ओशो महोत्सव सम्पन्न, १५ हजारको सहभागिता !

ओशो महोत्सव सम्पन्न, १५ हजारको सहभागिता !


नयाँ वर्षको अवसरमा ओशो तपोवनले आयोजना गरेको ओशो महोत्सव २०८१ अभूतपूर्व रूपमा सम्पन्न भएको छ ।

हरेक वर्ष नयाँ वर्षको प्रथम दिन वैशाख १ गतेलाई योग, ध्यान र उत्सव सँगसँगै ओशो महोत्सव मनाउने क्रममा यो वर्ष ओशो तपोवनमै महोत्सव आयोजना भएको थियो ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्याल, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, पूर्वमन्त्री एवम् सांसद ज्ञानेन्द्र बहादुर कार्की, वीरेन्द्र महतो, पूर्वमन्त्री रामेश्वर राय, यादव, जनमत पार्टीका महामन्त्री चन्दन सिंहलगायत विभिन्न दलका नेताहरूको उपस्थितिमा भएको महोत्सवमा देशका प्रतिष्ठित कलाकारहरूले प्रत्यक्ष प्रस्तुति गरेको थिए । करिब १५ हजारभन्दा बढी व्यक्तिहरूले व्यक्तिहरूले महोत्सवमा भाग लिएको ओशो तपोवनले जनाएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै उपराष्ट्रपति यादवले गरिबी, सामाजिक विकृति, एक्लोपन, मद्यपान, लागूऔषधको प्रयोग, आत्महत्या जस्ता नकारात्मक कुराहरूले अहिले समाज ग्रसित भएको र यसबाट मुक्त पाउन योग ध्यानको ठूलो भूमिका रहेको कुरा बताउनुभयो । ओशो तपोवन जस्तो अन्तर्राष्ट्रिय आश्रमले यो कार्यमा महत्वपूर्ण भूमिका खेलेको भन्दै तपोवनको प्रशंसा गर्नुभएको थियो ।

महोत्सवमै बोधिसत्व स्वामी आनन्द अरुणको बहुप्रतिक्षित पुस्तक सन्तहरू र उनका रहस्यलोकको विमोचन पनि गरिएको थियो । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव वैकुण्ठ अर्याल, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वमन्त्री वीरेन्द्र महतोले संयुक्तरूपमा पुस्तकको विमोचन गर्नुभएको थियो ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकाससँगै देशमा आध्यात्मिक जागरणको प्रयास पनि अत्यन्तै महत्वपूर्ण भएको कुरा बताउनुभयो । ओशो बुद्धपछिका आध्यात्मिक क्रान्तिदृष्टा भएको उहाँको भनाइ थियो ।

महोत्सवमा दुई चरणमा सांगीतिक प्रस्तुति पनि दिइएको थियो । पहिलो चरण दिउँसोका समयमा नेपालका चर्चित गायक-गायिकाहरू नागेन्द्र राई, अनिता चलाउने, रोशन पुटुवार, रोमा न्यौपाने, रोशन शर्मा, प्रभुराज ढकाल, जगन्नाथ जेडी, सविन चौहान लगायतले आफ्नो प्रस्तुति दिएका थिए भने दोस्रो चरणको साँझ-उत्सवमा गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्य, हास्यकलाकार मनोज गजुरेललगायत अन्य कलाकारको बेजोड प्रस्तुतिमा सहभागीहरूले मदमस्त भएका थिए ।

महोत्सवलाई विशेष आशीर्वचन दिँदै बोधसत्व स्वामी आनन्द अरुणले हाम्रो पूर्वीय संस्कृतिले विकाश गरेको विज्ञान योग र ध्यानले आज विश्व अनेक मानसिक समस्याहरूलाई निराकरण गर्न सक्छ भन्नुभयो । उहाँले नेपाललाई ध्यानको राजधानी बनाउन सरकारले ध्यान दिवसको घोषणा गर्न आग्रह गर्नुभयोे, साथै अष्टवक्र संहितालाई राष्ट्रिय पुस्तक घोषणा गर्न ढिलाइ गर्न नहुने धारणा पनि राख्नुभयो ।

महोत्सवमा कार्यक्रमका मुख्य संयोजक भवन भट्टले शुभकामना मन्तव्य राख्नुभएको थियो । महोत्सवको संयोजक स्वामी आनन्द अर्हत, मा सोविता सिम्खडा एवम स्वामी निराजन भण्डारी रहनुभएको थियो ।

महोत्सवको एक आर्कषण रहेको स्ट्रीट फेस्टिवलमा रहेका १५ भन्द बढी स्टलहरूमा सहभागीहरूले विभिन्न परिकारको स्वाद लिएका थिए । महोत्सवमा राखिएको पुस्तक प्रदर्शनीमा ओशो साहित्य प्रदर्शनी पनि गरिएको थियो ।