वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने


राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको भगवानबहाल क्षेत्रबाहेक अन्य क्षेत्र वैशाख १ गतेदेखि चौबिसै घण्टा खुल्ने भएको छ ।

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले ठमेलको भगवानबहाल क्षेत्रमा स्थानीय बसोबास गर्दै आइरहेकाले सो क्षेत्रलाई छाडेर अन्य क्षेत्र २४सै घण्टा सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

यसबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलभित्र रोजगारी सृजना गर्दै व्यवसायलाई चलायमान बनाउनका लागि ठमेल र दरबारमार्गलाई २४सै घण्टा सञ्चालन गर्न लागेको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आचारसंहिताबमोजिम कानुनको परिधिमा रहेर ठमेल र दरबारमार्गलाई २४सै घण्टा सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

अध्यक्ष शर्माले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुलाउन स्थानीय, प्रदेश र केन्द्र सरकारका सुरक्षा निकायसँग सहकार्य गरिसकेकाले ढुक्क भएर व्यापार व्यवसाय गर्न सबै व्यवसायीलाई आग्रह गरे । ठमेलभित्र आठ हजार पाँच सय व्यवसायी र ६० हजार बढीले रोजगार पाएको उनले बताए ।

दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्जय अधिकारीले ठमेल र दरबारमार्ग क्षेत्रलाई स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउन २४सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिए । उनले दरबारमार्गलाई लामो समयदेखि २४सै घण्टा खुलाउन प्रयास गरे पनि उक्त प्रयासले भर्खर मात्र सार्थकता पाएको उल्लेख गरे ।