वीरगञ्जमा बीमा प्राधिकरण नेतृत्वसँग संचारकर्मीको अन्तरसंवाद

वीरगञ्जमा बीमा प्राधिकरण नेतृत्वसँग संचारकर्मीको अन्तरसंवाद


नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र पहुँच वृद्धिका लागि संचारमाध्यमहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

प्राधिकरणको आयोजनामा वीरगञ्जमा मधेश प्रदेशका विभिन्न जिल्लामा कार्यरत संचारकर्मीहरूसँग भएको बीमासम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रूपमा रहेको बीमा क्षेत्रलाई समेत प्राथमिकता दिन संचारकर्मीहरूसँग आग्रह गरे ।

अध्यक्ष सिलवालले भने, ‘बीमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सकिन्छ, सरकारले चन्दा र राहतको व्यवस्था गर्नुभन्दा नागरिकको जीवन र सम्पत्तिको बीमा गर्ने कार्यक्रम ल्याउनु आवश्यक छ, बीमा गरेपछि बीमा कम्पनीले नै क्षतिपूर्ति प्रदान गर्छन्, बीमाबाटै गरीब तथा विपन्न बर्गको जीवनस्तर उकास्न सकिन्छ, बीमाका बारेमा बुझाउन र पहुँच बढाउन संचारमाध्यमहरूको महत्वपूर्ण भूमिका हुन्छ ।’

अध्यक्ष सिलवालले संचारमाध्यममा आउने बीमासम्बन्धी समाचारबाट बीमासम्बन्धी नीति, रणनीति बनाउन सहयोग पुग्ने उल्लेख गर्दै संचारकर्मीहरूका लागि बीमासम्बन्धी तालिम, अन्तरक्रियालगायतका कार्यक्रम संचालन गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने जानकारी दिए ।

प्राधिकरणका निर्देशक दिनेशकुमार लालले प्राधिकरणका काम, कारवाही र नियामकीय भूमिका, बीमाको पहुँच, बीमा बजारको अवस्था, बीमा सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र बीमा क्षेत्रको विकास तथा पहुँच वृद्धिमा संचारमाध्यमको भूमिकासम्बन्धी प्रस्तुती दिएका थिए ।

कार्यक्रममा संचारकर्मीहरूले प्राधिकरणले संचारकर्मीहरूका लागि नियमितरूपमा तालिम तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्नुपर्ने, बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि संचारकर्मीहरूसँग समन्वय गरी अगाडि बढ्नुपर्ने, बीमा सम्बन्धी ठगी र बद्मासी नियन्त्रण गर्न प्राधिकरणले नियमन र अनुगमनमा कडाई गर्नुपर्ने, भोजपुरी र मैथिली भाषामा समेत बीमा सम्बन्धी प्रचार प्रसार गर्नुपर्ने लगायतका धारणा राखेका छन् ।

अन्तरसंवादमा नेपाल पत्रकार महासंघ, जिल्ला शाखाका पदाधिकारीहरू, बारा, पर्सा र रौतहत जिल्लाका विभिन्न संचारमाध्यमका संचारकर्मी र ती जिल्ला कार्यक्षेत्र रहेका संचारकर्मीहरूको सहभागिता रहेको थियो ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माद्वारा कार्यक्रमको संचालन गरिएको थियो ।