दृष्टिविहीन भावना बनिन् माध्यामिक तहकी शिक्षिका

दृष्टिविहीन भावना बनिन् माध्यामिक तहकी शिक्षिका


  • सुरेन्द्र सुवेदी, काठमाडौं

जन्मदै दृष्टिविहीन भएर जन्मेकी भावना घिमिरेले प्राथमिक तहको शिक्षिकामा नाम निकाल्न सफल भएकी छन् । तर, उनले अहिले कक्षा ९ र १० लाई शिक्षा विषय पढाउँदै आएकी छन् । शिक्षा आयोगले लिएको परीक्षामा १ सय ७८ जना उत्तीर्ण भएकामा उनले १३औं नम्बरमा प्राथमिक तहको शिक्षिकामा नाम निकाल्न सफल भएकी हुन् ।

पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ९ का बासिन्दा बुबा नवीन र आमा गोमा घिमिरेकी छोरी भावनाको जन्मदै दृष्टि थिएन । उपचारको प्रयास पटक-पटक गरिएपनि त्यो सम्भव अझसम्म भएको छैन ।

२०५८ भदौ १८ गते जन्मेकी भावनाले ०६२ देखि धरानको पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयबाट पढ्न थालेकी हुन् । दृष्टिविहीन पढ्ने उक्त विद्यालयबाट ०७२ सालमा उनले बी प्लस नम्बर ल्याएर एसइइ उतीर्ण गरिन् ।

त्यसपछि पाँचथरको फिदिम माविमा प्लस टु पढ्न थालिन् र, प्लस टु मा पनि उनी बी प्लस ल्याएर उतीर्ण भइन् । अनि स्नातक पढ्न काठमाडौंको पद्मकन्या क्याम्पस पुगिन् । त्यहाँबाट ०७५ मा प्रथम श्रेणीमा स्नातक पूरा गरिन् ।

गत वर्षको मंसिरदेखि फिदिमकै लालिखर्कमा रहेको जनकल्याण माविमा अस्थायी दरबन्दीमा पढाउन थालिन् । त्यहाँ शिक्षा विषय पढाउने शिक्षक नभएपछि उनलाई अस्थायी रुपमा लिइएको थियो । माध्यामिक तहको अध्यापन लाइसन्स प्राप्त भावनाले शिक्षा आयोग उत्तीर्ण गरेपछि उनको त्यही जनकल्याण माविमा पोष्टिङ भएको छ । र, हालै आयोगले नतीजा निकाल्दा उनीसमेत तीन जना दृष्टिविहीन उत्तीर्ण भएका छन् ।

भावनाले ५, ७ र ८ कक्षामा सामाजिक पढाउने गरेकी छन् । निमाविको लाइसन्स अंग्रेजी हो भने माविको लाइसन्स सामाजिक हो । शिक्षा पढाउने शिक्षक नभएपछि उनकै भरमा कक्षा ९ र १० का विद्यार्थी पठनपाठन गरिरहेका छन् ।

साथीसित मोटरसाइकलमा फिदिमदेखि करिव ११ किलोमिटर उनी दैनिक विद्यालय जाने र फर्कने गर्छिन् । अब उनको लक्ष्य स्नाकोत्तर उत्तीर्ण गर्ने रहेको छ । पाँचथर बहुमुखी क्याम्पसमा उनी अब पढाइ सुरु गर्ने तयारीमा रहेको बताउँछिन् ।