अम्बिका खरेलको कविता कृति सार्वजनिक

अम्बिका खरेलको कविता कृति सार्वजनिक


  • प्रेम ओझा, विराटनगर

साहित्यकार अम्बिका खरेल उप्रेतीले ‘अन्धकारमा जून’ नामक कविता सङ्ग्रह प्रकाशनमा ल्याएकी छन् । विराटनगर साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रममा डा नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानका अध्यक्ष सरला चापागाई, पाज्ञ विवश पोखरेल, अग्रज साहित्यकार वलराम पोखरेललगायतका साहित्यकारले सो कृतिको लोकार्पण गरेका हुन् ।

साहित्य सङ्गमले हरेक महिना सञ्चालन गर्ने नियमित साहित्यिक भेटघाटको २१३ औं श्रृङ्खलाको अवसरमा सो कृति सार्वजनिक गरिएको हो । कृतिको साहित्यकार हरिप्रसाद बरालले समीक्षा गरेका थिए । साहित्यकारहरु भरत गुरागाईँ ‘बरबरिक’, शिवनारायण पण्डित, कविता केशरी, प्रिन्स प्रमोद ढकाल, भवानी पोखरेल, रिता पाठक, रामबाबु दहालले अम्बिका खरेलका कविता वाचन गरेका छन् ।

साहित्यकार राममणि पोखरेल, सरला चापागाईँ, बलराम पोखरेल, पाज्ञ विवश पोखरेले कविता कृति र अम्विका खरेलको कविता लेखनबारे चर्चा गरे । नियमित श्रृङ्खलाअन्तर्गत नानुमैया दाहाल, रोहिणी रसिक, जमुना पौडेल, अतुल पोखरेल, प्रेम ओझालगायतका साहित्यकारले रचना वाचन गरेका थिए ।

सार्वजनिक गरिएको कविता संग्रह विराट साहित्य सङ्गमले प्रकाशन गरेको हो । कार्यक्रमको सभापतित्व सङ्गमका अध्यक्ष मधु पोखरेलले गरेका थिए ।