देउवापुत्र जयवीरलाई बयानका लागि उपस्थित हुन सातदिने सूचना

देउवापुत्र जयवीरलाई बयानका लागि उपस्थित हुन सातदिने सूचना


पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर देउवालाई सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले बयानका लागि उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।

विभागद्वारा आज (२३ असार) गोरखापत्रमा सूचना जारी गरी जयवीरलाई बयानका लागि बोलाइएको हो । सूचनामा सात दिनभित्र उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ ।

विभागले हिजो सोमबार बुढानीलकण्ठस्थित देउवाको क्षतिग्रस्त घरमा समेत जयवीरको नाममा बयानका लागि आउन भन्दै पत्र टाँसेको थियो ।

विभागले टााँस गरेको सूचना–पत्रमा देउवापुत्र जयवीरमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको जनाइएको छ ।

जयवीरमाथि नेपाल टेलिकम र पासपोर्टको ठेक्का लगायतमा अनियमिततामा संलग्न रहेको उजुरी परेको र त्यसकै अनुसन्धानका लागि उनको नाममा बयानका लागि पुर्जी काटिएको बुझिएको छ ।

ज्ञातव्य छ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसअघि शेरबहादुर देउवा र श्रीमती आरजु राणा देउवाको नाममा पनि बयानका लागि उपस्थित हुन सूचना जारी गरेको थियो ।