विधि र थितिको प्रस्थानविन्दु बनोस् वर्ष २०८१

विधि र थितिको प्रस्थानविन्दु बनोस् वर्ष २०८१


वर्ष २०८१ को शुभारम्भ भएको छ । नेपालीको मौलिक सम्बत् विक्रम सम्बत्को १ वर्ष हामीबाट गुज्रिएको छ, कहिल्यै नफर्कनेगरी । यसै पनि बितेका समयले हामीलाई केही सिकाएर, मन दुखाएर, सुुख पनि अनुभूत गराएर र आउँदा दिनमा अघि बढ्न सम्बल प्रदान गरेर जाने गर्दछ ।

इतिहासका अनेकौं सम्झनाहरू समेटेर हरेक वर्ष गुज्रिन्छ । बितेको समय हामी सबैको अगोचर गुरु पनि हो । हरेक समय हामीलाई पढाएर, सिकाएर, बुझाएर गइरहेको हुन्छ । त्यो विगतको पाठबाट शिक्षा लिएर आगामी दिनमा पाइला चाल्नु नै हाम्रो नियति हुनु पर्छ । प्रकृतिले दिएको समयबाट ज्ञान लिएर असल कुराहरूको अनुशरण र गलत कुराहरू त्याग्दै आफूलाई मनैदेखि सच्याउँदै लैजानु नै मानिसको बुद्धिमत्ता हुन सक्छ ।

हुन त हरेक दिन सुनौला र उत्साह बोकेर आएका हुन्छन् । सोही क्रममा नेपाली पात्रो फेरिएको छ । तथापि यसलाई पात्रो मात्रै फेरिएको नठानेर बितेका वर्षमा भए/गरेका कामको समीक्षा गर्न शुरु गर्ने र असल काम मात्रै गर्ने संकल्प गर्नै पर्ने समयको आरम्भ पनि हो । हामी एकापसमा शुभकामना/शुभेच्छा त आदानप्रदान गर्दछौं । तर, आउँदा दिनहरूमा सच्चिने र सुध्रिने तर्फ फिक्री गर्दैनौं, लापर्वाही बर्तिन्छौं भने थप अर्को वर्ष खेर जान्छ भन्ने तर्फ सबैले हेक्का राख्न जरुरी हुन्छ ।

समावेशी लोकतन्त्र, समतामूलक एवम् न्यायिक समाज निर्माणका लागि देशको अभिभावकको भूमिकामा रहेका दलहरूका नेतृत्वगण कुशल, सक्षम र इमानपूर्ण हुनै पर्दछ । जसले राष्ट्रिय चरित्रको समयानुकूल निर्माण र देश सुहाउँदो विकास गर्नु पर्ने आवश्यकतालाई सम्बोधन गर्न सकोस्- यो हामी सारा नेपालीको साझा अपेक्षा हो । तर, ती अपेक्षा कति पूरा भए/भएनन्- हामी आम नेपालीका सामू जाहेर छ चरम राजनीतिक कलह, घाटा व्यापार र विप्रेषणमा आधारित हुँदै गएको अर्थतन्त्रलाई उकास्ने योजना केवल बजेट भाषण, बजेट किताब र दलहरूका घोषणा-पत्रहरूमा भेटिने गर्दछन् । यथार्थ भिन्न छ, रहँदै आएको छ ।

जबसम्म ऊर्जाशील उमेरवयका कर्मठ मानिसको रोजगारीका नाममा निर्यात गर्ने र स्वदेशमा चाहिं भ्रष्टाचारी कर्मचारी, कमिशनखोर नेतागण, राजश्वमारा उद्योगी-व्यापारी, तस्कर, माफिया र गुण्डाराजको बोलबालामा सरकारले हमला बोल्दैन, तबसम्म सुशासन र देशको प्रगति अलपत्र परिरहन्छ । बरु स्वदेशमै खाद्यान्न, सागसब्जी, फलफूल, औषधिजन्य वनस्पति आदि कृषिजन्य उत्पादनमुखी रोजगारीलाई अधिकतम बढावा दिन जरुरी छ । युवाहरूलाई शैक्षिक ज्ञानसँगै सीपमूलक कार्यमा लागेर आयआर्जन तर्फ प्रेरित गर्न सके युवाशक्तिको देशमै सदुपयोग हुन सक्छ ।

त्यति मात्रै पनि होइन, नेपालमा पानी मात्रै प्रशस्त छैन, खानीजन्य वस्तुहरू पनि मनग्गे छन् । पानीको पनि चाहिँदो र आवश्यक मात्रामा आफ्नो देशलाई पुग्दोगरी खेतबारी र ऊर्जा उत्पादनमा सदुपयोग हुन सकेकै छैन । नेपालका विभिन्न ठाउँमा नूनदेखि सुनखानीसम्म पत्ता नलागेको होइन । फलाम, तामा, चुनढुंगा, कोइला, सिसा, मार्बल, म्याग्नेसाइट, युरेनियम, सुन, पेट्रोलियम आदि खानीजन्य पदार्थ नेपालमा छन्, कतिपय पत्ता लागिसकेका नै छन् । त्यसको प्रमाण देशभर १ सय ५६ वटा खानी उत्खनन्का लागि विभिन्न उद्योगलाई खानी तथा भूगर्भ विभागले हालसम्म दिएको इजाजत हो । यहीँकै खानीबाट फलाम उत्खनन् गरेर नेपालका कतिपय गाउँघरमा बनाएका फलामे साङ्लाका पुल र साँघुहरू अझै छँदैछन्, इतिहास साक्षी छ ।

सम्भवतः हालसम्म सर्वाधिक उत्खनन् गरिएको चुनढुंगा मात्रै होला, जसबाट केही सिमेन्ट उद्योगहरू चलेका छन् । मुस्ताङमा युरेनियमदेखि रोल्पामा सुन तथा दैलेख र मोरङमा पेट्रोलियम खानीका साथै नवलपुरको धौवादीस्थित फलाम खानीमा नेपाललाई कम्तीमा ५० वर्ष पुग्ने फलाम रहेको पत्ता लागेको छ । त्यहाँ फलाम उद्योग खोल्ने प्रक्रिया पनि सरकारले शुरु गरेको भनिए पनि सो प्रक्रिया राजनीतिक स्टण्टमा सीमित रहेको छ । बाँकीजसो खानी उत्खनन् गर्ने तर्फ आजसम्मका सरकारहरूले काम गरेकै छैनन्, बगम्फुसे र बेकामे सरकारहरूले यत्तिका वर्ष अनाहक बिताएका छन् ।

निश्चय पनि ती खानीहरूको उत्खनन् गर्ने सामथ्र्य नेपाल आफैंसँग छैन । तर, विदेशी लगानीकर्तासँग साझेदारी गर्ने विकल्प त खुल्लै छ नि । जस्तो कि, मरुभूमिका अरबी देशहरूले अन्तर्राष्ट्रिय लगानीकर्ता आह्वान गरेरै त्यहाँ उत्पादन भएको पेट्रोलियम पदार्थ बेचेर आज समुन्नत बनेका छन् । जबकि, ती देश कुनै बेला भोकमरी पीडित थिए । यद्यपि अफ्रिकी मुलुकमा पनि सुनखानी र हीराका खानी छन् । तर, तीमध्ये धेरजसो त्यहाँका लुटेरा शासकहरूका कारण आज पनि दरिद्री जीवन बिताउन र कतिपय त भोकमरीले ग्रस्त छन् ।

त्यसैले अब पनि नेपालमा देशको हुँदो र नागरिकलाई चाहिँदो अत्यावश्यक नीति निर्माणमा राजनीति केन्द्रित नहुने हो अनि पानी बगेर गइरहन दिने र खानीहरू त्यत्तिकै जमिनमुनि भइरहन दिने हो भने यो देशको समुन्नति कहिले ? केवल नेता र तिनका धुपौरे, ठग, जाली-फटाहा, भ्रष्टाचारी, माफिया, राजश्वमारा लगायतको उन्नति-प्रगति नै ‘समृद्धि’ हो ? ती सबमा चेत् राख्दै बुद्धिमत्तापूर्ण तरिका अपनाएर सरकारले देशका खानीहरूको मात्रै इमानदार भएर उपयोग गर्न सक्यो भने देशको आर्थिक समृद्धि टाढा छँदैछैन ।

भनिन्छ- ‘हरेक बिहानीले नयाँ अवसरको ढोका खोलेर आउने गर्दछ ।’ त्यसैले पनि यो २०८१ साल यस देशका नेतृत्वगणको बुद्धिको बिर्को खोलिनेगरी फलिफाप वर्षको रुपमा रहोस् । अबउसो विधि र थितिमा देश चलोस् । शासन, प्रशासन, सुरक्षा अंग र राजनीतिक दलहरू अधिकतम नागरिकमैत्री होउन् । विगतका गल्ती, बेइमानी र गद्दारीबाट विरत् हुने सद्बुद्धि तिनलाई मिलोस् । आउँदा दिनहरूमा सुमार्गमा हिँड्न यो वर्षले प्रेरित गरोस् । यिनै सद्भावका साथ सबै नेपालीजनमा मंगलमय शुभकामना ! अनन्त शुभकामना…!