गोरखाको मनकामना देवीकेन्द्रित अष्टमातृका धार्मिक सर्किटको विकास सम्बन्धमा छलफल

गोरखाको मनकामना देवीकेन्द्रित अष्टमातृका धार्मिक सर्किटको विकास सम्बन्धमा छलफल


मुग्लिङ (चितवन)

हिन्दू धर्मको शाक्त सम्प्रदाय, नाथ सम्प्रदाय, काठमाडौं उपत्यकामा केन्द्रित नेवारी बज्रयान पराम्परा, बोधिसत्व आर्य अवलोकितेश्चर पूज्ने बौद्ध महायानी धर्मालम्बीहरुले समेत दर्शन र पूजाआजा गर्ने नेपालकै प्रसिद्ध शक्तिपीठका रुपमा रहेका गोरखा जिल्लाको मनकामना भगवती र सो भगबतीको वरपर चारै दिशमा सदियौ देखि बिराजमान धर्म रक्षक र संरक्षकका रुपमा रहेका अष्ट मातृका देवीहरु चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा पर्ने इच्छाकामना देवी, गोरखा जिल्लाको शहीद लखन गाउँपालिकमा पर्ने त्रिवेणी, बक्रेश्चरी देवी, तन्हूँ जिल्लाको आबुँ खैरेनी गाउँपालिकमा पर्ने छिम्केश्चरी, बूढीकन्या, अन्नपूर्ण र अकला देवीलाई एक अर्कामा जोडी धार्मिक सर्किटको रुपमा विकास गर्ने उद्देश्यले स्थानीय तह र सरोकारवालाहरुको बीच अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ।

धार्मिक सर्किट विकास अभियानको संयोजक सामाजिक अभियन्ता रामबहादुर लामाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश बहादुर थापा मगर, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, इच्छाकामना गाउँपालिकाको उपाध्यक्ष माया सिलवालले आफ्नो सम्बोधनको क्रममा यस अवधाराणालाई कार्यान्बयनको क्रममा साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

देवी परिक्रमामा आधारित धार्मिक पर्यटन, पर्या-पर्यटन, रैथाने कृषि उत्पादन र साहसिक खेल पर्यटनको प्रचूर सम्भावना रहेको यस क्षेत्रमा स्थानीय, प्रदेश र संघीय तीनै सरकारको सहभागिता र निजी क्षेत्रको सक्रियतामा अघि बढन आब्ह्रान गर्दे प्रमुख अतिथि बागमती प्रदेश सांसद कृष्णप्रसाद सिलवालले यस परियोजनालाई राष्ट्रिय स्तरको कार्यक्रमको रुपमा महत्च दिइ लागू गर्न सविशेष पहल गर्ने कुरा बताउनुभयो ।

आन्तरिक तथा बाह्रय पर्यटकको आकर्षणको केन्द्रको रुपमा यस क्षेत्रलाई धार्मिक पर्यटनको हबको रुपमा बिस्तारित गर्ने पर्याप्त सम्भाबना बोकेको यस क्षेत्रको बिकासको निम्ति बिगत केहि समयदेखि यस अभियानले विभिन्न प्रर्बद्धनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ। अन्तरसंवाद कार्यक्रमका अन्य वक्ताहरुमा गण्डकी प्रदेशमा पूर्वसांसद मीन कुमारी गुरुङ, इच्छाकामना गापाका निवर्तमान अध्यक्ष गीता गुरुङ, त्रिवेणी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सूर्य गुरुङ, इच्छाकामना मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष यानबहादुर गुरुङ, समाजसेवी एवम् नेकपा एमालेका युवानेता कुमार श्रेष्ठ हुनुहुन्थ्यो ।

राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, होटेल ब्यवसायी, बुद्धिजीवी, उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्शका स्थानीय प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रमा अभियानका संयोजक राम बहादुर लामाले धार्मिक सर्किटको परिचय, पराम्परा र प्रचलनका सम्बन्धमा अवधाराणा पत्र प्रस्तुत गर्नुभएको थियो।

ज्ञातव्य छ, त्रिवेणी मन्दिरको जल अभिषेक गरेपश्चातमात्र मनकामना देवीको पूजाको पूर्णाहुति हुने परम्परा रही आएको छ ।