खेलकुदमा अब्बल बन्दै नेपाल प्रहरीका टिम

खेलकुदमा अब्बल बन्दै नेपाल प्रहरीका टिम


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपाल प्रहरी केन्द्रीय खेलकुद समितिको सुदृढिकरण एवम् खेलकुदलाई थप विकास गर्दै लैजाने काममा प्रहरीले विशेष पहल गर्दै आएको छ । प्रहरी खेलकुद समितिले आवश्यक नीति निर्माणका साथमा राम्रा खेलाडीको संरक्षण र उनीहरुको जीविकोपार्जनमा पनि ध्यान दिइरहेको छ । गत साउनदेखि अहिलेसम्म भएका स्वदेशका प्रतियोगितामा प्रहरीका टिमले १ सय ४१ वटा स्वर्ण पदक जितेका छन् ।

समितिका सदस्य-सचिव एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमेशराज जोशीका अनुसार खेलकुदमा नेपाल प्रहरीको क्षमता थप सुदृढ बनाउने उद्देश्यले प्रतिष्ठानले काम गरिरहेको छ र, यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाल प्रहरीका खेलाडीहरूले उल्लेख्य उपलब्धी हासिल गरेका छन् । उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय स्तरका खेलहरूमा समेत नेपाल प्रहरीका खेलाडीहरूले दुर्लभ कीर्तिमान् कायम गर्न सफल भएका छन् । जसबाट राष्ट्रिय खेलकुदमा समेत टेवा पुग्ने र नेपाल प्रहरीको साख तथा प्रहरी कर्मचारीमा मनोबल वृद्धि हुने अपेक्षा गरिएको छ ।’

यही वर्षको साउनदेखि हालसम्म नेपाल पुलिस क्लबले फुटबलतर्फ २ उपाधि, भलिबलतर्फ ४ उपाधि, क्रिकेटतर्फ २ उपाधि, हक्कीतर्फ १ उपाधि र महिला कबड्डीतर्फ १ उपाधि प्राप्त गरेको छ । सो अवधिमा विभिन्न समयमा विभिन्न स्थानमा भएका प्रतियोगितामध्ये नेपाल प्रहरीका खेलाडीहरूले एथ्लेटिक्सतर्फ ४ स्वर्ण, भारोत्तोलन पुरूषतर्फ २१ स्वर्ण, महिलातर्फ २४ स्वर्ण, बक्सिङतर्फ ५ स्वर्ण, करातेतर्फ २१ स्वर्ण, तेक्वान्दोतर्फ ३३ स्वर्ण, कुस्तीतर्फ २१ स्वर्ण, टेबल टेनिसतर्फ १ स्वर्ण पदक प्राप्त गरेका छन् । यसैगरी उक्त अवधिमा नेपाल पुलिस क्लबले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगतामध्ये ६ वटामा द्वितीय स्थान र ७ वटामा तृतीय स्थान हासिल गरेको छ । यसैगरी ती प्रतियोगितामा ४७ वटा रजत पदक र ५७ वटा कास्य पदक समेत प्राप्त गर्न सफल भएको छ ।

नेपाल प्रहरीका बाबुराम पुनले सन् १९७३ मा इरानको तेहरानमा ‘थर्ड फिफा कोचिङ स्कुल’ बाट कोचिङ लाईसेन्स प्राप्त गरेका थिए । स्व. रूपकराज शर्मा फिफाको रेफ्रि थिए । तत्कालिन अवस्थामा खेलकुदको शुरूवात भएपछि प्रहरी र नागरिकको सम्बन्ध सुमधुर भएको देखिन्छ । जसको कारण प्रहरी नागरिक सम्मिलित गराई राष्ट्रिय टिम खडा गरिएको थियो । त्यसैको विकास गर्दै हाल नेपाल पुलिस क्लब खेलकुदमा क्रियाशील छ ।

नेपाल प्रहरीले नेपाल प्रहरी कार्ययोजना-२०८० मा दीगो खेलकुद विकासको लागि विशेष खेलहरूलाई निर्धारित लक्ष्यसहितको कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने उद्देश्य लिएको छ । नेपाल प्रहरी खेलकुद समितिका सहसचिव एवम् नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता भिमप्रसाद ढकाल भन्छन्, ‘खेलकुदको माध्यमबाट प्रहरी र जनताबीच सम्बन्ध सुमधुर बन्ने गरेको छ । नेपाल प्रहरीका खेलाडीहरूले विभिन्न प्रतोयोगितामा उल्लेख्य सफलता हासिल गरेका छन् । यसबाट राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरीको विशिष्ट योगदानको साथै समाजमा सकारात्मक परिणाम देखिने गरेको छ । नेपाल प्रहरीले नेपाल पुलिस क्लबको खेलकुद क्रियाकलापलाई स्तरोन्नति गर्ने विशेष योजना बनाई कार्यान्वयन गर्ने नीति लिएको छ ।’

विभिन्न प्रतियोगितामध्ये केही प्रतियोगिताहरूमा नेपाल प्रहरीका खेलाडीहरूले सर्वोत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट सेटर, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट सर्भर, बेष्ट बल्कर, उत्कृष्ट लिब्रो, उत्कृष्ट डिफेन्डर, बेष्ट स्पाईकरको साथै म्यान अफ दि म्याच घोषित भएका छन् । यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान् राख्न सफल भएका छन् । नेपाल प्रहरीका खेलाडीहरूले व्यवस्थापक, मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक लगायतका भूमिका समेत निर्वाह गर्दै आएका छन् । प्रहरी प्रवक्ता ढकालका अनुसार प्रहरीका खेलाडीहरूलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट र अब्बल बनाउन समयसापेक्ष प्रशिक्षण प्रदान, खेलकुद वातावरण निर्माण र मनोबल उच्च राख्न प्रहरी संगठन क्रियाशील छ ।

file photo