होटलबाटै पशुपतिनाथको दर्शन गर्न सकिने ‘क्रिस्टल पशुपति’को शुभारम्भ

होटलबाटै पशुपतिनाथको दर्शन गर्न सकिने ‘क्रिस्टल पशुपति’को शुभारम्भ


नयाँवर्षको अवसर पारेर आराध्यदेव श्रीपशुपतिनाथको मन्दिरनजिक काठमाडौं गौशालामा चारतारे सुविधायुक्त होटल ‘क्रिस्टल पशुपति’ सञ्चालनमा आएको छ । नेपालको कर्पोरेट क्षेत्रमा दुई दशकको अनुभव सँगालेको ‘ट्रेड टावर ग्रुप’ले आराध्यदेव श्री पशुपतिनाथ मन्दिरको गजुर होटलबाटै दर्शन गर्न सकिनेगरी चारतारे सुविधासहितको नयाँ होटल सञ्चालनमा ल्याएको हो ।

यही वैशाख १ गते ट्रेड टावर ग्रुपका अध्यक्ष शिवहरि दंगालले होटल ‘क्रिस्टल पशुपति’को समुद्घाटन गरेका हुन् । होटलको औपचारिक उद्घाटन समारोहमा विभिन्न सेक्टरका सयौँ अतिथिहरूको गरिमामय उपस्थिति थियो भने होटल स्थापना भएको स्थान काठमाडौं महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामजी भण्डारीले शुभकामना मन्तव्य दिएका थिए ।

होटलका सञ्चालक एवम् ट्रेड टावर ग्रुपका अध्यक्ष शिवहरि दंगालले आराध्यदेव पशुपतिनाथको पवित्रभूमिमा आशीर्वाद र उर्जा सोझै प्राप्त हुनेगरी बास्तु मिलाएर होटल निर्माण गरिएको उल्लेख गर्दै मूलतः श्री पशुपतिनाथको दर्शन गर्न आउने भारतीय पर्यटक, त्यसमा पनि अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै बस्न रूचाउने पाहुनाहरूका लागि उत्कृष्ट होटलका रूपमा तयार पारिएको जानकारी दिए ।

कोरोना महामारीको दुष्प्रभावबाट मुक्ति नमिल्दै देश आर्थिक मन्दीको चरमावस्थाबाट गुज्रिरहेको वर्तमान परिवेशमा नयाँ परियोजनाको विकास गरी होटल सञ्चालन गरेर अप्ठ्यारो अवस्थामा पनि नेपाली युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने तथा देशमै बसेर केही गर्नुपर्छ भन्ने युवा वर्गका लागि प्रेरित गर्ने आफ्नो प्रयास रहेको युवा व्यवसायी दंगालको भनाइ छ ।

भारतीय पर्यटकलाई विशेष लक्षित गरिएपनि यो होटेलले स्वदेशी तथा विदेशी सबै पाहुनालाई सेवा प्रदान गर्ने लक्ष्य लिएको दंगालले बताए । परिणामको चिन्ता नगरी कर्म गर भन्ने भगवान् श्रीकृष्णको वचनअनुसार काम गर्ने आफ्नो स्वभाव रहेको भन्दै उनले इमानदारीपूर्वक काम गरेपछि फल पनि राम्रै प्राप्त हुने विश्वास आफूले गरेको धारणा राखे । केही हदसम्म युवाहरूलाई स्वदेशमै रोजगारी दिनुका साथै पर्यटन क्षेत्रमा सक्दो योगदान गर्ने अनि देशलाई कर तिरेर थोरै भएपनि नेपालआमाको सेवा गर्ने सोचबाट आफू हरदम प्रेरित रहँदै आएको खुलासा उनले गरे ।

होटल क्रिष्टल पशुपतिमा हाल ४९ कोठा रहेका छन् भने करिब पाँच सय जना सहभागी हुन सकिने कार्यक्रम कक्षसमेत रहेको छ । निकट भविष्यमै ९० वटा कोठामा बिस्तार गरिने योजनासहित सञ्चालनमा आएको होटलका अधिकांश कोठाबाट श्री पशुपतिनाथको मन्दिर तथा गजुर दर्शन गर्न सकिन्छ ।

ज्ञातव्य छ, ट्रेड टावर ग्रुपले निकट भविष्यमै काठमाडौंको उत्तरी सिमा जहरसिंह पौवामा हिल स्टेसनसहित गन्तव्यको रूपमा ‘क्रिष्टल इको भिलेज’, फार्म हाउस तथा कोशी प्रदेशको इटहरीमा क्यासिनोसहितको पाँचतारे होटल र जनकपुरमा समेत थप हस्पिटालिटी विजनेस अघि बढाउनका लागि सम्भाव्यता अध्ययन गरिरहेको छ ।