नेपाल प्रहरीका अब्बल भिडियो निर्देशक प्रदीप हमाल

नेपाल प्रहरीका अब्बल भिडियो निर्देशक प्रदीप हमाल


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपाल प्रहरीको संगीत विद्यालयअन्तर्गत सांस्कृतिक शाखा सम्हालेका छन् प्रहरी नायव निरीक्षक (सई) प्रदीप हमालले । अभिनय र निर्देशनमा पारंगत हमालले गणतन्त्र दिवसको अवसरमा ७ सय जनाभन्दा बढीलाई कोरियोग्राफीको निर्देशनसमेत गरिसकेका छन् । ‘पृथ्वीको गर्व..’ बोलको गीतमा एकसाथ पाँच सय जनालाई कोरियोग्राफी निर्देशन गरेको अनुभव पनि छ सई हमालसँग ।

२०३७ साल असार १४ मा सिन्धुलीको दुधौली-८ मा स्वर्गीय रामबहादुर र होमकुमारीका सन्तान भएर जन्मिएका प्रदीपले २०५९ देखि कलाकारिता सिक्न थाले । प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका उनले प्रहरीकै पूर्व निरीक्षक वरिष्ठ नृत्यनिर्देशक स्यानेबहादुर रानासँग कलाकारिता एक वर्ष सिके । र, त्यसपछि निरन्तर सिकाइ एवम् व्यवहारिक रुपमा गीत, भिडियोहरु निर्देशन र अभिनयसमेत गर्दै आएका छन् ।

साहित्यकार तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेक तामाङले रचना गरेको ‘नेपाल आमा…’ गीतको भिडियो निर्माणमा हमालले निर्देशनको पाटो सम्हाले । अर्काे ‘जय नेपाल’ बोलको एआइजी तामाङकै शब्द, बुद्ध लामाको स्वर र विश्वनाथ झाको संगीतयुक्त गीतको भिडियो पनि उनकै निर्देशनमा तयार भएको हो । शिरैमा सानको टोपी छ मेरो… बोलको अगोम गुरुङले लेखेको र हर्क थुलुङ, राजेश गुरुङले स्वर दिएको तथा सुशील विश्वकर्माले संगीत भरेको भिडियोको पनि डाइरेक्सन उनले गरेका हुन् ।

भुपेन्द्र रायमाझी, मनिषा पोख्रेलको स्वरमा प्रमोद ढुंगानाको शब्द ‘यता हेर…’मा पनि उनले भिडियो बनाइसकेका छन् । एआइजी तामाङले नै लेखेको निकै चर्चा पाउन सफल ‘स्वर्ग सुख मिले पनि’ बोलको गीत मेलिना राईले गाएकी छन् । यो गीतको भिडियो निकै रुचाइएको छ ।

सिङ्गापुर र भुटानसम्म पुगेर हमालले सांगीतिक कार्यक्रम गरिसकेका छन् । सी डान्स चेम्पियनसिपमा कोरिया पनि पुगे उनी । प्रहरीको सांगीतिक क्षेत्रमा क्रियाशील भएका कारण उनलाई उच्च तहका प्रहरी कर्मचारीको राम्रो साथ छ । भविष्यमा पनि यही कलाकारिता क्षेत्रलाई निरन्तरता दिने उनको सोच छ ।

सई हमालले हालसम्म १ सय ५० बढी भिडियो निर्देशन गरिसकेका छन् भने दर्जनको संख्यामा निर्देशनको तयारी र, केही निर्देशनको काम भइरहेको उनले जानकारी दिए ।