्य भए सिटौला । प्रचण्डका खुनी हातको औंलाले कलम चोबेर आफ्ना भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउन गरेको निर्णय सार्वजनिक भएसँगै सिटौला मर्माहत भए । राष्ट्रियसभा सदस्यको पद सिटौलाका लागि ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छाबाबुको अनुहार’ भन्ने उखानजस्तै बन्यो ।

तत्कालीन संविधानसभाको निर्वाचनमा भाग लिँदै गर्दा माओवादीले देशभरि नै एउटा नारा घन्काएको थियो, ‘माओवादीलाई भोट दिऊँ, प्रचण्डलाई भावी राष्ट्रपति बनाऔं’ । नाराले पर्खाल रङ्गिएका थिए भने ब्यानर र पम्प्लेटले भित्ता भरिएका थिए । माओवादी अध्यक्ष कमरेड प्रचण्ड त भित्ते राष्ट्रपति बने नै, उनले गुथेको भित्ते राष्ट्रपतिको ताज सिटौलालाई समेत पहिऱ्याइदिए ‘भित्ते राष्ट्रियसभा अध्यक्ष’का रूपमा ।

फागुन २७ गते एकाबिहानै काङ्ग्रेस महामन्त्री गगनकुमार थापा र संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई साथैमा लिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सिटौलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई धोकेबाजको आरोप लगाउँदै यस्तो चुनौती दिए, ‘म तपाईंलाई चुनाव लड्दासम्मको गठबन्धनको नेकपा माओवादी केन्द्रको हैसियतमा रहनुभएका अध्यक्षसँग भेट्न आएको हुँ । तपाईंले गिरिजाप्रसादलाई त्यसबेला दिएको धोकासँगै मलाई अहिले पार्टीगतसँगै व्यक्तिगत रूपमा दिएको धोका सम्झाउन आएको हुँ । तपाईं त्यसबेला गिरिजाबाुबलाई दिएको धोकाका कारण पश्चात्ताप गरेको नाटक गरिरहनुभएको थियो, तर त्यो पश्चात्ताप होइन, नाटक रहेछ ! तपाईंले गरेको विश्वासघात र धोकाको श्रृङ्खला यत्तिमै टुङ्गियो भन्ने नठान्नुहोला । तपाईंसँग आज म राष्ट्रियसभा अध्यक्षको आकांक्षी होइन, नेपाली काङ्ग्रेसको राष्ट्रियसभा संसदीय दलको नेताको हैसियतमा भेटिरहेको छु ।’

गृहमन्त्री रहेकै बेला २०६३ असारमा माओवादी सुप्रिमो कमरेड प्रचण्ड र अर्का नेता डा. बाबुराम भट्टराईलाई कास्कीको सिकलेसबाट हेलिकोप्टरमा सवार गराएर प्रधानमन्त्री निवास बालुवाटारमा रातो कार्पेट बिछ्याएर उनीहरूको स्वागत र सत्कारमा जुटेका काङ्ग्रेस नेता सिटौला नेपालको शान्तिप्रक्रियाका एक प्रमुख पात्र मानिन्छन् । प्रचण्डले बेइमानी गरेको यो प्रकरणको हिसाबकिताबको मूल्य ढिलोचाँडो उनका लागि महँगो पर्न सक्ने विश्लेषण छ यो पंक्तिकारको ।

आफ्नो सिद्धान्त, मूल नीति, आदर्श, विचार मूल्य, मान्यता र संस्कार त्याग्दै लक्ष्मणरेखा नै पार गऱ्यो काङ्ग्रेसले । स्वेच्छाचारी सभापति देउवाले प्रहार गरेको खुकुरीको चोट अचानो बनेर सहन बाध्य भए काङ्ग्रेसका स्वाभिमानी, निष्ठावान् नेता कार्यकर्ता । लोकतन्त्रको पर्याय बन्दै आएको काङ्ग्रेसको भूमिका गौण बन्दै जानुमा उसको आधारभूत सैद्धान्तिक धरातलमा आएको विचलन र मूल्य स्खलन नै हो । यसको सम्पूर्ण जिम्मेवारी र जवाफदेहिता सभापति देउवाले लिनुपर्छ ।

गृहजिल्लाका आफ्ना आलोचकलाई भित्तैमा पुऱ्याउने अनि योग्यता, क्षमता भएका ऊर्जाशील कार्यकर्तालाई पाखा लगाएर आफ्ना वरिपरिका झुण्ड ‘एस् म्यान’सँगमात्र रमाउने आरोप खेप्दै आएका सिटौलाको एउटा मात्र पाटो खोतलेर पूर्वाग्रही भइ अर्को पाटो बिर्सियो भने त्यो उनीमाथि अन्याय हुन जान्छ । सिटौलाले नेपालको शान्तिप्रक्रियामा पुऱ्याएको अतुलनीय योगदानको प्रशंसा र उच्च मूल्याङ्कन गर्नैपर्छ । राजनेताको छवि बनाइसकेका व्यक्तित्वले झुण्डमा रमाउनुभन्दा त्यस क्षेत्रकै मियो बन्नु पर्दछ भन्ने मतसमेत रहेको छ कार्यकर्ताको ।

१३औं महाधिवेशनबाट शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको मूल नेतृत्व हत्याएपछि इतिहासमै सबैभन्दा कमजोर बनेको काङ्ग्रेस खस्कँदै गइ आफ्नो हैसियत र शाख गुमाउन पुग्यो । काङ्ग्रेसको घरको छानो त भत्कियो नै जगसमेत भत्काउने दुस्प्रयास गरे देउवाले । पार्टी सभापतिको बन्धक बन्दै काङ्ग्रेसले कहिले उग्र बामपन्थी कम्युनिष्ट त कहिले चरम दक्षिणपन्थी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बैशाखी टेक्न पुग्यो । आफ्नो सिद्धान्त, मूल नीति, आदर्श, विचार मूल्य, मान्यता र संस्कार त्याग्दै लक्ष्मणरेखा नै पार गऱ्यो काङ्ग्रेसले । स्वेच्छाचारी सभापति देउवाले प्रहार गरेको खुकुरीको चोट अचानो बनेर सहन बाध्य भए काङ्ग्रेसका स्वाभिमानी, निष्ठावान् नेता कार्यकर्ता । देउवा सिङ्गो पार्टीको मियो नबनेर एउटा झुण्डको मुखिया मात्रै बन्दै आएका छन् ।

लोकतन्त्रको पर्याय बन्दै आएको काङ्ग्रेसको भूमिका गौण बन्दै जानुमा उसको आधारभूत सैद्धान्तिक धरातलमा आएको विचलन र मूल्य स्खलन नै हो । यसको सम्पूर्ण जिम्मेवारी र जवाफदेहिता सभापति देउवाले लिनुपर्छ । त्यसो त देउवाले गरेका अक्षम्य गल्ती र दोषीमा देउवापत्नी आरजु देउवा (राणा), प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, मिन विश्वकर्मा, मोहनबहादुर बस्नेत, महेन्द्र यादव, किशोरसिंह राठोर पनि भागिदार छन् । दोषको धेरै अंशको नैतिक जिम्मेवारी आरजु भाउजूले लिनुपर्छ । सत्ताका पारखी देउवा र उनका किचन क्याबिनेटका सदस्य सत्ताबाहिर रहँदा पानीबिनाको छटपटाएको माछाजस्तै हुन्छन् भने सत्ता प्राप्त भएपछि उनमा उन्माद चढ्छ । देउवालाई सत्ताको मात र बात दुवै लाग्दै आएको छ । देउवा तिनै पात्र हुन् जसले तानाशाही निरङ्कुश राजा ज्ञानेन्द्रबाट निगाहाबक्स भएको अलङ्कार छातीमा भिरेर प्रजातन्त्र राजा ज्ञानेन्द्रलाई लगेर बुझाएका थिए । त्यति मात्र होइन निर्वाचन गराउन नसकेको आरोपमा राजा ज्ञानेन्द्रको बर्खास्तीमा परेका देउवालाई उनै राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीमा पुनः नियुक्त गरेपछि ‘गोरखाका राजाले न्याय दिए’ भनि ज्ञानेन्द्रका पाउमा सभक्ति कृतज्ञता चढाएका थिए । लोकतान्त्रिक पार्टीको नेताको खोल ओढेर पार्टीमा निरङ्कुश र तानाशाही हुने अभ्यास गर्दै आएका शेरबहादुर देउवा ‘इम्पेरियर न्यू क्लोथ’ को बादशाहको भूमिकामा देखिँदै आएका छन् ।

इतिहासको कालखण्डमा खरो उत्रँदै डेमोक्रेटिक धारको नेतृत्व गर्दै आएको देशकै सबैभन्दा जेठो पार्टी काङ्ग्रेसले आज आएर हात पसारेर अनि अञ्जुली थापेर अरूको निगाहा र खटनपटनमा मागी खानुपर्ने, आफ्ना कार्यकर्ताको आलो रगतले लतपतिएको माआवादी सुप्रिमो कमरेड प्रचण्डको रक्तरञ्जित खुनी हातबाट ‘भिख’ लिनुपर्ने अनि १७ हजार नेपाली नागरिकको घाँटी रेटेर कमरेडले तयार गरेको रगतको आहालमा काङ्ग्रेसलाई पौडी खेलाउने, त्यस्तै गरेर काङ्ग्रेसको सिद्धान्त, दर्शनको थैली सजाएको किस्तीमा राखेर प्रचण्डका पाउमा चढाउँदै उनकै आरती उतार्दै आएका काङ्ग्रेस सभापति शेरबहादुर देउवाको जान-अन्जानमा सारथी बनेर फड्के किनाराको साक्षी बस्नुचाहिँ सिटौलाले गल्ती गरेकै हुन् भन्छन् काङ्ग्रेसका कार्यकर्ता ।

(लेखक शहीद श्रीप्रसाद पराजुलीका सुपुत्र हुन् ।)