बालाजु बाइसधारा मेला वैशाख ११ देखि

बालाजु बाइसधारा मेला वैशाख ११ देखि


काठमाडौंको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले वैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको जानकारी दिएको हो ।

मेला व्यवस्थापन समितिका संयोगक गौतम प्रजापतिले यसअघि बालाजु उद्यान कार्यालयले मेला व्यवस्थापन गर्दै आएपनि यसवर्षदेखि मेला व्यवस्थापन समिति निर्माण गरी तयारी गरिरहेको बताएका छन् । मेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि व्यवस्थापन समितिले काम गरिरहेको उनको भनाइ छ ।

बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरेबराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । मेलालाई गत वर्षभन्दा भव्य रूपमा सम्पन्न गर्नका लागि सबै ठाउँमा पत्राचार गरिएको बताइएको छ ।

प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायव उपरीक्षक रामकुमार दानीले पनि मेलाका लागि आवश्यक सुरक्षा तयारी पूरा गरिसकिएको बताएका छन् । बालाजु बाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जन बस्नेतले बालाजु बाइसधारा मेलाको समयमा बालाजुका २२वटै धारामा पानी आउने व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।

पाँच दिनसम्म चल्ने मेलामा देशभरबाट दुई लाख ३० हजार अवलोकनकर्ताको सहभागिता रहने आयोजकको अपेक्षा छ । मेलाको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका वडा नं १६ ले आर्थिक सहयोग गर्ने जनाइएको छ ।