विराटनगरमा स्वर्गीय प्राज्ञ सुवेदीको बहुआयामिक योगदानको चर्चा

विराटनगरमा स्वर्गीय प्राज्ञ सुवेदीको बहुआयामिक योगदानको चर्चा


  • प्रेम ओझा, विराटनगर

स्वर्गीय प्राज्ञ दधिराज सुवेदीले नेपाली साहित्य, समाज सेवा र आध्यात्मिक क्षेत्रमा पुऱ्याएको योगदानको विराटनगरमा चर्चा गरिएको छ । मोरङ, सुनसरी, झापा, धनकुटा, भोजपुर र तनहुँमा रहेका एक सय बढी विभिन्न साहित्यिक समाज र धार्मिक संघ संस्थाहरुले संयुक्त रुपमा श्रध्दाञ्जली सभा आयोजना गरे ।

नरेन्द्रप्रसाद-आशालता रिजाल प्रतिष्ठानको संयोजनमा सञ्चालित सो सभामा सुवेदीका सहकर्मी परोपकार अभियान समूहका अध्यक्ष वावुराम न्यौपानेले सुवेदीको सामाजिक क्षेत्रको सक्रियता र योगदानको स्मरण गरे । पाज्ञ विवश पोखरेलले सुवेदीको भाषा, साहित्य क्षेत्रको योगदानको चर्चा गरे । सो सभामा वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्तीले मदन पुरस्कार पुस्तकालय गुठीले पठाएको समवेदना पत्र सुवेदीका सुपुत्र शरदराजलाई हस्तान्तरण गरे । दुई कार्यकाल नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रहेका सुवेदीका ५० भन्दा बढी सिर्जना र सम्पादन गरिएका कृति रहेका छन् ।

विक्रम सम्बत २००३ सालमा भोजपुरमा जन्मिएका सुवेदीले २०२३ सालदेखि विराटनगरलाई कर्मथलो बनाए । उनले १ सय ५० भन्दा बढी सामाजिक, साहित्यिक र धार्मिक संघ संस्थाहरुको स्थापना पनि गरे । उनले प्रजातान्त्रिक आन्दोलनको अग्रणी पत्रिका ‘बरगाछी’ को निरन्तर सम्पादन गरे । सुवेदीले लेखेका कृतिमाथि आधा दर्जन सोधपत्र तयार पारिएका छन् । ‘नेपाली साहित्यका मुस्कान’ नामक समालोचना संग्रह प्रकाशन गरेर नयाँ पुस्ताका सर्जकहरुलाई उत्प्रेरणा उनै सुवेदीले दिएका थिए । उनले देश विदेशबाट ३ दर्जनबढी पुरस्कार र सम्मान ग्रहण गरे । आफूले एक दर्जनजति पुरस्कार कोष स्थापनामा योगदान दिएका सुवेदीकै परिवारबाट ‘दधिराज सुवेदी प्रतीभा पुरस्कार कोष’ स्थापना गरिएको छ । साहित्य, आध्यात्मक चिन्तन र सामाजिक सेवाका क्षेत्रमा पुऱ्याएको अथक सक्रियताको कदर गर्दै सुवेदीलाई विराटनगरमा नागरिक अभिनन्दन पनि गरिएको थियो ।

श्रध्दाञ्जली सभामा धार्मिक व्यक्तित्व स्वामी रामानुज, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, प्राडा रङ्क न्यौपाने, कोशी प्रदेश सभाका सदस्य भिम पराजुलीलगयातका वक्ताले दधिराज सुवुेदीको बहुआयामिक व्यक्तित्वको चर्चा गरेका थिए । श्रध्दाञ्जली सभा संयोजक संस्थाका अध्यक्ष इन्दिरा रिजालको सभापतित्वमा भएको थियो ।