बढ्दो बालविवाह : मुलुकी अपराध संहिता २०७४ को गलत महल नै कारक

बढ्दो बालविवाह : मुलुकी अपराध संहिता २०७४ को गलत महल नै कारक


  • सुरेन्द्र सुवेदी, काठमाडौं

मुलुकी ऐन विस्थापित गरेर ल्याएको मुलुकी अपराध संहिता २०७४ ले विवाह गर्ने उमेर बढाएपछि बालविवाह बढ्दै गएको छ । मुलुकी ऐनमा विवाह गर्ने उमेर १८ वर्ष अभिभावकको सहमति लिएर गर्न पाइने व्यवस्था थियो । अहिले त्यो बुंदामा विवाह गर्ने उमेर २० वर्ष बनाएपछि बालविवाह बढ्दै गएको छ ।

यस्तै बहुविवाह गरेको पाइएमा त्यो विवाह स्वतः बदर हुने उल्लेख छ । यहाँ बहुविवाह गरेर बालबच्चा भएको अवस्थामा पनि विवाह बदर हुँदा बहुविवाह गरेर जन्मिएका सन्तानको के अवस्था हुन्छ ? यो सोचनिय रहेको छ ।

प्राय: १६ वर्ष उमेरलाई बालबालिका मानिन्छ । त्यसभन्दा बढी उमेर भएपछि विवाह गर्न पाउनु पर्ने तर्क पनि समाजमा सुनिन्छ । युवायुवतिले प्राय १७/१८ वर्षमा विवाह गर्छन् । त्यसरी गरेको विवाह बालविवाह मानिने कानुन बनेपछि समाजमा समस्या आएको एक प्रहरी उच्च अधिकारीले घटना र विचारलाई बताए । ‘१३/१४ वर्षदेखिनै बालबालिकामा यौन चाहना सिर्जना हुने गरेको पाइन्छ । त्यसपछि उनीहरुले मन मिल्ने साथीसित विवाह गर्छन् । अनि, त्यो विवाहको उजुरी परेमा विवाह स्वत: खारेज हुने र जरीवाना तथा कैद सजाय पनि भोग्नु पर्ने भएकोले उमेरको हद अभिभावकको सहमति लिएर १८ वर्ष नै कायम गर्न प्रहरी अधिकारीहरुको माग छ ।

प्रहरीले यसमा लविङ पनि गरिरहेको छ । प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालय, कानुन मन्त्रालयमा विवाहको उमेर १८ वर्ष र बहुविवाह गरेमा कारवाही हुने, विवाह बदर नहुने व्यवस्था गर्न माग गर्दै आएको छ ।

मुलुकी अपराध संहिता लागु नहुँदा बालविवाहका मुद्धा दर्ता २०७३/७४ मा २६ वटा भएका थिए । यो संहिता लागू भएपछि ०७४÷ ७५ मा ५९, ९७५÷ ७६ मा ८६, ०७७/७८ मा ८६ वटा दर्ता भए । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ३४ वटा दर्ता भइसकेको प्र्रहरी प्रधान कार्यालय जनाउँछ ।

अपराध संहिताको परिच्छेद-११ को विवाह सम्बन्धी कसूरमा दफा १७३ मा बाल विवाह गर्न नहुने उल्लेख छ । ‘विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन ।’ लेखिएको छ । यसै परिच्छेदको दफा १७५ मा वहुविवाह गर्न नहुने उल्लेख छ । यो महलमा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन र गरेमा त्यो विवाह स्वत: बदर हुने उल्लेख छ ।