हिन्दीमा हेमन्तको सिर्जना : ‘कैसा मन मस्ताना प्यारे’

हिन्दीमा हेमन्तको सिर्जना : ‘कैसा मन मस्ताना प्यारे’


गीतकार डा. हेमन्त खतिवडाको हिन्दी गीतको पुस्तक ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित भएको छ । विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकारले यस संग्रहमा समेटेका छन् ।

यस कृतिमा दुई शय वटा हिन्दी गीतहरु रहेका छन् भने दुई शय पृष्ठमा किताब तयार भएको छ । गीतहरु प्रेमगीतको प्रचलित परम्पराभन्दा फरक किसिमले लेखिएको छ ।

गीतकार खतिवडा भन्छन्- ‘प्रेम भनेको सतही विषय नभइ यसको आफ्नै दर्शन छ । प्रेमगीतलाई पनि म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ।’

ओम प्रकाशन दिल्लीले प्रकाशन गरेको यस कृतिको मूल्य भारु. २०० रहेको छ ।

‘कैसा मन मस्ताना प्यारे’भित्रका गीतको बनोट र प्रस्तुतिका जुन तरिका छन् ती कलात्मक र बिम्बात्मक छन् । शव्दहरू सरल छन् तर ती शब्दले बोक्ने भाव गम्भीर छन् ।

प्रतिभाशाली युवा सर्जक हेमन्तका गीतहरुमा प्रेमको मनोविज्ञान अनौठो तबरले घुलित भएका छन् । शब्द शब्दमा गहिरो मनोविज्ञान सम्प्रेषण गर्न गीतकार खप्पिस छन् ।

विवाहको विषयवस्तुमा पनि उनले केही गीत लेखेका छन् । यस पुस्तकमा प्रस्तुत गरिएका गीतहरुमा प्रेमका विभिन्न स्वरुपलाई विभिन्न आयामबाट ब्याख्या गरिएको छ । सरल र गेयात्मक रुपमा प्रेमको विषय समेटिएको यस संग्रह रोमान्टिक गीतहरुको संग्रह नै बन्न पुगेको छ । खतिवडाका दर्जनौं नेपाली गीत चर्चित छन् ।