सल्यान बस दुर्घटना : गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो

सल्यान बस दुर्घटना : गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो


सल्यानमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चारजनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ ।

इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी निरीक्षक नवीन थापा मगरका अनुसार तुलसीपुर उपमहानगरपालिका-४ का ४६ वर्षीय विष्णु विक, रुकुम त्रिवेणी गाउँपालिका-२ का २२ वर्षीय चित्रा पुन, निजका ६ वर्षीय छोरा रमेश पुन मगर र तुलसीपुर–१९ बिजौरीका २९ वर्षीय कृष्ण चौधरीलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको हो ।

चारै जनालाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि रेफर गरिएको प्रहरी निरीक्षक मगरले जानकारी दिए । उनका अनुसार अन्य १० जना घाइतेको थारमारे प्राथमिक केन्द्र तथा स्थानीय पोलिक क्लिनिकमा उपचार भइरहेको छ ।

दाङको घोराहीबाट पूर्वी रुकुमतर्फ गइरहेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका-२ ठिङबाङ खोलामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी २२ जना घाइते भएका थिए । घाइतेमध्ये आठजनाको अवस्था सामान्य रहेकाले दुर्घटनालगत्तै उनीहरु घर फर्किसकेकाले सल्यान प्रहरीले यसअघि १४ जना घाइते भएको विवरण सार्वजनिक गरेको थियो । बस अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।