नेपाली कला र साहित्यलाई विश्वबजार चिनाउने ‘प्यालेट एण्ड प्रोज’ लण्डनमा सम्पन्न

नेपाली कला र साहित्यलाई विश्वबजार चिनाउने ‘प्यालेट एण्ड प्रोज’ लण्डनमा सम्पन्न


नेपाली कला र साहित्यलाई केन्द्रविन्दु बनाएको तीन दिवसीय ‘प्यालेट र प्रोज’ कार्यक्रम लण्डनस्थित युनिभर्सल पिस फेडेरेसनको मुख्यालयमा सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो दिन कलाकार पी. सिंह र रोस्लिन सिंहको मनमोहक कलाकृतिहरू प्रदर्शन गरिएको थियो भने साहित्यकार डा. संगीता स्वेच्छाको कथासङ्ग्रह रोजेज ओडिसी सार्वजनिक गरिएको थियो ।

ग्रिनविचको रोयल बरोबाट डेपुटी मेयर काउन्सिलर जित रानाभाटलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा भएको उक्त उद्घाटन समारोहले लण्डनको जीवन्त क्यानभासमा नेपाली रचनात्मकतालाई प्रवर्द्धन गरेको थियो । उपमेयर रानाभाटले कार्यक्रमको प्रशंसा गर्दै भने, ‘नेपालको मनोरम परिदृश्य र नेपाली साहित्यलाई समेट्ने र प्रवर्द्धन गर्ने प्रतिबद्धताको साथका सन्चालन भएको यस कार्यक्रमा राखिएका मनमोहक कलाले र कृतिमा भएका कथाहरुले नेपालको सम्झनाहरूलाई ताजा गराएको छ ।’

युनिभर्सल पिस फेडेरेसन युकेका निर्देशक मार्गारेट अली तथा महासचिव रविन मार्शले सांस्कृतिक आदानप्रदानको महत्त्वलाई जोड दिँदै नेपाली कला र साहित्यलाई प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा कलाकार पी. सिंह र रोस्लिन सिंहका मनमोहक कलाकृतिहरुले नेपालको विविध परिदृश्य र वास्तुकलाका जिवन्तता दिएको थियो । अन्तर्राष्ट्रिय दर्शकहरूलाई आफ्ना कलाहरू प्रदर्शन गर्न पाउँदा निकै आनन्दित महसुस गरिरहको बताउने यी दुई कलाकारका चित्रहरू, फोटोरियलिस्टिक चित्रणदेखि लिएर मनमोहक वन्यजन्तु चित्रहरू सम्म थिए ।

उक्त कार्यक्रममा युनिभर्सल पिस फेडेरेसन युकेका महासचिव रोविन मार्स, लेखक डा। रुपक श्रेष्ठ, प्यालेस्टिनी कवि शाहद महानवी, बेलायती लेखक डा. सायन ह्यारिस, अन्तर्राष्ट्रिय टिभीप्रसारक इयान पेल्हम टर्नर र डा. संगीता स्वेच्छाले संयुक्त रुपमा कथासङ्ग्रह ‘रोजेज ओडिसी’ सार्वजनिक गरेका थिए ।

संगीता स्वेच्छाका कथाहरुका साथै उनको लेखनशैलीको प्रसंशा गर्दै ‘रोजेज ओडिसी’ले विदेशी पाठकहरुमाझ नेपाली साहित्यलाई अगाडि लैजानेमा दुईमत नभएको साहित्यिक अभियन्ता तथा लेखक डा. रुपक श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै वक्ताहरूले रोजेज ओडिसीको विविध पक्षलगायत यसको कथा कथन शैलीको लागि प्रशंसा गरे, जसमा नेपाल र नेपाली डायस्पोरा दुवैमा जरा गाडिएको कथाहरू छन् । जयन्त शर्माले अंग्रेजीमा अनुवाद गरेको यस कृति २०१९ मा ‘गुलाफसंगको प्रेम’ शीर्षकमा नेपालीमा प्रकाशित भएको थियो ।

संगीता स्वेच्छाले कृतज्ञता व्यक्त गर्दै भनिन्, ‘कार्यक्रममा सम्मानित विविध वक्ताहरूले मेरो पुस्तकमा आफ्नो रोचक र उत्साहजनक दृष्टिकोण प्रस्तुत गर्नु मेरो लागि निकै हौसलाको कुरा हो ।’

नेपाली कला र साहित्यको उत्सवका रूपमा परिकल्पना गरिएको ‘प्यालेट एण्ड प्रोज’ कार्यक्रमलाई नेपाल अध्ययन केन्द्रका कार्यकारी निर्देशक लोकेन्द्र ढकालले उत्कृष्ट सफलताको रुपमा लिंदै कार्यक्रम स्वागतयोग्य रहेको बताए । ढकालले नेपालको जीवन्त सांस्कृतिक सम्पदालाई विश्वभरका दर्शकसामु देखाउने यस कला र साहित्यको फ्युजनको लागि कार्यक्रमको प्रशंसा गरे ।

कला प्रदर्शनी र पुस्तक हस्ताक्षर कार्यक्रम १६ अप्रिल देखि १८ अप्रिलसम्म चलेको थियो ।