वसन्त ऋतुमा हिमाल आरोहण : ७८ टिमका ७१६ जना हिमाल चढ्दै, ५२ करोड ४२ लाख सलामी

वसन्त ऋतुमा हिमाल आरोहण : ७८ टिमका ७१६ जना हिमाल चढ्दै, ५२ करोड ४२ लाख सलामी


  • सुरेन्द्र सुवेदी, काठमाडौं

यो वर्षको ‘स्प्रिङ सिजन’ अर्थात् गत मध्यफागुनदेखि आगामी जेठ १८ गतेसम्म नेपालका हिमाल चढ्न ७८ वटा समूहले अनुमति लिएका छन् । यी समूहमा ५ सय ६३ जना पुरुष र १ सय ५३ जना महिला रहेको पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले घटना र विचारलाई बताए । निर्देशक गुरुङका अनुसार विश्वको सबैभन्दा अग्लो ८८४८ दशमवल ८६ मिटरको सगरमाथा हिमालदेखि ५९२२ मिटर अग्लो जुगल ५ समेत १६ वटा हिमाल चढ्द विभागले अनुमति दिएको हो ।

विभागका अनुसार सगरमाथा चढ्न ३१ समूहका ३ सय २६ जना, लोत्से चढ्न ६ समूहका ६५ जना, मकालु चढ्न ४ समूहका ४५ जनाले अनुमति लिएका हुन् । हिम्लुङ, जुगल ३, अन्नपूर्ण, पुठा हिमचुली, खाङ्ग्री सर, धौलागिरी, टेङ्काङपोछे, टेङ्कोमा, जुगल १, जुगल २ र जुगल ५ समेतका २४ वटा हिमाल चढ्न पर्यटकहरुले अनुमति लिएका हुन् ।

हिमाल चढ्न लिने सलामीअनुसार सबैभन्दा धेरै सगरमाथा चढ्नेले ४६ करोड ७५ लाख २७ हजार ९ सय ८७ रुपैयाँ मनास्लु चढ्ने एक समूहका दुई जनाले २० हजार रुपैयाँ तिरेका छन् ।

विभागले हिमाल चढ्न दिएको अनुमतिअनुसार देशलाई ५२ करोड ४२ लाख १३ हजार ५ सय ५९ रुपैयाँ सलामी (रोयल्टी) प्राप्त भएको विभागका निर्देशक गुरुङको भनाइ छ ।

वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आउने गरेका छन् । निर्देशक गुरुङका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४ सय ७८ जनाले अनुमति लिएका थिए । यो वर्ष गत वर्षको तुलनामा झण्डै दोब्बरले अनुमति लिएका छन् । यो संख्या अझै बढ्ने विभाग जनाउँछ ।

file photo