विराटनगरमा कविता र गजल मेहफिलको रौनक

विराटनगरमा कविता र गजल मेहफिलको रौनक


कोशी प्रदेशको सेरोफेरोमा रहेका दश साहित्यकारहरुलाई एउटै मञ्चमा उभ्याएर कविता तथा गजल मेहफिल सञ्चालन गरिएको छ । लेखनाथ वाचनालय मोरङले सो अवसरको सिर्जना गरेको हो । मेहफिलमा सीमा आभाष (मोरङ), विराट किराँती (सुनसरी), शिवनारायण सिङ्गल (मोरङ), दिपा मग्राती (सुनसरी) र केशव रिमाल (सुनसरी)ले दुई/दुईवटा कविता वाचन गरेका थिए ।

दोस्रो चरणमा मधु पोखरेल (मोरङ), कविता केशरी (मोरङ), विवशवलिभद्र कोइराला (इलाम), रोमु अधिकारी (सुनसरी) र वविता भुजेल (मोरङ) ले तीन तीन वटा गजल वाचन गरे । प्राज्ञ विवश पोखरेले साहित्य लेखनको उर्वर क्षेत्रबाट चुनिएका युवा र अग्रज पुस्ताका श्रष्टाहरुले कविता र गजलका माध्यमबाट समसामयिक सामाजिक र राजनीतिक विसंगतिप्रति कटाक्ष प्रहार गरेको विचार व्यक्त गरे ।

वाचनालयकी अध्यक्ष सीता लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा ५० भन्दाबढी साहित्यकार तथा स्रोताले मेहफिलको रौनकतामा रमाउने अवसर पाएका थिए ।